अन्य

व्यापकता पाउँदै नेपाल संवत्

चुन्दा बज्रचार्य हिजोआज निकै व्यस्त छिन् । विभिन्न कार्यक्रममा भ्याई–नभ्याई छ । उनको व्यस्तता नजिकिँदै गरेको चुनाव प्रचारको लागि होइन । 'नेपाल संवत् न्हूँदा राष्ट्रिय समिति ११३४' की अध्यक्ष रहेकी बज्राचार्य नयाँ वर्ष मनाउनका लागि व्यस्त छिन्।यसै अवसरमा विभिन्न ठाउँमा विशेष कार्यक्रम भइरहेका छन् । सांस्कृतिक कार्यक्रम, चियापान समारोह, मोटरसाइकल ¥याली ठाउँ ठाउँमा भएका छन् । कात्तिक १८ गते, सोमबार नेपाल संवत ११३४ सुरु हुँदै छ ।

हरके वर्ष तिहार, नेपाल संवत्सँगै म्ह पूजाको चर्चा हुन्छ । नेवार जाति यस अवसरमा निकै उल्लासका साथ मनाउँछन् । बज्राचार्यका अनुसार नेपाल संवत् भने नेपाल संवत् नेवारको मात्र नभएर समग्र नेपालीको गौरवको कुरा हो, बज्राचार्य भन्छिन्, 'यसलाई नेवार जातिमा मात्र खुम्चाउनु अन्याय हुनेछ ।'

विश्व नेवा संगठनका संस्थापक सचिव गणेशराम लाछी पनि यस कुरा सहमत हुन्छन् । नेपाल संवत्को दिन नेवारको विशेष चाड म्ह पूजा पर्ने भएकाले यसलाई नेवारसँग जोडेर हेरेको बताउँछन् । 'नेपाल संवत्को नयाँ वर्षको पहिलो दिन नेवारले म्ह पूजालाई धुमधाम मनाउने गर्छन् अनि नेवारले मात्र नेपाल संवत् मनाएको जस्तो देखिन्छ,' लाछिले भने, 'यो समग्र नेपालीको राष्ट्रिय संवत् हो ।'

हरेक नेपालीले नेपाल संवत्लाई आफ्नो व्यावहारको अपनाइरहको दाबी गर्छिन् बज्राचार्य । नेवारको जन्मदेखि मृत्यु, पूजाआजा, भोजभतेर सबै नेपाल संवत्को क्यालेन्डरअनुसार भएकाले यो व्यावहारिक रूपमा पनि अपनाइरहेको उनको दाबी छ ।

नेपाल सरकारले पनि यसलाई मान्यता दिइसकेको छ । २०५६ सालमा नेपाल संवत्का प्रवर्तक शंखधर साँख्वालाई विभूतिको रूपमा घोषणा गरिसकेको छ । यसरी विस्तारै नेपालको आफ्नो संवत्को रूपमा आएको देखिन्छ ।

विश्वमा आफ्नो राष्ट्रसँग जोडिएको एकमात्र संवत् भनेको नेपाल संवत्मात्र हो । यो नेपालको नाममा भएको राष्ट्रिय संवत् हो । यो शासकको नामबाट स्थापना भएको होइन । सामान्य नेपालीको जनताको नामबाट सुरु भएको हो । त्यसैले गैरनेवारले पनि विस्तारै अपनाउँदै आएका छन् ।

अहिले धेरै विद्वानहरूले खोजविन गरेरका छन् । यो नेपालको संवत् हो भन्न थालेका छन् ।

लोक संस्कृतिकर्मी तुलसी दिवस पनि नेपाल संवत्लाई नेपालको पहिचानको सम्पत्तिको रूपमा हेर्नुपर्ने बताउँछन् । हरेक संवत्को आ–आफ्नै महŒव हुन्छ । इस्वी संवत्, विक्रम संवत्को आफ्नै महŒव छ । कुनै अन्तर्राष्ट्रिय महŒव राख्छन् भने कुनै आफ्नै देशको कला संस्कृति, इतिहाससँग जोडिएर आउँछन् । नेपाल संवत्लाई नेपालको इतिहासको रूपमा अगाडि बढाउनुपर्ने दिवसको सुझाव छ ।

बज्राचार्यका अनुसार नेपालको मध्ययुगमा सरकारी कामकाजको रूपमा नेपाल संवत्लाई अपनाइएको थियो । नेपालको इतिहास खोज्दै जाँदा नेपाल संवत्लाई अध्ययन नगरी पूजा नहुने उनी बताउँछिन् । धार्मिक, सांस्कृतिक पक्ष, बाजागाजा, आर्ट, आर्किटेक्चरको अध्ययन गर्न नेपाल संवत्को अध्ययन गर्नु जरुरी छ । हिन्दु संस्कृति, परम्परा पनि नेपाल संवत्अनुसार चलिआएको बज्राचार्य बताउँछिन् ।

नेपाल संवत्लाई म्ह पूजासँग पनि जोडेर हेर्ने गरिन्छ । नेपाल संवत् र म्ह पूजा फरक विषय भएको लाछी बताउँछन् । 'नेपाल संवत् ११३३ वर्ष पहिला सुरु भएको थियो भने म्ह पूजा त्योभन्दा साढे चार वर्ष पहिलेदेखि चलिआएको मानिन्छ,' लाछीले भने ।

जब शंखधरलाई २०५६ सालमा सरकारले राष्ट्रिय विभूति घोषणा ग¥यो । त्यसपछि अझ यसको खोजविन तीव्र भएको छ । विभिन्न शिलापत्र, शंखघरका केही सामग्री पनि भेटिएका छन् ।

नेपाल संवत्को उजागर गर्न भनेर 'नेपाल भाषा मंका खल' लागि परेको छ । यसले नेपाल संवत् ११ सयदेखि शुभकामना दिने, सानोतिनो कार्यक्रम गर्ने चलन बसाल्यो । १०९३ देखि नै लाछी पनि नेपाल संवत् मनाउनुपर्छ भनेर लागिपरेका छन् ।

उनी सम्झन्छन्, त्यो बेलामा तीन चारजना साथी मिलेर शुभकामना कार्ड बाँड्दै हिँडेका थिए । 'हामीले नेपाल संवत् न्हँुद भिन्तुना भनेर तुल राख्यौं ठाउँठाउँमा, लाछी भन्छन्, 'त्यो बेला धेरैलाई थाहा थिएन नेपाल संवत् भन्ने ।'

यसरी सुरु हुँदाहुँदा ११ सयमा नेपाल संवत् मंका खल भनेर पद्मरत्न तुलाधरको अगुवाइमा विभिन्न कार्यक्रम गर्न थाल्यो । प्रत्येक साल विभिन्न कार्यक्रम हुँदै आएका छन् । पछि विभिन्न पत्रपत्रिकाले पनि नेपाल संवत्लाई स्थान दिन थाले । यसरी विस्तारै जन चासोको विषय बन्दै गएको लाछी बताउँछन् ।

तिथि मितिलाई व्यावहारिक रूपमा प्रयोग नगरे पनि रितीरिवाज चालचलन भने नेपाल संवत्अनुसार चल्दै आएको बज्राचार्य बताउँछिन्।

नेपालमात्र होइन विश्वभर नेपाल संवत्को चर्चा, महŒव बढ्दै गएको लाछीले बताए । जापान, अमेरिका, क्यानाडा, बेलायत, युरोपमा बसेका नेपालीले पनि नेपाल संवत्, म्ह पूजा मनाउने गरेको उनी बताउँछन् । ती देशमा नेपाल संवत्को विकास, व्यापकता ल्याउन विभिन्न समिति पनि गठन भएका छन् ।

प्रत्येक जिल्लामा पनि नेपाल संवत् संगठित रूपमा मनाउने चलन सुरु भएको छ । विभिन्न समिति गठन पनि भएका छन् ।

विश्वमा नेपाल संवत्लाई चिनाउन भनेर 'वल्र्ड नेवा अर्गनाइजेसन' स्थापना भएको छ । यसको संस्थापक सचिव लाछी हुन । लन्डनमा 'पाछापुछ' गुठी छ । अमेरिकामा 'एनओए' अर्थात् 'नेवा अर्गानाइजेसन अफ अमेरिका' भन्ने संस्था छ । दुई वर्षअगाडि १८ वटा राष्ट्रमा नेपाल संवत्लाई प्रवद्र्धन गर्न विभिन्न समिति गठन भएको लाछी बताउँछन् । सिक्किममा यसको राम्रो उपस्थिति छ । २०६८ को तथ्यांकमा १३ लाखभन्दा बढी नेवार जनसंख्या रहेको लाछीले जानकारी दिए ।

म्ह पूजाको इतिहास

मान्छेले खेतीपातीको सुरु गर्दा कालोमाटोको प्रयोग गर्थे । कालिमाटी झिक्न धेरै गहिलो खाल्डो खन्नु पथ्र्यो । जमिनको धेरै तलमात्र कालो माटो पाइन्छ । त्यो मलिलो माटो खेतिमा प्रयोग गर्दा अन्न उत्पादन राम्रो हुन्छ । 'त्यसको प्रयोग हाम्रो पालामा पनि हुन्थ्यो,' लाछीले भने । अहिले त्यसको प्रयोग हराइसकेको छ ।

त्यो माटो झिक्दा कोही घाइते हुन्थे, कोही पुरिएर मर्थे । सकुशल माटो झिक्नेलाई खाल्डोबाट निस्केपछि मान्छेको पूजा गरियो । त्यही पूजा गर्ने चलनलाई पछि म्ह पूजाका रूपमा विस्तार भएको हो ।

लाछीका अनुसार नेवार जाति सबैले म्ह पूजा गर्दैनन् । श्रेष्ठहरूमा पनि सबैले गर्दैनन् । प्रजापति धेरैले गर्दैन ।

नेपाल संवत्को इतिहास

लाछीका अनुसार नेपाल संवत् कसरी सुरु भयो भन्नेमा दुई मत छ । पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।

श्यामसुन्दर राजवंशीको भनाइमा आधारित अर्को किंवदन्ती छ । राजवंशीका अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाझी गरेर राजालाई उल्का लगाइदिए, 'यसले अनैतिक व्यापार गरेको छ । यो उसको मेहनतको धन होइन ।'

यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने ।

गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ ।

प्रकाशित: १५ कार्तिक २०७० २२:३१ शुक्रबार