अन्य

‘अधिकारप्राप्तिको हतियार राजनीति'

कमला रोक्का बहुदलीय व्यवस्थापछि राजनीतिमा छिरेकी हुन्। रुकुमको प्वाँङमा जन्मेकी उनले इच्छा हुँदाहुँदै पनि पढ्न पाएकी थिइनन्। यही बखत कम्युनिस्ट आन्दोलनका नाराले उनलाई साह्रै छोए। ‘महिला–पुरुष समान अधिकार' जस्ता वाक्य उनको पढ्ने इच्छासँग मेल खाए।‘अर्काको घर जाने छोरी पढाउनु हुन्न' भन्ने आमाको धारणा उनको इच्छाको बाधक थियो। लुकीलुकी स्कुल जाँदा आमाबाट धेरैचोटि पिटाइ खाएको सम्भि्कन्छिन् उनी। 
२०३२ सालमा जन्मेकी उनी २०४६ सालदेखि स्कुल जान थालिन्। यसका लागि परिवारमा गतिलै विद्रोह गर्नुपरेको थियो। सँगसँगै राजनीतिक कार्यक्रममा सहभागी हुन थालिन्। 
२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) की पूर्णकालीन कार्यकर्ता भइन्। रुकुमको प्रहरीचौकी आक्रमणमा उनी पहिलो छापामार महिलाका रूपमा संलग्न थिइन्। त्यसपछि महिला संगठनको क्षेत्रीय संयोजक, ब्रिगेड कमिसार हुँदै पार्टीमा सक्रियता जारी राखिन्। भन्छिन्, ‘राजनीति अधिकारप्राप्तिका लागि हो, चुनौती त पक्कै हुन्छ।' हरेक चुनौती पार गराउँदै अधिकारप्राप्तिमा सफलता दिलाउने एक मात्र हतियार राजनीतिबाहेक अरू देख्दिनन् उनी। 
‘जीवन संघर्षै–संघर्षले भरिएको' भन्न रुचाउँछिन्। ‘असम्भव' शब्द आफ्नो डायरीमै नरहेको बताउने उनी इमानदारीपूर्वक काम गरे पार्टीभित्र उचित जिम्मेवारी पाइनेमा विश्वस्त छिन्। 
२०६४ सालमा माओवादीका तर्फबाट संविधानसभा सदस्य बनेकी उनले अन्तरिम व्यवस्थापिकामा पार्टी सचेतकको भूमिका निर्वाह गरिन्। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिन्। अहिले एनेकपा (माओवादी) केन्द्रीय सदस्य, रुकुम जिल्ला पार्टी संयोजक छिन्। जनसंख्याका आधारमा समानुपातिक नीतिनिर्माण, लैंगिक विभेद अन्त्य, राज्यसत्तामा महिला सहभागिताको आवाज उठाउँदै आएकी छिन्। 
युद्धमै प्रीति बस्यो, बिहे भयो अनि छोरा जन्मियो। सम्झन्छिन्, ‘पारिवारिक झन्झट बेहोर्नु परेन। पार्टी नै परिवार बन्यो। राजनीति प्रमुख पेसा। एकअर्कालाई सघाएर दुवै जना राजनीतिमा टिकेका छौं।' 
भन्छिन्, ‘सशक्त विचारले महिलालाई सक्रिय बनाइराख्छ। क्षमता बढाएर राज्यका प्रमुख अंगमा अधिकार दाबी गर्न सक्नुपर्छ। अनि मात्र महिला नीतिनिर्माण तहमा पुग्न सक्छन्।'

प्रकाशित: २४ फाल्गुन २०७० ०१:०३ शनिबार