अन्य

इन्जिनियर पढेर राजनीति

शिक्षित र स्वतन्त्र राजनीतिक परिवारमा जन्मिएकी हिसिला यमी औपचारिक अध्ययनले इन्जिनियर हुन् तर उनको मूलबाटो बन्यो राजनीति। एकीकृत माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री यमीले पुरानै समाजमा हुर्के पनि विभेदको सामना कहिल्यै गर्नुपरेन। घरवरपरका सामाजिक असमानताले भने उनलाई पिरोलिरहन्थ्यो।सानै छँदा आमाको निधन भयो, दिदीसँगै छात्रावास बसेर पढिन् यमीले। दिल्लीको ‘स्कुल अफ आर्किटेक्चर' पढ्ने क्रममा बाबुराम भट्टराईसँग भेट भयो, प्रेम सम्बन्ध गाँसियो। यही भेट उनलाई राजनीतिमा लाग्ने प्रेरणा बनेको हिसिला कसरी बिर्सन सक्छिन् र?
दिल्लीमा ‘आम भारत–नेपाल विद्यार्थी संघ' मा आबद्ध भएर राजनीति बुझ्न थालिन् उनले। नेपालमा राजनीतिक प्रतिबन्ध रहेकाले कुनै पनि राजनीतिक निर्णय गर्ने स्थल दिल्ली नै थियो। यमीले रोजेको राजनीतिक विचार र उनको पारिवारिक पृष्ठभूमि भने त्यसविपरीत थियो। राजनीतिक पुस्तक अध्ययन गर्दै जाँदा मार्क्सवादको प्रभावले कम्युनिस्ट भएको हिसिला सम्झन्छिन्। ‘म विज्ञानको विद्यार्थी, मार्क्सवादको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद पनि विज्ञानजस्तै लाग्यो,' उनी भन्छिन्, ‘विज्ञान र कलाको संयोजन हो, मार्क्सवाद अनि मैले पढेको विषय आर्किटेक इन्जिनियररिङ पनि।' 
विद्यार्थी संगठनमै सक्रिय रहँदा भारतमा बेचिएका चेलीको उद्धार गर्ने काममा लागिन् उनी। महिलासम्बन्धी पत्रिका ‘मानुषी' मा पनि लेख्थिन्।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष र नेकपा (माओवादी) महिला विभाग इन्चार्ज भएर काम गरिन्। पुल्चोकस्थित इन्जिनियरिङ कलेज पढाउन थालेपछि उनी लेखनमा पनि सक्रिय भइन्। पछि ‘नेपालमा जनयुद्ध र महिला मुक्ति' लगायत पुस्तक पनि लेखिन्।
महिला आन्दोलन, पञ्चायतविरोधी आन्दोलन, माओवादी युद्धमा उनी सक्रिय भइन्। युद्धकालमा यमीले अन्तर्राष्ट्रिय विभाग, आधार इलाका सेक्रेटरी, महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। 
युद्धकालमा असुरक्षाकै कारणले यमी परिवार सबै छुट्टै हुन्थे। ‘छोरीले दसपटक त स्कुल नै फेर्नुपर्योै,' छोरीलाई होस्टेलमै छाडेर पार्टीको काममा खटेको दिन उनलाई कठिन लाग्छन्। 
एक आधार इलाकाबाट अर्को आधार इलाकासम्म पुग्न लगातार चार/पाँच दिन पैदल यात्रा हिँड्नुपर्थ्यो। सेनाले हेलिकप्टरबाट बम खसाल्दा उनी थोरैले बेचेकी थिइन्। ‘अहिले पनि हेलिकप्टर उडेको देख्दा युद्धमै छु कि जस्तो लाग्छ,' उनी भन्छिन्।
महिलाले पुरुषको भन्दा बढी चुनौती खेप्नुपरेको उनको अनुभव छ। पार्टी तथा सरकारको संरचनामा महिलाको अस्तित्व अझै पनि स्विकार्न नमान्ने समस्या छ भन्छिन्। ‘महिलाले पनि राजनीति गर्न सक्छन् र भन्ने सोचले छाडेको छैन,' उनी भन्छिन्, ‘यो समस्या चिर्न स्वयं महिला संघर्षरत हुनुपर्छ।'
शान्ति प्रक्रियामा आइसकेपछि पनि अस्तित्व र स्वतन्त्रताको सन्दर्भमा महिलाले कठिनाइ झेल्नुपरेको उनको भनाइ छ।
‘सामूहिक जीवनबाट निजी जीवनमा फर्केपछि जग्गाजमिन, बालबच्चा सम्हाल्ने जिम्मा महिलाको काँधमा आयो। त्यसैले धेरै महिला नेतृ पछि परेका छन्,' उनी कारण खुलाउँछिन्। 
‘हाम्रै संघर्षबाट राजतन्त्रको अन्त्य भयो, संविधानसभा गठन भयो, संघीय राज्यका विषय संस्थागत हुँदैछन्,' उनी भन्छिन्, ‘तथापि महिलाले मुक्तिका लागि थप आन्दोलन गर्न जरुरी छ।'

प्रकाशित: २४ फाल्गुन २०७० ०३:५३ शनिबार