अन्य

कूटनीतिक क्षेत्रमा काम गर्ने योजना

‘क्षमता भएकालाई गुटबन्दी गरेर पछार्ने काम सबैतिर हुने रहेछ,' नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला अचेल यस्तो अनुभूति गरिरहेकी छन्। उनी आउँदो अधिवेशनमा महŒवपूर्ण भूमिका र पदका लागि संघर्ष गर्ने सोचमा छिन्।‘अघिल्लो अधिवेशनमा उपसभापति दिन्छु भनियो तर पछि धोका भयो,' यही गुनासो कार्यकर्तालाई ‘सेयर' गर्न उनी पूर्व र पश्चिम कार्यकर्ता भेटघाटको तयारीमा छिन्। संविधानले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आफ्नै पार्टी नेतृत्वको सरकारले त्यसलाई पालना नगरेकोमा उनी असन्तुष्ट बनेकी छन्। 
कांग्रेस विदेश विभाग प्रमुखका साथै इन्क्याप नामक संस्थाको महिला विभागमा समेत बसेर काम गर्दै आएकी उनी बाबु (गिरिजाप्रसाद कोइराला) का कारण राजनीतिमा आउन सजिलो भएको बताउँछिन्। तर, बाबुकै आडमा ‘छलाङ मारेको' आरोप स्विकार्दिनन्। भन्छिन्, ‘गिरिजाबाबुकी छोरी हुँ र क्षमता भएको व्यक्ति पनि हुँ।'
उनले पार्टीका विभिन्न पदमा रहेर काम गरिन्। उपप्रधानमन्त्रीसम्म भइन्। बाबुको नाममा जिपी फाउन्डेसन स्थापनाका लागि गृहकार्य गरिरहेकी उनी त्यही संस्थामार्फत विकास, शान्ति र कूटनीतिक क्षेत्रमा काम गर्ने योजनामा छिन्। 
दलहरू गम्भीर नबनेकाले मुलुकको विकास नभएको उनको ठहर छ। ‘गम्भीर भएर काम गरे दस वर्षमै विकासको लहर ल्याउन सकिन्छ,' उनी भन्छिन्, ‘तराईमा सिँचाइ सुविधा हुने हो भने कसैलाई जागिर चाहिँदैन, कयौं योजना बनेर थन्किएका छन्। यी काम पूरा गर्न दलहरु एकजुट हुनुपर्छ।'

प्रकाशित: २४ फाल्गुन २०७० ०३:१३ शनिबार