बारा संवाददाताका अनुसार जिल्लाको दक्षिण झिटकैया गाविसस्थित धुरहा कल्याणपुर टोलका महिलाले मंगलबार आफैं भोट हाल्न पाएनन्। उनीहरूको मतपत्र लगेर घरको पुरुष वा गाउँका अगुवाले भोट हालिदिए। यस क्षेत्रका महिलाहरूले यसअघि पनि आफ्नो इच्छाअनुसार भोट हाल्न पाउँदैनथे। आफैंले भोट हाल्न नपाएकोमा कतिपय महिलाले गुनासो पनि गरेका छन्। 'बिहे गरेर यहाँ आएपछि चारपटक चुनाव भयो, तर मैलै एकचोटि पनि आफैं भोट हाल्न पाएको छैन,' कमलावती देवी भनिन्।त्यस टोलका लागि निर्धारित कल्याणपुरस्थित सिँचाइ कार्यालय भवन परिसरमा एउटा व्यक्तिले पाँच जनासम्मको मतपत्र लिएर भोट हालेको स्थानीयले बताए। मतदान केन्द्रमा निरीक्षण गर्न पुगेका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई त्यहाँको अवस्था देखेर आफैं चकित भएका थिए। उनले आफ्नो मतपत्र अरूलाई बुझाउनुको कारण बुझ्न नसकेको बताए।
दक्षिण झिटकैया गाविसको वडा नं १, २, ३ र ४ का लागि सिँचाइ भवन परिसरमा मतदान केन्द्र तोकिएको थियो। त्यहाँ १ हजार मतदाता छन्। मतदान अधिकृत रोविन यादवले त्यस क्षेत्रमा तराई मधेस सद्भावना पार्टीका उम्मेदवार प्रयागराय यादवको दबदबा रहेकाले कसैले विरुद्धमा आवाज उठाउन नसक्ने बताए।
प्रकाशित: ४ मंसिर २०७० १२:४७ मंगलबार