अन्य

उम्मेदवारीसँगै धरौटी राखेर निस्के गणेश लामा

काठमाडौं – कारागारभित्रबाट संविधानसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका गणेश लामा तीन करोड बराबरको धरौटी राखेर शुक्रबार रिहा भएका छन्। 
आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको अभियोगमा तीन करोड धरौटी बुझाउन नसकेका उनी डिल्लीबजार कारागारमा पथिए। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्यसमेत रहेका लामाले वारेसनामामार्फत् काभ्रे २ बाट उम्मेदवारी दर्ता गराएका थिए।विभिन्न अपराधमा मुछिएका लामाले विष्णुबुढानीलकण्ठ–९ को १६ रोपनीभन्दा बढी जग्गा जेथाजमानीमा राखेको विशेष अदालतकी उपसचिव निर्मला भट्टराईले बताइन्। उक्त जग्गा लामानिकट तीनजना व्यक्तिको नाममा छ। 
लामाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ बराबरको सम्पत्ति अवैध कमाएको दाबी गर्दै जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। साउन ३ गते अदालतले उनीसँग तीन करोड धरौटी मागेको थियो।

प्रकाशित: १८ आश्विन २०७० २०:५७ शुक्रबार