काठमाडौं– यस वर्षको ‘वासु शशी स्मृति पुरस्कार' कवि तीर्थ श्रेष्ठ र वासु शशी स्मृति सम्मान साहित्यकार शिव रेग्मीलाई प्रदान गर्ने भएको छ। श्रेष्ठले पाउने पुरस्कार १५ हजार रुपैयाँको छ। कवि श्रेष्ठ तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय छन् भने साहित्यकार रेग्मी चाहिँ चार दशकदेखि क्रियाशील छन्।अध्यक्ष कृष्ण जोशीको अध्यक्षतामा हालै सम्पन्न वासु शशी स्मृति परिषदको बैठकले पुरस्कार तथा सम्मानको निर्णय गरेको हो। तीर्थ श्रेष्ठका ‘जीन्दगीको कुरुक्षेत्रबाट’, ‘महाभारतका गीत’, ‘मेरै हिमाल’, ‘जीन्दगीको गोधुलीमा’ लगायत कृति प्रकाशित छन्। रेग्मीका चाहिँ ‘अतितका पाना', ‘नेपालमा आमसञ्चारको विकास', ‘खोजीनिति' लगायत आधा दर्जन कृति प्रकाशित छन्। पुरस्कार वासु शशीको ७८ औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ मा प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले बताए।
प्रकाशित: १९ फाल्गुन २०७० २२:५८ सोमबार