अन्य

त्रिशुली किनारमा ‘चिन्ता छैन केही'

धादिङ- अस्ताउँदो घामले नेटो काट्नै लाग्दा पशुपति शर्माले ‘चिन्ता छैन केही भन्ने बित्तिकै' घर जान हतार गर्दै गरेका युवायुवतिदेखि वृद्धवृद्धासम्म मञ्चतिर झुम्मिए। उनै पशुपतिको पर्खाइमा बसेका दर्शकले त्यसपछि लय मिलाएर साथ दिन थाले। पशुपतिको प्रस्तुति सुरु हुँदा दर्शकले तँछाडमछाड गर्दै मञ्चको अघिल्लो भागमा कम्मर मर्काइमर्काई भरपुर मनोरञ्जन लिए।फागुन १७ देखि त्रिशुली किनारमा आयोजित राष्ट्रिय र्यााफ्िटङ तथा धादिङ महोत्सवको तेस्रो दिन सोमबार गायक पशुपतिले आफ्ना उत्कृष्ट गीत सुनाएर दर्शकको मन उछाले। 
अर्का धादिङ प्रतिभा ‘नेपाली तारा' सन्तोष लामाले बजारमा आउनै लागेको पपगीत ‘झ्याप्पै भयो जम्काभेट' गाएर युवायुवतीको ध्यान मञ्चतिर खिचे। उनले ‘एकै छिनमा यो', ‘कसले रुवायो', ‘हेरिरहुँ जस्तो' र ‘कान्छी' गाउँदा दर्शकले हुटिङ गर्न थालेका थिए। 
एउटा मात्र खुट्टा भएका धरानका लालबहादुर तामाङले ‘लाहुरे दाइको सोल्टिना' गीतमा नृत्य गर्दै देशमा शान्ति छाओस भनेर परेवा उडाउँदै जादु देखाए। उनले शारीरिक रुपमा अशक्त भए पनि कला र पौरखले बाच्न सकिन्छ भन्ने सन्देश दिए। 
महोत्सवमै भएको दोहोरी प्रतियोगितामा पहिलो दिन खाल्टे र किराञ्चोको समूह विजयी भएका छन् भने दोस्रो दिन तिर्सना दोहोरी साँझ र जनजागरण कटुञ्जे विजयी भएका छन्। एकल नृत्यतर्फ पहिलो दिन रञ्जिता, विवेक, जेनिफर र अर्चना तामाङ तथा दोस्रो दिन सन्तोष राई, भुवन श्रेष्ठ, अस्मिता भुजेल र सोनी लामा दोस्रो चरणमा प्रवेश गरेका छन्। 
मेलामा आठ वटा डुंगामा दैनिक सयौं जलयात्रीले र्यादफ्िटङको आनन्द लिएका थिए। महोत्सवको दोस्रो दिनसम्म १२ हजार बढी दर्शकले टिकट काटेका छन्। 
मेलामा थप आकर्षकको रुपमा मंगलबार ११ देशका कलाकारले प्रस्तुति देखाउने आयोजकले जनाएको छ। जर्मनी, बंगलादेश, इजरायल, इरान, इन्डोनेसिया, भारत, श्रीलंका, मेक्सिको, घाना, कोरियालगायत देशका सांस्कृतिक प्रदर्शनी दिनभर चल्ने छ।

प्रकाशित: १९ फाल्गुन २०७० २३:०७ सोमबार