काठमाडौं– समाचार लेखेको विषयमा नागरिककर्मीलाई ज्यान मार्ने धम्की आएकोमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले चासो व्यक्त गरेको छ। प्रहरी अनुसन्धानबारे समाचार छापिएपछि नागरिककर्मी केपी ढुंगानालाई देशभित्र र नेपालबाहिरबाट समेत ज्यान मार्ने धम्की आएकोमा चासो व्यक्त गर्दै आइएफजेले तत्काल दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ।'समाजसेवी दिलशोभा श्रेष्ठबारे भइरहेको प्रहरी अनुसन्धानको समाचार छापिएपछि उनलाई नेपालबाहिरबाट समेत गरी थुप्रै मोबाइल नम्बरबाट ज्यान मार्ने धम्की आएको छ,' आइएफजेले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'ढुंगानाको परिवारका सदस्यलाई पनि धम्की दिइएकाले उनीहरूसमेत असुरक्षित देखिएका छन्।'
आइएफजेका एसिया प्रशान्त उपनिर्देशक जेन वर्थङिटनले भयरहित वातावरणमा रिपोर्टिङका लागि आवश्यक सबै व्यवस्था मिलाउन आग्रह गर्दै घटनाको विस्तृत जाँच गरी दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०७० २१:१५ बिहीबार