अन्य

करोड फिरौती माग्ने अपहरणकारी थुनामा

बाग्लुङ— एक बालकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको आरोपमा पक्राउ परेका रौतहटका दम्पतीलाई जिल्ला अदालत बाग्लुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।बाग्लुङ नगरपालिका–२ का ११ वर्षीय एबिन कँडेलको अपहरणमा संलग्न रौतहट प्रिपा भगवानपुर गाविसका दीपेन्द्र बैठा र उनकी श्रीमती शान्ता विकलाई थप अनुसन्धानका लागि थुनामा राख्न अदालतले सोमबार आदेश दिएको हो । अपहरणमा साथ लागेको आरोप लागेकी उनकी श्रीमती शान्ता विकसँग अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको थियो । त्यति रकम बुझाउन नसकेपछि उनलाई पनि थुनामा पठाइएको हो ।

सोही घटनामा संलग्नताको आरोप लागेका पोखराका दिनदयाल पाण्डे ५० हजार रुपैयाँ तिरेर धरौटीमा रिहा भएका छन् । प्रहरी हिरासतमा रहेका बैठा 'कसुरदार होइनन् भन्न नसकिने' अवस्था भएकाले पुर्पक्षका लागि थुनामा पठाएको अदालतले जनाएको छ । पोखरामा मोटरसाइकल भाडामा लगाउने व्यवसाय गर्ने पाण्डेको मोटरसाइकल अभियुक्त बैठाले अपहरणमा प्रयोग गरेकाले उनीसमेत मुछिएका हुन् ।

बैठामाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुलुकी ऐनको भाग ४ को महल ८ अनुसार अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ । अपहरणकारीले पाँच दिन राखे पनि बालकलाई कुनै पनि शारीरिक तथा मानसिक पीडा भने दिएका थिएनन् । गत मंसिर २ गते बैठाले कँडेललाई बाग्लुङ बजारको लोकतान्त्रिक चोकनजिकैबाट अपहरण गरेका थिए । एबिनलाई बैठाले पसलको सामान लिन बसपार्क जाउँ भन्दै लगेको र पछि ललाइफकाइ गरी पोखरा हुँदै रौतहट पु¥याएको प्रहरीसँगको बयानमा स्वीकारेका छन् । रौतहटमा रहँदा अभियुक्त बैठाले एबिनलाई आफ्नै घरमा राख्ने र विभिन्न ठाउँमा घुमाउन लैजाने गरेका थिए ।

एबिनका बाबु एकराजको इलोक्ट्रानिक्स पसलमा पहिला काम गरेको हुँदा बैठालाई बालकसँग हेलमेल भई सजिलै फकाउन सकेको प्रहरीले जनाएको छ । बैठाले अपहरणको दोस्रो दिनबाट रौतहटको सार्वजनिक टेलिफोनबाट पटकपटक एबिनका बाबुलाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । सोही क्षेत्रमा निगरानी गरी मंसिर ७ गते रौतहटकै बिपीचोकबाट बैठालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले २४ वर्षीय अभियुक्त बैठालाई अपहरित कँडेलका बाबुसँग टेलिफोनमा कुराकानी गरिरहेककै अवस्थामा पक्राउ गरेको हो । अपहरणकारीसँग फिरौतीबारे कुरा लम्ब्याएपछि सोही मौकामा प्रहरीले पक्राउ गरेको एबिनका बाबु एकराजले बताए । 'फिरौती मागेपछि बार्गेनिङ गरेर कुरा लम्ब्याएँ,' उनले भने, 'त्यही मौकामा प्रहरीले समात्न सक्यो ।'

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले अपहरणकारीले बालकलाई मुग्लिनसम्म मोटरसाइकलमा लगेर त्यसपछि गाडी परिवर्तन गर्दै रौतहट पुर्यागएको जानकारी दिए । गुरुङले भने, 'पोखरामा मोटरसाइकल भाडा लिएर आई बच्चा अपहरण गरेको पाइयो ।'

प्रहरीका अनुसार बैठाले बालकलाई भारत लैजाने उद्देश्यले सीमामा समेत पु¥याएका थिए । संविधानसभा निर्वाचनको समयमा कडा सुरक्षा व्यवस्था भएको र बालकले रोइकराइ गरेपछि फर्काएको अभियुक्तले स्वीकारेका छन् । 'रेल र सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाबल देखेर बालक चिच्याउन थालेपछि फर्काएर नेपाल ल्याएको रहेछ,' डिएसपी गुरुङले भने । अपहरणकारीको नियन्त्रणमा लामो समय रहेका बालकको सकुशल उद्धार गरेर ल्याएपछि कानुनी कारबाहीका लागि अदालतमा मुद्दा दायर गरिएको थियो।

प्रकाशित: ८ पुस २०७० २२:३३ सोमबार