अन्य

जेलबाट छुटेकै दिन पक्राउ

काठमाडौं– चोरी अभियोगमा चार वर्ष जेल सजाय काटेर बाहिरिएकै दिन कृष्ण गौतम पक्राउ परेका छन्। शनिबार केन्द्रीय कारागारबाट मुक्त भएका उनी त्यसै दिन बेलुकी महाबौद्धमा पैदलयात्रुको मोबाइल र पैसा लुटेको अभियोगमा पक्राउ परेका हुन्।प्रहरीले उनीसँगै समूहका इमान तामाङ, समिता तामाङ र सञ्जीव डंगोललाई पक्राउ गरेको हो। शनिबार राति १० बजे केदार ढुंगानाले महानगरीय प्रहरी वृत्त जनसेवामा आएर आफू हिँडिरहेका बेला इँट्टाले हिर्काएर मोबाइल र ५ हजार रुपैयाँ लुटिएको उजुरी गरेपछि प्रहरीले उक्त क्षेत्र घेराबन्दी गरेर लुटेरा समूहको खोजी सुरु गरेको थियो। 
खोजी क्रममा शंकास्पद देखिएकाहरूलाई नियन्त्रणमा लिएर जाँच्ने क्रममा ढुंगानाको मोबाइल गौतमसँग फेला परेपछि प्रहरीले सँगै रहेका अन्यलाई समेत नियन्त्रणमा लिएको थियो। वृत्तका प्रहरी अधिकारीका अनुसार उनीहरूका साथबाट तीनवटा मोबाइल र ३२ हजार रुपैयाँ फेला परेको थियो। 
प्रहरी कार्यालयमा ल्याएर सोधपुछ क्रममा काभ्रेका गौतम शनिबार बिहान मात्रै ४ वर्ष कैद कटाएर रिहा भएको खुलेको थियो। सार्वजनिक अपराधमा २४ दिन जेल सजाय पाएर केन्द्रीय कारागार पुगेका बेला इमानसँग गौतमको परिचय भएको र शनिबार खुलामञ्चमा उनीहरूको भेट भएपछि लुटपाटको योजना बनेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।

प्रकाशित: २६ फाल्गुन २०७० २०:३६ सोमबार