अन्य

महिला हिंसाविरुद्ध फोटो प्रदर्शनी

ललितपुर– महिलामाथि हुने हिंसालाई समेटेर फोटोग्राफर सुनिल श्रेष्ठले फोटो प्रदर्शनी गरेका छन्। जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा बुधबार सम्पन्न एकदिने प्रदर्शनी ‘दि अनटोल्ड ट्रमा'मा महिला हिंसाका विभिन्न स्वरुपलाई अभिव्यक्त गर्ने फोटोहरु राखिएको थियो।फोटाग्राफर श्रेष्ठले महिला हिंसाका विविध आयामलाई उजागर गर्न प्रदर्शनी गरेको जानकारी गराए। उनले प्रदर्शनीले हिंसालाई फरक तरिकाले हेर्ने प्रयत्न गरेको दाबी गरे।
‘हिंसाबाट बच्ने सबैभन्दा उत्तम घरमा बस्नु हो भन्ने आम मान्यता छ। तर धेरै महिलाका लागि घर सबैभन्दा ज्यादा हिंसा हुने स्थान हो। घरलाई सुरक्षाको पर्यायवाची मानिन्छ तर धेरैका लागि घर नै सबैभन्दा असुरक्षित स्थान हो। फोटो प्रदर्शनी यही मान्यताको सेरोफेरोमा रहेर आयोजना गरिएको हो,' सुनिलले भने।
श्रेष्ठले फोटो प्रदर्शनी हिंसापीडित महिलामा समर्पण गरेको जनाउँदै उनले महिला हिंसाविरुद्ध गरेको प्रदर्शनीले जनचेतना जगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। प्रदर्शनीमा ३६ वटा फोटो समावेश थिए।

प्रकाशित: ८ फाल्गुन २०७० ००:३९ बिहीबार