अन्य

दृष्टिविहीनको कथा ‘ह्वाइट केन'

काठमाडौं– लेखिका मनीषा गौचन दोस्रो उपन्यास लिएर आएकी छिन्। यसअघि ‘वल्लीको डायरी' उपन्यास निकालिसकेकी मनीषाको नयाँ कृति ‘ह्वाइट केन' शनिबार शिल्पी नाट्यघरमा सर्वाजनिक गरियो। अडियोमा समेत तयार गरिएको पुस्तक सार्वजनिक गरिएसँगै पुस्तकमाथि परिचर्चा समेत सम्पन्न गरियो।परिचर्चामा लेखक गौचनका अलावा नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बु, समाजशास्त्र –मानवशास्त्र उपप्राध्यापक नीति अर्याल खनाल र साहित्यकार कृष्ण धरावासीले भाग लिएका थिए।
पुस्तकमाथि चर्चा गर्दै खनालले पुस्तकले अपांगता भएको व्यक्तिको आँखाबाट वर्तमान समाजलाई चिरफार गर्ने जमर्को गरेको प्रष्ट पारिन्। उनले पुस्तकले अपांगको मनोविज्ञानमात्र होइन नारीवादी चिन्तन र यौनिकतालाई समेत उठाएको धारणा राखिन्। 
‘मेरो विचारमा यो उपन्यास अहिलेको समाजको ऐना हो। यसलाई लुकेका दृश्य र आवाजको कथा भन्दा उपयुक्त हुन्छ,' खनालले भनिन्। नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बुले पुस्तकले दृष्टिविहीन पात्रमाथि न्याय गरेको टिप्पणी गरे। 
‘लेखकले केही नारी पात्रलाई जसरी प्रस्तुत गर्नुभएको छ, त्यसले नारीपात्र माथिचाहिँ अन्याय भएको हो कि जस्तो लागेको हो। नत्र भने उनका सबै पात्रले नेत्रहीनका मनोदशालाई जस्ताको तस्तै उतारेका छन्,' लिम्बुले भने।
उपन्यास नेत्रहीन भास्वत भन्ने पात्रको भोगाइको सेरोफेरोमा उनिएको छ। कृष्ण धरावासीले अपांग पात्रलाई नायकको रुपमा प्रस्तुत गरेकोमा गौचनको प्रशंसा गरे। ‘नायकमा हुनुपर्ने जुन परम्परागत गुणहरु हुन्छन्, त्यो मनीषाको पुस्तकको नायकमा छैन। तर पनि त्यो कुनै नायकभन्दा कम लाग्दैन। यो पुस्तकको एउटा उपलब्धि नयाँ नायकको खोजी हो,' धरावासीले भने। 
मनीले दृष्टिविहीनसँगको संगतले पुस्तक लेख्न प्रेरित गरेको बताइन्। उनले ‘ह्वाइट केन'लाई सबलांग र अपांगको बीचमा रहेको ‘दूरी' मेटाउने माध्यमको रुपमा चित्रित गरिन्। ‘दृष्टिविहीनहरुसँग भेट्नुअघि म पनि उनीहरु र हाम्रो बीचमा धेरै भिन्नता होलान् भन्ने ठान्थेँ तर होइन रहेछ, ‘मनीषाले थपिन्, ‘उनीहरु पनि हामी जस्तै सपना देख्छन् र तिनलाई प्राप्त गर्ने प्रयत्न गर्छन्।' 
उनले उपन्यासमार्फत् नारी र पुरुषको बहुआयामिक सम्बन्धको परख गर्ने प्रयत्न गरेको समेत प्रष्ट पारिन्। पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो। अडियोमा समेत रुपान्तरित उपन्यासमा पारस नेपालले आवाज दिएका छन्।

प्रकाशित: १० फाल्गुन २०७० २२:१९ शनिबार