खड्गी र बस्नेतजस्तै मंगलबार राजधानीमा भेटिएका धेरै मतदाताले संविधानसभाले संविधान बनाउँछ भन्नेमा पूर्ण विश्वस्त नबनेको बताए। महाकाल गाविसस्थित जनजागृति मतदान केन्द्रमा भेटिएका नवराज काफ्ले भने संविधान बन्नेमा आशावादी थिए। 'पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ। सबै राजनीतिक दलले एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसैले संविधान बन्छ,' उनले भने।
मतदातालाई हैरानी
आयोगको लापरबाहीका कारण हैरानी बेहोर्नुपरेको कतिपय मतदाताले गुनासो गरेका छन्।
लैनचौरस्थित शान्तिगृह मतदान केन्द्रमा भोट हाल्दै आएको राम शाहीको पूरै परिवारले यसपालि नयाँ बसपार्कनजिकै गणेश हिमाल मावि मतदान केन्द्रमा गएर भोट हाल्नुपर्योक। मतदाता नामावली अन्तै गएपछि साविकको ठाउँमा भोट हाल्न नभएको शाहीले बताए। 'हामीलाई त खासै केही फरक परेन तर बूढी आमा–बुबालाई त्यहाँसम्म पुगेर फर्कन निकै अप्ठेरो भयो,' उनले भने। शाहीका ६६ वर्षीया आमा भीमकुमारीले पवित्रनगरस्थित मतदान केन्द्रबाट मतदान गरिन्।
राजधानीका अधिकांश केन्द्रमा अपराह्नपछि भीड पातलिए पनि क्षेत्र नं ४ अन्तर्गत कपन फैकास्थित बालउद्धार उच्च मावि मतदानस्थलमा अबेरसम्म भीड थियो।
नेपालकै सबैभन्दा धेरै मतदाता भएको त्यस केन्द्रमा महिला र पुरुषका लागि आठ–आठवटा लाइनको व्यवस्था गरिएको थियो। सो केन्द्र ६ हजार ७ सय ६७ मतदाताका लागि हो।
'बिहानैदेखि लामो लाइन थियो,' कांग्रेसका बुथ प्रतिनिधि डिल्लीप्रसाद डोटेलले नागरिकसँग भने, 'यहाँ ७५ जिल्लाबाट बसाइँ सरी आएका मतदाता छन्।' सो केन्द्रबाट नेकपा–माओवादी भनेर चिनिएका नेताले समेत भोट हालेको उनले बताए।
त्यस केन्द्रबाट भोट हालेका ८६ वर्षीय ताराप्रसाद मैनालीले नयाँ संविधान हेरेर मर्ने इच्छा रहेको बताए। 'समयमै संविधान बनाइदिए हुन्थ्यो,' काभ्रेबाट बसाइँ सरेर आएका उनले भने। उनले २०१५ सालदेखि निरन्तर मत हाल्दै आएका छन्।
प्रकाशित: ४ मंसिर २०७० १४:१६ मंगलबार