अन्य

बेंगलुरु फेस्टिभलमा नेपाली जुरी

काठमाडौं– भारतको बेंगलोर सहरमा गएको हप्ता संसारभरका उत्कृष्ट फिल्मको प्रतिष्ठित मेला आयोजना भयो। कर्णानक चलनाचित्र एकेडेमीको आयोजनामा भएको उक्त 'बेंगलुरु अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'को उद्घाटन भारतीय सुपरस्टार कमल हसनले गरेका थिए। उद्घाटन समारोहमा रमेश अरविन्द र सुदीपजस्ता नयाँ स्टारहरुको पनि उपस्थिति थियो।

भारतीय फिल्मका सेलिब्रिटीहरुले फेस्टिभलमा आएका विदेशी फिल्मकर्मी र विशेष अतिथिहरुलाई 'मायाको चिनो' प्रदान गरे। सुपरहिट फिल्म 'मक्खी'का अभिनेता सुदीपले चाहिँ नेपालका राजेश गोंगजुलाई आयोजकका तर्फबाट स्वागत तथा सम्मान दिए। गोंगजु फेस्टिभलको एसियाली प्रतिस्पर्धातर्फ फिल्मको मूल्यांकन गर्ने जुरी समितिका सदस्य थिए।
गत पुस ११ देखि १८ सम्म भारतको बेंगलोरमा भएको फेस्टिभलका इन्डियन, कन्नाड र एसियन गरी तीन खण्डमा फिल्मको प्रतिस्पर्धा चलेको थियो। नेपालका गोंगजुसहित श्रीलंकाली फिल्मकर्मी धर्मसेना पाथिराजा र भारतीय फिल्म समीक्षक एएन प्रसन्ना लगायत सदस्य रहेको जुरीले इजरायली फिल्म 'इपिलग'लाई उत्कृष्ट ठहर्याायो।
इजरायली फिल्मले किन पुरस्कार जित्यो भन्ने विषयमा गोंगजुले दिएको 'साइटेसन'लाई भोलिपल्टका अंग्रेजी र कन्नाड भाषाका पत्रिकाहरुले राम्रै स्थान दिए। नेपालमा फिल्म सम्पादन, लेखन र प्रशिक्षणमा सक्रिय गोंगजु फिल्म सोसाइटी अभियन्ता हुन्। उनी अन्तर्राष्ट्रिय फिल्म सोसाइटी महासंघका सचिव छन्।
फेस्टिभलको एक हप्ते बसाइको क्रममा गोंगजुले भारतीय फिल्मका विभिन्न हस्तीहरुसँग भेटघाट गरे। 'फिल्म समीक्षक, फिल्म प्राज्ञ र निर्देशकहरुसँग राम्रो भलाकुसारी चल्यो,' केही दिनअघि काठमाडौं आइपुगेका गोंगजुले भने, 'नेपाली फिल्मको दक्षिण एसियाली स्तरमै कुनै पहिचान छैन रहेछ भन्ने थाहा पाइयो।'
अन्तर्राष्ट्रिय क्षेत्रमा बनिरहेका फिल्मको कलात्मकतालाई भेट्ने फिल्म बनेपछि बल्ल नेपालको पहिचान स्थापित हुने बताउँछन् गोंगजु। 'त्यसका लागि फिल्मकर्मीलाई प्रशिक्षित गर्नुका साथै दर्शकलाई पनि सहभागी गराई फिल्म संस्कृतिको विकास गरिनुपर्छ,' गोंगजुले थपे, 'त्यसका लागि फिल्म फेस्टिभल, फिल्म सोसाइटी र फिल्म समीक्षकहरुले ठूलो भूमिका निर्वाह गर्नुपर्छ।'
बेंगलोरको फेस्टिभल सकिने बित्तिकै उनी 'थर्ड आई एसियन फिल्म फेस्टिभल'मा सहभागी हुन मुम्बई पुगेका थिए। बेंगलोर र मुम्बई पुग्ने क्रममा उनले गिरीश कसरवाली, श्याम बेनेगल र मोहन आगासेजस्ता कलाकार फिल्मकर्मीसँग भेटघाट गरे। नेपालमा फिल्म संस्कृतिको विकास गर्ने सम्बन्धमा विभिन्न छलफल चलेको उनको दावी छ। 'विभिन्न योजनाबारे प्रारम्भिक कुराकानी भएका छन्, बिस्तारै औपचारिकता दिँदै लग्नेछु,' उनले वचन दिए।

प्रकाशित: २५ पुस २०७० २३:२० बिहीबार