अन्य

चतराधाममा निम्तो

पूर्वाञ्चलको चतराधाममा चैत १७ गतेदेखि पूर्ण महाकुम्भ मेला आरम्भ हुँदैछ। त्यसले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सदभाव वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। महिना दिन चल्ने मेलामा चैत्र शुक्ल पंचमी, चैत्र शुक्ल पूर्णिमा र वैशाख कृष्ण मातृ औशीका दिनको महास्नानले पनि मुलुकको आर्थिक सम्वृद्धि, शान्ति र स्थायित्वका लागि वरदान प्राप्त हुनेछ।मेला समाप्ति ०७१ वैशाख १९ गते वैशाख शुक्ल अक्षय तृतीयाका दिन हुनेछ। त्यो दिनको स्नानवाट पनि मुलुक प्रगति पथमा लम्कन र व्यक्तिगत उन्नतिका लागि आर्शिवाद प्राप्त हुनेछ। साथै मेलाका सबै ३३ दिन भ्रमण र स्नानका निमित्त योग्य छन्। प्रत्येक वाह्र वर्षमा लाग्ने महाकुम्भमा सहभागी भै आन्तरिक पर्यटन प्रवर्द्धन, धर्म र संस्कृति जर्गेनाको मौका गुमाउनु हुँदैन।
चतराधाम क्षेत्र वराह क्षेत्र भित्र पर्छ। पवित्र सप्तकौशिकी नदीको संगम स्थलमा स्नान गर्ने, ऋषीमुनीको तपोभूमि अवलोकन गर्ने र भगवान शंकरको क्रिडास्थलमा परिवार सहित रमाउन पाउनु जीवनकै सार्थक पक्ष हो। विष्णु पादुका, रामधुनी औलिया वावा, दन्तकाली, पंचकन्या र पिण्डेश्वरको महत्व जति नै वयान गरे पनि कम हुन्छ। सुरम्य प्राकृतिक सिमसार क्षेत्रमा रहेको जगदगुरु पीठ प्राचिन हरिद्धारका रुपमा परिचित निर्मल कौशिकीनदीको तट छेउको नदीमा स्नान गर्दा जीवनका सबै मैला र अन्धकार पक्ष पखालिनु स्वभाविकै हो।
नेपालको धर्म, संस्कृति, रमणीय क्षेत्र, पवित्र भूमि र विशिष्ट क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ध्येयले महाकुम्भ आयोजना गरिएको हो। मेलामा महास्नानका दिन प्रतिदिन ५ देखि १० लाखका दरले र अन्य दिनमा ३ देखि ५ लाखका दरले मानिसले चतरा भ्रमण गर्ने अपेक्षा छ। मानव सागर महिना दिनसम्म उर्लने मेला आयोजना संभवत नेपालकै पहिलो हो। हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम प्रसाद आचार्यको अध्यक्षतामा विशेष वैठक वसी मेला आयोजनामा कुनै कुराको कमी हुन नदिन सबै सरकारी संयन्त्रलाई चुस्त र दुरुस्त तुल्याउने निर्णय गरिएको छ। वैठकमा सूचना तथा संचार मन्त्री मीनेन्द्र रिजालले मेलाका लागि वजेटको अभाव हुन नदिने र स्वदेश र विदेशमा व्यापक प्रचार गर्न सम्बन्धित पदाधिकारीलाई आग्रह गर्नु भयो।
भारतको नासिक, उज्जैन, प्रयाग र हरिद्धारमा कुम्भ मेला लाग्ने गरेको र नेपाली पनि त्यहाँ पुग्ने गरेका छन्। धर्मशास्त्र, स्थानको महत्व र धर्माचार्यको मत वुझी जगतगुरुहरुले चतराधाममा महाकुम्भ गर्न योग्य भएको प्रमाणित गरेपछि मेला आयोजना गरिएको हो।
मेलामा स्वदेशी, विदेशी, धर्मचार्य, जगतगुरु, पीठाधीश, मठाधीश, विद्धान, विदूषी आउँछन्। यसै सन्दर्भमा मुख्य सचिव लीलामणि पौड्यालको अध्यक्षतामा नेपाल सरकारका सचिव उपस्थित वैठकले मेलाका लागि पूर्वाधार समयमै तयार गर्ने निर्णय गरेको छ।
चतराधाम पुग्न पूर्व पश्चिम राजमार्गको इटहरी आसपास पुगेपछि २–३ वटा वैकल्पिक सडक फेला पर्छ। धरान–चतरा सडक, पकली–चतरा सडक र झुम्का–चतरा नहरको सडक मुख्य सडक हुन। यी सडकको स्तरोन्नति गर्ने, खाल्टाखुल्टी पुर्ने, वस पार्क निर्माण गर्ने लगायत काम अघि वढेको छ। धरान–चतरा सडक मूल राजमार्ग नै नभएकाले निकट भविष्यमै कालोपत्रे गर्ने योजना छ। मेला अवधिभर लोडसेडिङ नहुने गरी पोल गाड्ने र तार तान्ने काम भैरहेको छ। यसवाट दिउसो र रातको समयमा कुनै असुविधा भोग्नु पर्ने छैन। वाटैभरी सार्वजनिक वत्ती वाल्ने प्रवन्ध हुँदैछ। टेलिकमले नयाँ टावर जडान गरिसकेको छ।
चैत–वैशाखको धुपमा मेलाको साइत जुरेकाले पिउने र नुहाउने पानी अभाव नहोस् भनी डेढ इन्चीको डिप वोरिङ्गलाई दुरुस्त तुल्याउनुका साथै अर्को डेढ इन्चीको डिप वोरिङ्ग गाडिँदैछ। पानी ट्याङ्कर स्ट्याण्डवाई रहने, सप्तकोशीवाट आवश्यक परेका वखत पानी तान्ने गरी पम्प सेट पनि स्ट्याण्ड वाईमा राख्ने र ठाउँ–ठाउँमा ट्याङ्कीमा पानी संकलन गरी २० ठाउँमा धारा जडान गरिनेछ। यसैगरी धरान, इटहरी, इनर्वा र विराटनगर नगरपालिका तथा मोरङ र सुनसरी जिविसले फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको परामर्शमा दैनिक सफाई गर्ने, सहरी विकास मन्त्रालयले महिला र पुरुषका लागि २०० वटा शौचालय बनाउने लगायत काम पनि अघि वढेको छ।
मेला सफल तुल्याउन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटालाई केन्द्रीयस्तरको सर्म्पक अधिकारी तोकेको छ भने पूर्वाञ्चल क्षेत्रका क्षेत्रीय प्रशासक शंकर अधिकारीलाई क्षेत्रीयस्तरको संयोजक तोकेको छ। यी अधिकारीले मेला मूल आयोजक समिति र सरकारी पदाधिकारीसँग समन्वय गरिरहेका छन्। यसै सन्दर्भमा मेला अवधिभर ५ वटा स्वमस्थ्य शिविर खडा गरिने, औषधि, चिकित्सक, चिकित्साकर्मी र २ वटा एम्वुलेन्स स्टाण्डवाई रहने प्रवन्ध मिलाइएको छ। सुरक्षा व्यवस्था मजुवत तुल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजार प्रहरी खटिने गरी सुरक्षा योजना छ। धुनी जगाउन, पण्डाल बनाउन र खाना पकाउन दाउरा प्रवन्ध गरिएको छ।
मेला अवधिभर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र यातायात प्रवन्धका लागि निजी क्षेत्रलाई आव्हान गरिएको छ भने प्रचारका लागि पर्यटन वोर्डलाई आग्रह गरिएको छ। मेला संचालनका लागि सबै वर्ग र क्षेत्रवाट सहयोग गर्न आव्हान गरिएको छ। सरकारले आयोजक समितिलाई एकमुष्ठ ५० लाख रकम उपलब्ध गराउने, पूर्वाधार निर्माण गर्ने र समन्वय गरिदिने वचन दिएको छ।
स्मरण रहोस्, २०५९ वैशाख १ गतेदेखि प्रथम पिण्डेश्वर कुम्भ मेला गरिएको थियो। तत् पश्चात २०६३ चैत्र शुक्ल प्रतिपदादेखि एक महिनाको अर्धकुम्भ मेला आयोजना गरिएको थियो। यस्तो महत्वपूर्ण मेलामा सहभागी हुन पाउनु जो–कोहीका लागि शौभाग्य हो। सरकारको केन्द्रीय सम्पर्क अधिकारीका हैसियतले सबैलाई मेलामा सपरिवार सहभागी हुन हार्दिक आमन्त्रण गर्दछु।
चतराधाम भ्रमण गर्न काठमाडौं–विराटनगर हवाई सुविधा छ। विराटनगर नेपालकै पहिलो औद्योगिक नगरी हो। धरान नेपालकै सुन्दर शहर मध्येमा पर्छ। धरान माथि भेडेटार नेपालका सिमित पर्यटकीय स्थान मध्येको हो। भेडेटारवाट धनकुटा र हिलेसम्म पुगेर एकै पटक तराई, पहाड र हिमालको फेदीसम्म यात्रा गर्न सकिन्छ। साथै पूर्वतिर इलामको चियावारी र श्रीअन्तु पुग्न सकिन्छ। पाथिभरा पुग्न सकिन्छ। यसैगरी पश्चिम तर्फ लागे जनकपुरधाम छ। चतराधामवाट केही माथिको भ्रमण पछि वराह क्षेत्र पुगिन्छ। यसरी पूर्वाञ्चल क्षेत्रको भ्रमणको प्याकेज वनाई निस्कनु वृद्धिमानी हुनेछ।
(लेखक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हुन्।)

प्रकाशित: २३ फाल्गुन २०७० २२:०९ शुक्रबार