अन्य

'सदा चमत्कारको आशामा हुन्छु म'

रंगमञ्चबाट फिल्ममा प्रवेश गरेर सम्भवतः सबैभन्दा जमेका अभिनेता हुन्, सौगात मल्ल। 'कागबेनी', 'लुट', 'कथा', 'उमा', 'सुनगाभा', 'छड्के' लगायत फिल्ममा उनले आफ्नो अभिनय कौशल देखाएर दर्शकको मन जितेका छन्। आफ्ना पात्रलाई जीवन्तता दिन कुनै कसर नछाड्ने उनी अहिलेका व्यस्त अभिनेतामा पर्छन्। उनीसँग सजना बराल र धनबहादुर खड्काले अन्तरंग कुराकानी गरेका छन्।

भादगाउँले टोपीमा ठाँटिनुभएछ। सधैं लगाउनुहुन्छ यो टोपी?
लाउदिनँ। 'मुखौटा' फिल्मका लागि कपाल 'छेपारो–कट'मा काटेको थिएँ। अहिले कपाल अलि लामो भा'छ। अझै लामो बनाएर अर्को 'स्टाइल' दिऊँ भनेर पालिरहेको छु। लामो कपालले फोहरी नदेखियोस् भनेर भादगाउँले टोपी लगाएको हुँ। अर्को कुरा चाहिँ, मैले एउटा फिल्ममा नेपाली टोपी लगाउनुपर्ने भएको छ। त्यसका लागि पनि बानी परोस् भनेर हिजोआज टोपी लगाएरै हिँड्ने गरेको छु। 
फिल्मका लागि अनेक रूप धारण गर्नुहुन्छ है?
गनर्ैैपर्योि नि। हामी कलाकारको काम, धर्म भनेकै फिल्मपिच्छे फरक रूपमा देखिनु र त्यसलाई दर्शकले पचाउन सक्ने गरी प्रस्तुत हुनु हो। सधँै एउटै 'लुक', एउटै हाउभाउले काम चल्दैन। 
पात्रमा विविधता दिने कलाकार मानिन्छ तपाईंलाई। तर, लुट फिल्मको 'हाकु काले' बाहेक तपाईंले निर्वाह गरेका अन्य कुनै पात्र चर्चित हुन सकेका छैनन्। किन होला?
दुइटा कारण छन्। एक त एउटा फिल्मको पात्रले अर्को फिल्मको पात्रलाई 'रिप्लेस' गर्न सक्दैन। प्रत्येक फिल्मका प्रत्येक पात्रको आफ्नै 'आइडेन्टिटी' हुन्छ। अर्को कुरा, फिल्म कत्तिको चल्छ त्यहीअनुसार फिल्मका पात्र चर्चित हुने हुन्। 'लुट' फिल्म राम्रो चल्यो, धेरै दर्शकले हेरे। त्यसकारण हाकु काले 'फेमस' भयो। मैले खेलेका अरू फिल्म 'लुट' जति चलेनन्। त्यसैले अरू पात्रहरूको त्यति चर्चा भएन। तर, जसले मेरा फिल्म नियमित हेरेका छन्, उनीहरूले मलाई पत्याएका छन्। कतिले त 'लुट'को हाकुभन्दा 'उमा'को पुलिस, 'छड्के' को 'रिसर्चर' मर्न पर्छ भन्छन्। 
जे भए पनि हाकुजस्तै सबैले रुचाउने पात्र त आएन नि? 
त्यो सधैँ सम्भव हुँदैन रै'छ। मेरो उद्देश्य त मेरा प्रत्येक फिल्मका प्रत्येक पात्र हिट होऊन्, मैले खेलेेका सबै फिल्म सुपरहिट होऊन्, हलमा खचाखच दर्शक आऊन् भन्ने हुन्छ। तर, चाहेजस्तो, सोचजस्तो हुँदैन। सानो बजेट र सीमित स्रोतसाधनमा काम गर्नुपर्छ। धेरै कुरामा 'कम्प्रोमाइज' गर्नुपर्छ। त्यसैले फिल्म राम्रा हुँदैनन्। फिल्मै नचलेपछि पात्र कसरी चर्चित होऊन्?
सानो लगानीमै बनेको 'लुट' फिल्म हिट भयो। लगानी थुपारेरै बनाएका कतिपय फिल्म फ्लप हुन्छन्। राम्रो फिल्म बनाउन आखिर चाहिने चाहिँ के रहेछ? 
लगानीसँगै फिल्ममा संयोजन राम्रो हुनुपर्छ। 'स्त्रि्कप्ट'देखि कलाकार, संवाद, 'लोकेसन' सबै मिलेको हुनुपर्छ। र, मुख्य कुरा, निर्देशक बलियो हुनुपर्छ। उसले फिल्मको कथा र त्यसमा अभिनय गर्ने कलाकारसँग राम्रो 'कोअर्डिनेसन' गर्न सक्नुपर्छ। यो त आन्तरिक कुरा भयो। बाहिरबाट हेर्दा चाहिँ दर्शकले कुनै न कुनै रूपमा फिल्ममा आफूलाई देख्न सक्नुपर्छ। 'लुट' चल्नुको कारण त्यसमा प्रयोग भएको भाषा र त्यसले उतारेको आम मान्छेको कथा हो। दर्शकले फिल्म हेर्दा आफूले देखेभोगे वा कल्पना गरेको चिज नै 'लुट'मा देखे। त्यसले उनीहरूलाई अपनत्व महसुस गरायो र फिल्म चल्यो। 
'छ्डके' फिल्मबाट धेरैले आशा गरेका थिए। तर, त्यसमा तपाईंले दर्शकको भरोसा कायम राख्न सक्नुभएन। अब आउन लागेको 'फिट्किरी' ले दर्शकको त्यो अपेक्षा पूरा गर्ला? 
भनँे नि, प्रत्येक चोटि फिल्म खेल्दा म 'केही चमत्कार पो भइहाल्छ कि, यो फिल्मले चाहिँ धमाका मच्चाइहाल्छ कि' भन्ने आशमा हुन्छु। म सदा चमत्कारको आशामा हुन्छु। सबै कलाकारको सोच यस्तै हुन्छ सायद। तर, सपना भन्ने चिज कहिलेकाहीँ मात्र पूरा हुन्छ, जस्तो कि 'लुट'मा भयो। 'छड्के' मा हामीले धेरै 'कम्प्रोमाइज' गर्नुपर्यो्। स्त्रि्कप्टमा भएका कतिपय 'सिन' खिच्नै सकिएन। त्यसैले पनि 'प्रोडक्ट' राम्रो मानिएन। अब आउन लागेको 'फिट्किरी'मा किन पनि आशा गर्न सकिन्छ भने त्यो अनुप (बराल) सरको निर्देशनमा बनेको फिल्म हो। थिएटरमा उहाँको दक्षता देखिइसकेको छ। फिल्ममा पनि सरले जादु देखाउनुहोला भन्ने लागेको छ।
त्यसमा तपाईं प्रहरीको भूमिकामा हुनुहुन्छ क्यारे। पात्रका लागि के कस्तो पूर्वतयारी गर्नुभा'थ्यो?
'फिट्किरी'अघि मैले 'उमा' फिल्ममा प्रहरी बनेर खेलेको थिएँ। त्यसैले पनि दोस्रो चोटि प्रहरी बन्न सजिलो भयो। त्यसबाहेक मैले मेरा आफन्त र साथीहरू जो प्रहरी हुनुहुन्छ, सँग संगत गरेँ। उहाँहरूले प्रयोग गर्ने भाषा सिकेँ। सुटिङ पनि जावलाखेलको प्रहरी क्याम्पमा गरिएको थियो। सुटिङका बेला त्यहाँका प्रहरीले पनि आइडिया दिए। 
फिल्मका कुरा छोडौँ अब। तपाईं निकै गम्भीर स्वभावको हुनुहुन्छ रे? किन हो?
फिल्मको 'ह्याङओभर'ले मलाई गम्भीर देखाउँछ। पहिले–पहिले म जोकर टाइपको थिएँ। स्कुलमा छँदा साथीहरूलाई हँसाइराख्ने, जिस्काइराख्ने गर्थें। नाचिराख्ने, जिस्किराख्ने बानी थियो। तर, फिल्म खेल्न थालेपछि म सौगात मल्लभन्दा पनि फिल्मको पात्र बढी हुन थालेछु। फिल्म साइन गरेर 'वर्कसप'मा गइसकेपछि त म आफूलाई बिर्सिहाल्छु। सुटिङ नसकिएसम्म फिल्मका पात्र र तिनका 'एट्टिट्युड ममा रहिहन्छन्। कहिलेकाहीँ सौगात भएर ऐना हेर्दा झस्किन्छु। 'म हास्दिनँ कि क्या हो' भनेर तर्सिन्छु पनि। 
फिल्म र फिल्मका पात्रबारे सोच्दा–सोच्दा वाक्क लाग्दैन?
अभिनयबाहेक म अरू केही गर्नै सक्दिनँ। यसमै मेरो लगाव छ। यसकै लागि यत्रो दुःख, त्याग गरेर यहाँसम्म आइपुगेको छु। यही क्षेत्रमा लागेर मेले बाँच्नुछ भने यसका बारेमा सोचेर वाक्क हुने कुरा हुँदैन। आफूलाई 'प्यासन' भएको विषयमा सोच्दा वा काम गर्दा वाक्क होइन, झन् रमाइलो लाग्छ।
नवलपरासीदेखि काठमाडौँसम्मको यात्रा सुनाइदिनुस् न।
म पढाइमा 'आलु' थिएँ। पढेर खान्छु जस्तो पनि लाग्दैन थियो। बा–आमाको लागि पढेजस्तो गर्दिन्थेँ। जसरी–तसरी एसएलसी पास गरेँ। त्यसपछि 'मलाई आरआर क्याम्पसमा पढ्ने ठूलो रहर छ' भनेर नवलपरासीबाट काठमाडौँ आएँ। आईए पढेँ पनि। तर, यहाँ आउनुको मेरो एउटामात्रै उद्देश्य भनेको फिल्म थियो। तेह्र वर्षमै म 'मिस्टर लुम्बिनी' भएकाले पनि 'हल्का जिम गरेपछि त कसो हिरो नभइएला' भन्ने भ्रम थियो त्यो बेला। तर, हिरो त के सानोतिनो कलाकार हुन पनि धौधौ भयो।
कुनै बेला 'नेपाली फिल्म क्षेत्र मेरा लागि हुँदै होइन' भन्नुहुन्थ्यो रे?
हो। म हिन्दी फिल्म हेरेर हुर्किएको मान्छे। ओम पुरी, नसिरुद्दिन शाह, अनुपम खेर, सवाना आज्मी आदिका फिल्म हेर्थेँ। यता, नेपाली फिल्म हेर्योओ, दिक्क लाग्ने! 'मेरो खाँचो छैन यो क्षेत्रलाई, म कतै अटाउँदिनँ, म एक्लैले केही परिवर्तन पनि ल्याउन सक्दिनँ' जस्तो लाग्थ्योे। 'दाग', 'पन्छी' जस्ता फिल्म खेलिसकेपछि म त्यस्तो 'फ्रस्ट्रेटेड' भएको थिएँ। त्यही दिक्क लागेको बेला एक दिन गुरुकुल जाने मौका मिल्यो। त्यहाँ गएपछि भने मलाई 'बुरुक्क उफ्रिउँ्क' झैँ लाग्यो। नेपालमा पनि 'थिएटर' छन्, त्यहाँ पनि अभिनय गरिन्छ, गराइन्छ भन्ने थाहै थिएन मलाई। गुरुकुल देखेपछि सास आएझैँ भयो।
त्यसपछि गुरुकुलमै बस्न थाल्नुभयो?
हजुुर। आकाश (अधिकारी) सरले वीरेन्द्र हमाल सरसँग चिनजान गराइदिनु भयो। विरेन्द्र सरले सुनील (पोखरेल) सरसँग। सुनील सरको छत्रछायामा बसेर नाटक सिकेँ। त्यसपछि अनुप सरसँग काम गर्ने मौका मिल्यो। त्यही बेला 'कागबेनी' फिल्मका लागि 'हलिउडको डाइरेक्टरसँग काम गर्न पाइन्छ' भन्दै अफर आयो। हलिउडको निर्देशक भनेपछि लोभिएको थिएँ। तर, केको हलिउड हुनु? हाम्रै अनुप सर, भूषण (दाहाल) सरहरू हुनुहुँदो रै'छ। जे होस्, गुरुहरूसँग काम गर्न पाउँदा दंग परेँ।
नेपाली फिल्मको 'टे्रन्ड' परिर्वतन हुँदै छ। 'अफ द बिट' फिल्म धेरै बन्न थालेका छन्। तपाईंको माग पनि भव्य छ अहिले। समय दाहिना भएका बेला काम फत्ते गर्न नसके मान्छे सधँैका लागि पछारिने खतरा हुन्छ नि, होइन? 
कामको मामिलामा म यतिबिघ्न 'सिरियस' हुनुको कारणै त्यही हो। मेरो 'वर्क लिस्ट'मा अहिले फिल्मबाहेक केही पनि छैन। म अहिले भविष्यको लागि बाटो खन्दै छु। एक समय थियो, जति बेला म 'छानेर फिल्म खेल्नुपर्छ' भन्ने मान्यता राख्थेँ। तर, त्यस्तो होइन रै'छ। अब म 'स्त्रि्कप्ट' चित्त नबुझेका, हल्काफुल्का विषयका र मलाई मन पर्ने चरित्रप्रधान दुवै थरी फिल्म खेल्ने सोचमा छु। यो किनभने अहिले मेरो एकमात्र उद्देश्य भनेको 'मास' जम्मा पार्नु हो र छरिएर रहेका दर्शकलाई एकत्रित गर्नु हो। अहिले निक्लिएका फिल्महरू राम्रा भए पनि तिनले दर्शक पाउनसकेका छैनन्। त्यो किनभने दर्शकले हामी र हाम्रा फिल्मलाई पत्याउनसकेका छैनन्। त्यसैले अब हामीले आम दर्शक, 'क्रिटिक्स' र फिल्मकर्मी तीनटै वर्गले रुचाउने खालको फिल्म दिन सक्नुपर्छ।
कतिपय फिल्मकर्मी 'हाम्रा देशका त दर्शकै अबुझ छन्' भन्छन्। हो? 
दर्शकलाई 'इन्टेलेक्चुअल' बनाउने काम हामी कलाकारकै हो। त्यसका लागि अबको पुस्ताले चतुर्यानइँ गर्न जरुरी छ। त्यो कसरी भने दर्शकलाई 'थिएटर' आउने र 'आर्ट मुभी' हेर्ने लत बसाउन सक्नुपर्छ हामीले। 
नाटकलाई चटक्कै छोड्नुभएको हो?
अब फेरि 'थिएटर' छिर्दै छु। दुई वर्ष 'ग्याप' भयो। अब त नाटक नखेली भएको छैन। के थाहा त्यहाँ मेरा 'फ्यान' टन्नै आउँछन् कि? मेरा कारणले नाटकका दर्शक बढे भने त गजबै हुन्थ्यो। नाटकको संस्कार स्थापना गर्नसके हाम्रा फिल्मलाई निकै फाइदा पुग्थ्यो। फिल्मको 'अफर' धेरै आएकाले बीचमा नाटक खेल्न पाइनँ। यसो पैसा पनि कमाइदिऊँ न भनेर फिल्म बढी खेलेको हुँ।
नेपाली फिल्म क्षेत्रमा लागेकाहरूको भविष्य अझै पनि सुनिश्चित छैन। कहिलेसम्म यहाँ 'टिक्छु' जस्तो लाग्छ?
जिन्दगीमा मसँग कहिल्यै दुइटा 'अप्सन' भएनन्। स्कुल पढ्दा साथीको लक्ष्य क्लासैपिच्छे फेरिन्थ्यो। एक कक्षामा हुँदा डाक्टर बन्छु भन्थे, दुईमा पुग्दा पाइलट, तीनमा शिक्षक बन्ने लक्ष्य हुन्थ्यो उनीहरूको। मेरो कहिल्यै त्यस्तो भएन। सधैँ कलाकार हुने लक्ष्य लिएँ मैले। अझै पनि मसँग दुइटा विकल्प छैनन्। अरू ठाउँमा जाने बाटो नै थाहा नभएपछि मैले हरहालतमा यही क्षेत्रमा टिक्नुपर्छ। बाँचुञ्चेल यही क्षेत्रमा हुनेछु। जहाँसम्म सुनिश्चित भविष्यको कुरा छ, मलाई धेरै चाहिएकै छैन। परिवार र आफ्नो पेट पाल्नसक्ने पैसा कमाए पुग्छ।
परिवार त जोड्नु नै भएको छैन। पाल्ने कुरा त परकै भयो नि...
अहिले मेरो दिमागमै नभएको कुरा हो बिहे, परिवार! बिहे गरेपछि झ्याउ हुन्छ जस्तो लाग्छ। अहिले एक्लै बस्छु। जति बेला जे मन लाग्यो, त्यही गर्न सक्छु। दुई जना भएपछि 'डिस्टर्ब्यान्स' हुन्छ। काममा ध्यान दिन सक्दिनँ होला। त्यसैले अहिले बिहे, परिवार, यताउति कुरालाई 'इग्नोर' गरिरहेको छु।

प्रकाशित: १६ फाल्गुन २०७० ०४:५६ शुक्रबार