‘मलाई छोरो गुमेको पीडा एकातिर छ,' उनले भनिन्, ‘सँगसँगै देशले लोकतन्त्र पाएकोमा सन्तोष।' उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि आफूले जीवनको सबैभन्दा महत्वपूर्ण चिज गुमाएको सुनाइन्। ‘मैले मात्र होइन, धेरै आमाले सन्तान गुमाएपछि लोकतन्त्र आएको छ,' उनी भन्छिन्, ‘अब आमाहरूले सन्तान गुमाउने दिन नआओस् भन्न चाहन्छु।'
२०२१ जेठ १४ गते गोर्खामा जन्मेकी पन्तले काठमाडाैं पद्मकन्या क्याम्पसबाट २०५० सालमा नेपालीमा स्नातकोत्तर गरिन्। विद्यार्थी राजनीतिमा सक्रिय भइरहिन्। क्याम्पस प्रवेशको पहिलो वर्षदेखि नै नेपाल विद्यार्थी संघमा रहेर काम थालिन्। उनी ०४६ सालतिर संघको अध्यक्ष बनिन्। त्यतिखेर पञ्चायती व्यवस्थाको विरोधमा जनआन्दोलनको भव्य तयारी भइसकेको थियो। त्यहाँ उनले आन्दोलनको पक्षमा जनलहरलाई संगठित गर्दै नेतृत्व लिइन् र आफ्नो क्षमता देखाइन्।
२०४२ को सत्याग्रहमा सक्रिय सहभागिता जनाएकी उनले त्यतिखेर मात्रै महसुस गरिन्– राजनीतिबाट बाहिरिन सकिन्न। २०४६ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको परिषद् सदस्यमा निर्वाचित उनले २०५१ सालको मध्यावधि निर्वाचनमा टिकट पाइन् र गोर्खा २ बाट प्रतिनिधिसभा सदस्य बनिन्। २०५६ सालको संसदीय निर्वाचनमा पनि उनी गोर्खाबाटै विजयी भइन्।
२०५५–५६ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी पन्तले आफ्नो कार्यकालमा राष्ट्रिय महिला आयोग र बालबालिकाको कल्याणका लागि केन्द्रीय समितिलगायत अवधारणा अगाडि सारिन्। महिलाविरुद्ध हुने भेदभाव उन्मूलनसम्बन्धी महासन्धिलाई बढावा दिने कार्यक्रममा पनि उनको उल्लेख्य भूमिका छ।
पैतृक सम्पत्तिसम्बन्धी विधेयक ल्याउन आफूले निकै मेहनत गरेको उनी बताउँछिन्। ‘महिलालाई आर्थिक रूपमा सक्षम नबनाई मुक्ति सम्भव छैन,' उनले भनिन्, ‘निर्णायक तहमा महिलाको समान सहभागिता आवश्यक छ।'
प्रकाशित: २४ फाल्गुन २०७० ०२:४६ शनिबार