एक जना साथीले 'ड्रग्स लिई' स्लिम बन्ने उपाय बताएको उनले बताइन्। 'मेरा साथीले ड्रग्स लिन थाले स्लिम बन्ने ग्यारेन्टी नै गरेको थियो,' उनले भनिन्। ड्रग्स प्रयोग गर्न थालेपछि आफू स्लिम भए पनि यसले आफ्नो सामाजिक र पारिवारिक जीवनमा असर पारेको उनले बताइन्। 'मैले ड्रग्स लिन के मात्र गरिनँ? ड्रग्स किन्न पैसाका खाँचो पर्थ्यो। घरकाले यताउता गहना राख्नै नहुने। 'झ्याप' हान्थेँ र बेचेर ड्रग्सको जोहो गथर्ंे,' उनले थपिन्। ड्रग्सका कारण उनको बानीमात्र होइन, पढाइ पनि बिग्रियो। 'प्लस टूभन्दा माथि उक्लिन सकिनँ,' उनले भनिन्।
गाँजाको लतमा फसेकी छिन् २५ वर्षीया इशा। उनको अवस्था पनि मनिताजस्तै छ। कक्षा ८ मा पढ्दा नै आफूले चुरोट तान्न सिकेको उनले बताइन्। 'साथीहरूले चुरोटको धुवाँ उडाएको देख्दा साह्रै रहर लाग्थ्यो। स्कुल बंक गरी साथीहरूसँग 'जक्सन'मा जाँदा छुट्टै रमाइलो हुन्थ्यो,' स्कुलेदिन सम्झँदै उनले भनिन्, 'परिवार, पढाइ, लाइफ कसैको टेन्सन थिएन। लाइफ भनेकै धुवाँ हो जस्तो लाग्थ्यो।' इशाकी आमा छैनन्। बुवाले स्कुल फी तिर्न वा किताबकपी किन्न दिएको पैसा आफूलाई गाँजा तान्न मनग्गे पुग्ने उनले बताइन्। गाँजा तान्दै गर्दा धेरै पटक उनी पक्राउ पनि परिसकेकी छिन्। जति पटक उनी थुनामा परिन्, त्यति पटक घरका आएर छुटाए। 'थुनाबाट घर फर्केपछि दाइले मलाई पटक–पटक पिट्थ्यो। अबदेखि खान्न भन्थेँ तर भोलिपल्टदेखि फेरि त्यही लाइफ सुरु हुन्थ्यो,' इशाले भनिन्।
मनिता, इशाजस्ता धेरै युवती आजभोलि लागुपदार्थको लतमा फसेका छन्। तिनैमध्ये एक हुन्– सिर्जना। सम्पन्न परिवारकी कान्छी छोरी सिर्जनालाई पैसाको कमी थिएन। उनको खर्चालु स्वभावको फाइदा उठाउँदै कुलतमा फसेका साथीले ड्रग्स किन्नका लागि उनीबाट पैसा लिने र उनलाई पनि सँगै लैजाने गरेपछि सिर्जना पनि ड्रग्सबाट टाढा रहन सकिनन्। चुरोटबाट सुरु भएको उनको कुलतको यात्रा ब्राउन सुगरसम्म पुग्यो। 'सुरुमा ड्रग्सले मलाई खोज्यो, पछि मैले ड्रग्स खोज्न थालेँ,' उनले भनिन्। ब्राउन सुगरको खोजीमा आफू वीरगञ्ज नाकासम्म पुगेको उनले बताइन्। भनिन्, 'वीरगञ्ज गएको बेला प्रहरीले मलाई समात्यो र खोरमा हालिदियो।' परिवारको सहयोगमा प्रहरी खोरबाट निस्केर उनले तीन महिना पुनःस्थापना केन्द्रमा बस्नुपर्योर।
ड्रग्सकै कारण प्रहरीको खोरमा महिनौँ बिताएको तितो सम्झना सँगालेकी छिन्, २६ वर्षीया रुक्सानाले। आफूलाई अरूभन्दा फरक देखाउने होडमा उनले चुरोट तान्न सिकिन्। बिस्तारै उनलेे ब्राउन सुगरको स्वाद लिइन्। ब्राउन सुगरको स्वाद उनको जिब्रोमा यसरी झुन्डियो कि उनी त्यसको डिलर नै बनिन्। 'आफू पनि खाने र अरूलाई पनि बेच्ने,' उनले भनिन्। ब्राउन सुगर लिनका लागि वीरगञ्ज गएकै बेला उनलाई प्रहरीले समातेको थियो। र, तीन महिना खोरमा हालेको थियो।
साथीभाइको लहैलहैमा मात्र होइन, आफ्नै दाइबाट ड्रग्स खान सिक्नेहरू पनि छन्। त्यसको उदाहरण बनेकी छिन्, २९ वर्षीया समीक्षा। 'दाइले घरमा आफ्ना साथीहरूसँग ड्रग्स खाएको देखेर मैले पनि ड्रग्स खान सिकेँ,' समीक्षाले भनिन्।
ड्रग्स लत लागेका युवतीका लागि ब्राउन सुगर, गोटी, ब्ल्याक, सिरिन्ज सामान्य भइसकेका छन्। लत लागेपछि ड्रग्स प्रयोग गर्न नपाउँदा उनीहरूलाई जिउ दुख्ने, बोल्न, हाँस्न र खान मन नलाग्ने, वाकवाकी लाग्ने र नाकबाट सिँगान बगिरहने समस्या हुन्छन्।
प्रकाशित: १५ माघ २०७० २१:२५ बुधबार