अन्य

म्यादी प्रहरी भर्नामा आएकी महिलाको प्रहरीद्वारा बलात्कार

राजविराज- म्यादी प्रहरीमा भर्ना हुन आएकी २३ वर्षीया एक महिलालाई सुरक्षा दिने प्रहरी र सुरक्षा गार्डले नै बलात्कार गरेको तथ्य खुलेको छ। झापा जिल्लाकी ती महिलालाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी जवान रुपनगर गाविस–८ रघुनाथपुरका २६ वर्षीय राजेश्वर सरदार र नेपाल टेलिकम राजविराजका सुरक्षा गार्ड बदगामा गाविस–३ का २४ वर्षीय चुनचुन भन्ने राजनारायण यादवसमेतले बलात्कार गरेको पीडितले बताएकी छिन्।

सरदार र यादवसँगै म्यादी प्रहरी भर्नाका लागि आएका सरदारका भाइ रुपनगर गाविस–९ का २३ वर्षीय बालेश्वर सरदार र नाम नखुलेका अर्का एकजना गरी चारजनाले बुधबार राति राजविराज नपा–१ स्थित नेपाल टेलिकमको कार्यालयमा ती महिलालाई बलात्कार गरेका हुन्।
बुधबार राति १० बजे टेलिकम कार्यालयबाट रुँदै निस्किएकी पीडितलाई म्यादी प्रहरी भर्नाको परिणाम टाँस्न जिल्ला प्रशासन कार्यालय पुगेको सई श्याम सुवेदीको प्रहरी टोली र स्थानीयवासीले सोधपुछ गर्दा पीडितले आफू बलात्कृत भएको बताएकी थिइन्। 


म्यादी प्रहरीमा भर्ना हुन आएकी ती महिलालाई होटल वा लजमा बस्न नदिई टेलिकमको कार्यालयमा ल्याई बलात्कार गरिएको पीडितद्वारा बिहीबार प्रहरीमा दिइएको उजुरी उल्लिखित छ। पीडित महिलाले उजुरी दिएपछि बलात्कारको आरोपमा प्रहरीले बिहीबार राजेश्वर, राजनारायण र बालेश्वरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ भने आरोपित एकजना फरार छन्। 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय यादवका अनुसार राजविराज नपा–३ स्थित अञ्चल अस्पतालमा शुक्रबार पीडितको र आरोपितहरूको स्वास्थ्य परीक्षण गरी अनुसन्धान थालिएको छ। घटनामा प्रहरीको संलग्नता देखिएपछि आरोपित प्रहरी जवानको नाम बाहेक अन्यविरुद्ध मात्र उजुरी दिन पीडितलाई दबाब दिइएको बताइन्छ। रासस

प्रकाशित: २६ आश्विन २०७० १२:१४ शनिबार