अन्य

दुब्लाएको दसैँ !

'लाहुरे दाइ आए। क्यानाम, दो महिनेके छुट्टी मनानेके लिए!' दिल्ली नदेखेको र लाहुर नटेकेको भए पनि लामो समय हराएर फर्किएका सिल्लीलाई समेत लाहुरे भन्ने चलन थियो। फुली पनि नपाएर बुच्ची न बुच्ची देखिएकी फुच्ची भाउजू त्यत्तिकै दङ्ग परिन्। त्यस वर्षको दसैँमा ती दुई जनाको जोडी रेडियो घन्काउँदै गहते गाउँ टीका लाउन गएको विषयले गीतमा भाका पायो। गाउँका कुरौटे आइमाईलाई कुरो बेसाउनै नपर्ने भयो। नौरथा लाग्नेबित्तिकै आइपुगेका लाहुरे दाइले गाउँका बुढाहरूलाई चुरोट र भुराहरूलाई अपुङ्गी चकलेट बाँडे। बनारसबाट पढेर दसैँकै लागि आएका दोलखे दाइले दिएको पेडा अहिलेसम्म जिब्रैमा टाँसिएर बसेको छ।शहर जानेहरू गाउँतिर ओइरिन्थे। गाउँले आमाबाबु, दिदीबहिनी र दाजुभाइसँगको भेटघाट नवमीसम्म चल्थ्यो। दशमीदेखि पूर्णिमासम्म टीकाटालाको निहुँमा माइत, मावल र ससुराल गर्नेहरूले भेटघाटको धोको पुर्याचउँथे। वास्तवमै दसैँ मिलन पर्व हो, यस्तो नहुँदो हो त सरकारले यति लामो बिदा र दसैँ खर्चको सिदा किन दिइरहन्थ्यो? जागिरेहरू पनि घरतिर फिरे। 
नमिठो खाने र नराम्रो लाउने कोही हुँदैनथे। समानताको पर्व नै थियो, दसैँ। गरिबगुरुवाले पनि पछिल्लो वर्षको दसैँका लागि चाहिने खसी र खर्चको जोहो अगिल्लो दसैँदेखि नै गर्न थाल्थे। उतिबेला उधारो कपडा व्यापार गर्ने राहुजस्तो साहूको पनि राजाको जस्तै भाउ हुन्थ्यो। संयोगवश म पनि कान्छा साहूको छोरो हुनाले नपलाएको जुँगाको ताउ लाउँथेँ। राजकुमारै थिएँ तर दसैँमा बाहेक अगिपछि नटालेको लुगा लाउन पाउने कर्म थिएन। नयाँ लुगा लाएको दिन त पाँच गाउँ घुमिसक्दा पनि थाकिँदैनथ्यो। 'केटाकेटीलाई दसैँ आएको जस्तो!' उखानै छ। कसैका खुट्टा भुइँमा हुँदैनथे, पिङमा हुन्थे। बूढाबूढी पनि धर्ती छोड्ने निहुँले लठारिँदै पिङको लट्ठा अँठ्याउन पुग्थे। दसैँ मनोरञ्जनको पर्व थियो।
यो वर्ष देउरालीमा लिङ्गे पिङ हालिएन। आइते र मङ्गले मलेसियामा भेडा चराउँदै होलान्। पिङ बाट्न आइपुगेनन्, ठिटाहरू। माई भैरवीको गाथा, मालसिरी। अहोरात्र मालसिरी गाउने मेरो मामाका दौँतरी तिँदुबोटे सानाबाले पनि पाँच पिण्ड पचाइसकेछन्! देवीथानमा दमाहा र नगरा अब कुन चाहिँ बाजेले बजाउला? कर्नाल र सनई फुक्दै हिँड्थे, चन्द्रबहादुर दमाईं। चन्द्र अस्ताएको पनि पच्चीस वर्ष पुगिसकेछ। ‰याइँ‰याइँ नौमती बाजा अगि लाएर फूलपातीमा फूलमालाले भरिएको डोलीको पछिपछि ताली बजाउँदै उकाली लाग्थ्यौँ। त्यो दिन पनि सपनै रहेछ। भगवतीको मन्दिरमा तोरण टाँगेको झिलीमिली दृश्य अचेल आँखामा देखिँदैन। बुढोपयो लागेछ क्यारे, काफलछापे गिँदेल मामा अचेल नाच्दैनन्। नत्र तिनले झिल्का उडाउँथे, पुर्नेको जात्रामा। 
देउती भाउजू र मिठा भाउजू बैँसमै थिए। म लुखुरे भुरो। तिनले मच्चाएको लिङ्गे पिङ च्याप्पै समाउन जाँदा तीन कान्लामुनि पछारिन पुगेछु। दहीचिउराको लेपबाहिर काप्राको पाटको काम्रो बाँधिदिएर ठुलो बाले जोडिदिनुभएको थिएन भने मेरा दुइटा हात चारोटा भइरहेका हुन्थे। त्यो वर्ष मेरो दसैँ दशामा परिणत भयो। नत्र रिन न धनसित रमाएर हिँडिन्थ्यो। 
मान्केमा रोटे पिङ, मुलाबारीमा रोटे पिङ, बेल्खुबजारमा पनि रोटे पिङ। बेल्खुबजारमा पनि रोटेपिङ पाइँदैनथ्यो भने बाको हातको टिको लाउन पनि जाइँदैनथ्यो। आलोपालो बस्ने र मच्चाउने। चचहुई! चचहुई! बुढो मावल–घर्ती गाउँ, रोटे पिङले होला सधैँको तन्नेरी ठाउँ। पोहोर जाँदा त दाँत झरेर थला परिसकेको थियो किनभने त्यहाँको बस्ती सेउली बजारमा झरिसकेको थियो। 
त्रयोदशीको राति मैदीकोट देवी थानमा लागेको जात्रा भोलिपल्ट बिहान एघार बजेसम्म मनोरञ्जक भइरहन्थ्यो। तरुना र तरुनीहरूको दोहोरी—जसको सुन्यो, उसैको सुनिरहूँ जस्तो। मैदीपारिका मगर–मगर्नीहरूको कौह्रा नाच हेर्न छोडेर को निदाओस्? त्यस्तो पो नाच! त्यसलाई पनि डिस्कोको ढिस्कोले छेकिसक्यो। स्वदेशी संस्कृतिको छातीमा विदेशी विकृतिले टेकिसक्यो। 
आमा भन्थिन्, ठुली कतारमा छिन्, पत्रिकाले लेख्यो–'कतार सरेकी ठुली परदेशी भुस्तिघे्रको शरीर–मुसारमा परेकी छिन्। काम पाएकी छिन्, कामुकहरूको धोका खाएकी छिन्। यता भए काम गर्दा माम मात्रै पाउँथिन्, उता त नीलडाम पनि पाएकी छिन्। उनीसँगै गएकी जमुनाले विनाबाबुका एकजोर सन्तान कमाएकी छिन्। ठुली पोहोर सालको दसैँमा आइनन्। सम्भवतः उनले त्यतिबेलासम्म अवैध आमा बन्न पाइनन्। यस वर्षको दसैँमा घरमाइतका आफन्तहरू मासुको चौटा लुछ्दै हुन्छन् तर ठुली आँसुको छहरा बगाउँदै हुन्छिन्। साने साउदीमा छ भन्थे। के पाएर हुनु? आमाको काख छोडेर मामासम्म पनि एक्लै जान नचाहने हाम्रो साने कुन्नि कहाँ पुग्यो, जमरा राख्ने दिन उसको पार्थिव शरीर बाकसभित्र बसेर हवाइजहाजबाट ओर्लियो। आमा भन्थिन्, 'मेरो साने दशँै मान्न घर आउँछ।' चिलगाडीबाट ओर्लिन नपाउँदै उसको देह आर्यघाटको चितामा चढ्यो। कसैले पनि उसकी आमालाई नसुनाइदिनू—“दसैँमा घर आउन ठिक्क परेको तिम्रो छोरो मरुभूमिमा निसासिएर मर्योस!” 
सानेको शोक र ठुलीको सम्झनाले यस वर्षको दसैँ झन्–झन् दुब्लाएको छ।

प्रकाशित: २६ आश्विन २०७० ०३:०० शनिबार