अन्य

ट्राभल एजेन्सीमा राहदानीको थुप्रो

काठमाडौं– ट्राभस एजेन्सीको आवरणमा व्यक्तिलाई विदेश पठाउने गरेको अभियोगमा एक्सप्रेस ट्राभल्सका म्यानेजिङ डाइरेक्टर पर्वत श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तिनकुनेमा रहेको ट्राभल्सको कार्यालयमा छापा मार्दा वैदेशिक रोजगारीसम्बन्धी फाइल फेला परेपछि उनलाई पक्रेको हो।

ब्युरोले उनीमाथि अनुमति नै नलिई वैदेशिक रोजगारीसम्बन्धी काम गरेर नेपाली नागरिकलाई अवैध रुपमा विदेश पठाउन सक्रिय रहेको अभियोग लगाएको छ। 
ब्युरोका अनुसार तिनकुनेस्थित वैदेशिक रोजगार विभाग वरिपरिको क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुले मेनपावर कम्पनीको काम गर्ने गरेको सूचनाका आधारमा २ दिनअघि छापा मारिएको थियो। प्रहरीले पक्राउबारे विवरण भने आइतबार सार्वजनिक गरेको हो। 
ब्युरोले सार्वजनिक गरेको सूचीअनुसार ट्राभलबाट विभिन्न व्यक्तिको १ सय ५७ वटा रादहानी, ट्यालेन्ट इन्टरनेसनल, कोमल इन्टरनेसनल रोज इम्प्लोइमेन्ट प्रालि, बिजे ओभरसिज, डिलक्स प्रालि, गल्फ म्यानेजमेन्टका नामका फाइलसमेत फेला पारेको छ। 
कार्यालयमा विभिन्न तालिम दिने संस्थाको नाम भएको १ सय १ वटा अभिमुखीकरण तालिम प्रमाणपत्र, कुवेत र दुबईको ३२ वटा भिसा, प्रहरी रिपोर्ट, श्रम स्टिकर र नगदी रसिदसमेत फेला परेपछि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।ट्राभल कम्पनीले अर्काको राहदानी जम्मा गर्न नहुने, श्रम स्टिकर श्रम विभागबाहिर राख्न नहुने र ट्राभलले वैदेशिक रोजगारमा पठाउने अनुमति नलिई काम गर्न नहुने भन्दै ब्युरोले श्रेष्ठलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको जानकारी दिएको छ।

प्रकाशित: १२ माघ २०७० २१:०८ आइतबार