अन्य

प्रहरी गाँजा काट्न ब्यस्त

सिरहा- अहिले यहाँका किसानलाई धान काटेर गहुँ छर्ने चटारो छ। तर प्रहरी भने गाँजा फडानी गर्न ब्यस्त छ। दुई सातादेखि सिरहा प्रहरीले चलाएको ब्यवसायिक गाँजा फडानी अभियानले यहाँको १५ बिघामा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ।शनिबारसम्ममा यहाँको उत्तरी, दक्षीणी र पश्चिमी क्षेत्रमा लगाइएको ब्यवसायिक गाँजा खेती लगभग फडानी गरी सकिएको सिरहा प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले बताए। छिटफुट बारीमा लगाइएको गाँजा नष्ट पार्ने काम जारी रहेको उनले बताए। उनले भने, ‘अहिलेसम्ममा १५ बिघाको करिब ४० हजार गाँजाको बोट नष्ट गरिसकिएको छ।’ संविधान सभा निर्वाचनका कारण गाँजा फडानी अभियान सुरु गर्न ढिला भएको जोशीले बताए। 
गाँजाको उत्पादन बिक्री वितरणलाई गैरकानुनी मानिएकाले हरेक वर्ष सुरक्षाकर्मीले फडानी अभियानलाई निरन्तरता दिँदै आएको छ। तर आम्दानी राम्रो हुने भएकाले किसानहरु यो गैरकानुनी खेतीलाई ब्यवसायिक रुप दिँदै आएको सुरक्षा अधिकारीको बुझाइ छ। ब्यवसायिक गाँजा खेतीको उर्वर क्षेत्र बडहरामाला, बिष्णुपुरकटी, फुलवरीया, चन्द्रलालपुरमा ११ बिघामा लगाइएको गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। यसैगरी, माडर, गोविन्दपुर, हकपाडा, लक्ष्मीपुर पत्तारलगायतका क्षेत्रमा गरी ४ बिघा जग्गामा लगाएको गाँजा नष्ट गरिएको सिरहा प्रहरीले जनाएको छ।
किलोको ५ सय देखि २ हजारसम्ममा गाँजा बिक्री हुने गरेको संलग्न कृषक बताउँछन्। यताको गाँजा भारत पुगेपछि ३ देखि ४ हजार भारुमा बिक्री हुने गरेको उनीहरु बताउँछन्।
यहाँ उत्पादीत गाँजा भारतीय नाका, बरियारपटि, माडर, ठाढी, झाझपटि, ईनर्वा हुँदै भरियामार्फत् भारतीय सहरमा पुर्या इन्छ।

प्रकाशित: ६ पुस २०७० ०५:४७ शनिबार