अन्य

'एआइजीकी श्रीमती' माथि ठगी अभियोगमा पक्राउ

काठमाडौं– सशस्त्र प्रहरीको सिपाहीमा भर्ना गरिदिन्छु भन्दै ७ लाख रकम लिएर ठगी गरेको अभियोगमा भावना श्रेष्ठ पक्राउ परेकी छन्। आफ्नै घरमा काम गर्ने तरिमाई महर्जनको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरीले उनलाई पक्रेको हो।परिसरका प्रवक्ता रामदत्त जोशीका अनुसार सशस्त्रमा जागिर लगाइदिन्छु भन्दै पैसा लिए पनि जागिर नलगाएको र रकम माग्दा कुटपिट गरेको भन्दै महर्जनले परिसरमा उजुरी दिएका थिए । प्रहरीले ३ दिनअगाडि उनलाई पक्रे पनि मुद्दा भने सार्वजनिक अपराध लगाएको छ।

पीडित महर्जनले प्रहरीमा दिएको जानकारीअनुसार उनले आफूलाई 'सशस्त्रका एआइजी सुशीलकुमार श्रेष्ठकी श्रीमती हुँ, जागिर हुन्छ' भन्दै पैसा लिएकी थिइन्। अनुसन्धानरत स्रोतका अनुसार प्रहरी बयानमा समेत उनले आफूलाई श्रेष्ठकी श्रीमतीका रुपमा चिनाउने गरेकी छन्।

एआइजी श्रेष्ठ हाल सशस्त्रको महानगरीय सशस्त्र प्रहरी कार्यालयका प्रमुख छन् ।

भावना यसअघि पनि ठगी मुद्दामा पक्राउ परेकी थिइन् । विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा उनी पक्राउ परेपछि श्रेष्ठसँग उनको सम्बन्ध टाढिएको थियो । एआइजी श्रेष्ठ यसअगाडि पनि बहुविवाहसम्बन्धी विवादमा आएका थिए । उनकी पहिली श्रीमती अञ्जलीले उनीविरुद्ध सशस्त्र मुख्यालयमा उजुरी नै हालेकी थिइन् ।

प्रकाशित: ९ पुस २०७० २१:०३ मंगलबार