अन्य

जब्बर अराजक

यस वर्षको मदन पुरस्कार विजेता राजन मुकारुङकी आमा विष्णुलेखा हिजो शुक्रबार ७१ वर्ष लागिन्। भोजपुर दिल्पा नागीस्थित घरमा बसिरहेकी उनलाई पंक्तिकारले टेलिफोनबाट जन्मदिनको शुभकामना दियो। अनि सोध्यो, 'तपाईंलाई थाहा भइसक्यो होला। कान्छो छोराले हाम्रो देशको सबैभन्दा ठूलो पुरस्कार पाउने हुनुभयो।''कान्छो नातिले रेडियोमा सुनेछ नानी। मलाई भन्दै थियो।'
'यो पुरस्कारको नाम पहिले सुन्नुभएको थियो?'
'थाहा थिएन नानी। के हुने हो। कसो हुने हो।'
'छोरासँग कुरा भयो होला, के भन्नुभयो नि?'
'म बूढीमान्छे, के भन्छु र! धन्यवाद दिन्छु नि। अझै राम्रो हुँदै जाओस् भनेर आशिक दिन्छु।'

मुस्किलले आवाज ठम्याइन् विष्णुलेखाले। आँखाले टिपुन्जेल उनी आफैं लय हालेर रामायण गाउँथिन् कुनै बेला। लोकभाका त कण्ठै।
दिल्पातिरका नामी कवि घनश्याम किरातसँग बिहे भयो उनको। उनी थिए आशुकवि। हिँड्दाहिँड्दै, बस्दाबस्दै कविता फुराइदिने। घनश्यामले लेखेको गीत लोचन भट्टराईले रेडियो नेपालमा गाइन्। त्यो चर्चित भयो : 
'एउटा माइती दूर देश
आँखाको यो आँशु
सुकी जाइजाला।'

रामायणको छन्द, आशुकवि लोग्नेका कविता मिश्रित पारिवारिक माहोलमा विष्णुलेखाले तीन छोरा जन्माइन्। जेठो छोरा श्रवण मुकारुङ। उनको नाम काफी छ। कुनै विशेषण चाहिन्न। माइला छोरा जिता वकिल भए। कान्छा छोरा हुन् राजन, जसले अनेक अनुमानलाई बजार हल्ला सावित गर्दै दोस्रो उपन्यास 'दमिनी भीर' का लागि मदन पुरस्कार जिते। 
फेसबुकमा एउटा तस्बिर छ। चिसो महिना छ। 'दमिनी भीर' हातमा लिएका मदन पुरस्कार गुठी प्रमुख कमलमणि दीक्षित छन्। छेउमा हँसिला राजन छन्। उनी आफैं भने पुरस्कारका लागि उपन्यास नलेखेको दाबी गर्छन्। 'पुरस्कारका लागि निवेदन हाल्नुपर्ने देशमा मैले पाउँछु भन्ने थिएन,' उनी भन्छन्, 'तर पाण्डुलिपि लेखिसक्दा भने पाउँछु कि भन्ने कताकता लागेको थियो। चैतसम्म छापिएका पुस्तक पढ्दा जित्ने सम्भावना देखिन्थ्यो।' 

प्रकाशक फिनिक्स बुक्सले पुस्तक दर्ता गरायो। राजन आफूले लगेर नबुझाएको बताउँछन्। 'खासमा कसरी पुस्तक बुझाउने थाहा छैन, यस्तो कुरा पुरस्कार खाइरहेकालाई थाहा हुँदो रहेछ,' उनी अरूलाई व्यंग्य गर्दै आफ्नो बचाउ गर्छन्। 

भोजपुर दिल्पामा ३८ वर्षअघि जन्मेका राजन कट्टरपन्थी हुन्। उनको कट्टरता कलात्मक पाराले सतहमा आउँछ। जस्तो कि, लेखक बन्न दुई दशकअघि काठमाडौं आएको केही समयमै उनले जब्बर घोषणा गरेे– लाखभन्दा घटीको पुरस्कार थाप्दै नथाप्ने।

यसो भन्नेसँग पुरस्कार स्वयं डराउनुपरेन? कसले देओस् लाख/लाख रुपियाँको पुरस्कार! स्कुल पढ्दाताक जिल्लास्तरीय कविता, निबन्ध प्रतियोगितामा अनेकपल्ट पहिलो पुरस्कारस्वरूप खण्डेथाल, डायरी जितिसकेका राजनले आफूलाई अरूभन्दा फरक विम्बमा उतार्न खोजिरहे। 

राजनले पाएको यो पहिलो पुरस्कार भने होइन। काठमाडौं आएपछि मात्रै उनले पाँचवटा पुरस्कार जितिसके। ती सबै पुरस्कार उनलाई आफ्नो समुदायले दिएको हो। 

पुरस्कार दिने प्रथा कति जायज छ भन्नेमा दाजु श्रवणसँग राजनको ठाकठुक परिबस्थेछ। असल मनसायबाट आर्जेका पुरस्कार थाप्दा लेखकलाई राम्रै हुने श्रवणको तर्क हुन्थेछ।

राजन परे कट्टर बागी। 'सानोमा मावलीघर खोटाङ बसेको थियो, खोटाङकै मिजास लिएर आएछ, पुरस्कारै थाप्दिनँ भन्थ्यो,' दाजु श्रवणले नागरिकसँग हाँस्दै भने, 'उसको उपन्यास मदन पुरस्कार पाउन लायक थियो, केवल पुरस्कारको इतिहास हेर्दा पाउँदैन कि भन्ने थियो, सीमान्तकृतको आवाज सम्बोधन भएको अनुभूति मिलेको छ।'

साहित्यमा प्रतिस्पर्धा हुन्छ कि हुँदैन? के भाइले प्रगति गर्दा दाजुलाई ईर्ष्या हुन्छ? श्रवणको दाबीअनुसार राजन पुरस्कृत हुँदा आफू पनि पुरस्कृत भएको अनुभूति भइरहेको छ। 'कसले भन्दा कसले राम्रो लेख्ने भन्ने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर ईर्ष्या हुँदैन,' श्रवण भन्छन्, 'के मैले बिसे नगर्चीको बयान लेख्दा वैरागी काइँलालाई ईर्ष्या हुन्छ र!'

श्रवण सम्झन्छन्– भाइ राजन बाल्यकालमा असाध्यै तीक्ष्ण थिए। नेपाली भाषामा असाध्यै बलियो पकड थियो। एसएलसी, आइए र बिए तीनै तहमा सर्वाधिक अंक नेपालीमै ल्याएका थिए। 'आफ्नै कक्षाका साथीलाई पढाएर हुर्केको मानिस हो ऊ,' श्रवण भन्छन्, 'अब तपाईं नै भन्नुहोस, ऊ कस्तो थियो?'

पुरस्कार घोषणा सुन्नेबित्तिकै श्रवणले भाइलाई गम्लङ्ग अँगालो हाले। धाप मारिबसे। खुसीमा भावुक कवि दाजु काननेर केही फुस्फुसाए। दाजुभाइको माम्लो। औपचारिक वाक्यका फुँदा बनाई बनाई के बोलिबस्नु? राजनले केही जवाफ फर्काएनन्। बच्चोझैं चुपचाप अँगालोमा कस्सिइरहे। गला अवरुद्ध भएको थियो।

राजनले मदन पुरस्कार जितेपछि नेपाली साहित्य र पुरस्कारलाई हेर्ने दृष्टिकोणमा केही बदलाव आउनेवाला छ। त्यसको सुरुवात उनी आफैंले गरिसकेका छन्। 'हाम्रा लागि होइन रहेछ भनेको पुरस्कार पाइयो,' उनले भनिसकेका छन्। पुरस्कार दिने चलनमाथि केही भन्नु छ? प्रश्नलाई उनले कुटनीतिक ढंगमा लिए। एकछिन घोरिए अनि सुरक्षित अवतरणको मार्ग रोज्दै जवाफ दिए, 'दिने घोषणा पो गरेका हुन् त। पाइसकेको छैन। मदन पुरस्कार थापिसकेपछि सोच्नुपर्ला।'

राजनलाई कता–कता डर लागेको त होइन, पोल्टामा खस्न लागेको पुरस्कार कतै सानोतिनो बोलीले चिप्लिने पो हो कि!

केवल लघुशंका।
... 
जनजाति लेखकले विरलै हात पारेको मदन पुरस्कार वामपन्थीलाई नदिइने गरेको गुनासो सुनिन्छ। राजन र उनको लेखक पंक्तिले सत्ता र वरपर बसेकाहरूले आफ्नो समुदायलाई सुविधाहरूबाट बञ्चित गरेको अभियोग वर्षौंदेखि लगाउँदै आएका हुन्। पुरस्कार स्वयंले पाएपछि दिएको अभिव्यक्ति सुनेर उनका निकटस्थ एकछिन वाल्ल परेछन्– राजन अलि बढ्तै कृतज्ञ भए कि? राजन यो आशंका धेरै लम्ब्याउने पक्षमा छैनन्। 'गोरेबहादुर खपांगी नै भइसकियो त नभनौं,' उनले व्यंग्य गरे, 'तर समाज बदलिँदैछ भन्ने चेतना पुरस्कार संस्थाहरूमा पनि पर्न थालेको हो कि, त्यसो हो भने यो सकारात्मक हो।'

पाँच वर्षअघि छापिएको राजनको पहिलो उपन्यास 'हेत्छाकुप्पा' ले पाठकहरूबीच ठूलो चर्चा पाएको थियो। त्यसले प्रशस्त प्रशंसा र आलोचना खपेको थियो। चर्को जातिवादी भएको आरोप लाग्छ राजनलाई। उनका आफ्नै तर्क छन्।

'हेत्छाकुप्पा' प्रति राजनको महŒवाकांक्षा कम थिएन। उनका निकटवर्ती मदन पुरस्कार ताकेरै राजनले लेखेको भन्ने गर्थे। राजन अहिले यो प्रश्न सकार्दैनन्। तर भन्छन्, 'हेत्छाकुप्पाले मलाई मदन पुरस्कार त दिलाएन, तर हाम्रो राई समुदायका प्रवासी चेलीहरूले मलाई मदन पुरस्कार नपाएकाले शिर उठाउन भन्दै दुई लाख पाँच हजार पाँच सय ५५ रुपियाँ हातमा राखिदिएका थिए।'
अर्थात्, मदन पुरस्कारभन्दा साढे पाँच हजार रुपियाँ बढी। शिर उठाउन।

दाजु श्रवणले 'हेत्छाकुप्पा' छापिनेबित्तिकै मदन पुरस्कार गुठीमा बुझाइदिएका रहेछन्। अरू ठाउँ पनि गयो कि! हाम्रोमा चलन बसिसकेको छ : पुरस्कारले स्रष्टा हत्तपत्त देख्दैन। स्रष्टाले द्रष्टा, पाठक र पुरस्कार सबै एक्लै देख्नुपर्छ। पछिल्लो समय सक्रिय व्यावसायिक प्रकाशकले पाठकदेखि पुरस्कार, वितरणदेखि प्रचारका क्षेत्रसँग संवाद गर्न थालेका छन्। लेखकको ढाडले आंशिक आराम पाएको छ। सानोतिनो थैलो पनि लेखकलाई मिल्न थालेको छ। हेत्छाकुप्पामार्फत् राजनले राम्रै चुनदाम हत्याए तर मदन पुरस्कारचाहिँ सपनै भयो।

यसपालि भने आधा घन्टा त राजनले पत्याएनछन्। फोनमा बधाई आएको आयै छ। धन्यवाद फर्काउनु कसरी! नपत्याउनुको भावभूमि रहेछ। 'जसले पहिलो खबर दियो, उसैका कारणले पत्याइएन,' राजनले खबरदाताप्रति पनि श्याम व्यंग्य कसे। 
दमिनी भीर छापिनेबित्तिकै ती खबरकर्ताले फेसबुक वालमा लेखेछन्, 'जनजाति लेखकहरू क्षेत्रीबाहुनलाई गाली लेखिरहेछन्। यिनले पनि पक्कै गाली गरे होलान्। त्यसैले यो किताब पढ भनेर सुझाउँदिनँ।'

राजन थप्छन्, 'अनि उही मान्छे आएर तैंले मदन पुरस्कार पाउने भइस् भन्दा को पत्याओस्!'

बीस वर्षयता लेखिरहेछन् राजन। सात कृति छापिइसके। कविताबाट यात्रा थालेका उनको आफ्नै पहिचान बनिसकेको छ। तै पनि दाजु श्रवणको 'हेभीवेट' कवि–वजनको किचाघानमा परेको अनुभूति कताकता हुँदो रहेछ।
त्यस दमित अनुभूतिले तब निकास पायो, जब राजनको भेट अर्का युवाकवि हाङयुग अज्ञातसँग भयो। पचासको दशकमा चर्चित 'सृजनशील अराजकता' उनीहरूको साझा सुस्केरा बन्न पुग्यो। कवि उपेन्द्र सुब्बा पछि त्यस अभियानसँग जोडिए।
यी तीनले साहित्यमा 'वैचारिक अनेकानेक' हुनुपर्ने, 'नश्लीयबोध' हुनुपर्ने, 'सिर्जनात्मक वैविध्य' हुनुपर्ने जिरह गरिबसे। यसले उनीहरूलाई राष्ट्रव्यापी चर्चा दिलायो। चर्को जातिवादी भएको आरोप छँदै थियो। उनीहरू भने कालान्तरमा आफ्ना मुद्दा नेपाली समाजले ग्रहण गरेको भन्दै सन्तुष्ट छन्। 

'सृजनशील अराजकता' कवितामार्फत् बढी मुखरित भएको थियो। उपेन्द्र कथा लेख्थे। राजन अनुसन्धानतिर पनि रुचि राख्थे। वैकल्पिक इतिहास र आफ्ना मिथक घुसाउँदै लेख्नु उनीहरूको अभीष्ट थियो। अहिले हाङयुग हङकङ बस्छन्। उपेन्द्र दमक बस्छन्। राजन काठमाडौं। तितरबितर छन्, तै पनि तीनैजना चर्चामा छन्। साझा आन्दोलन भने मृतप्रायः छ। 

'श्रवण दाइको ब्रान्ड भ्यालु ठूलो थियो, त्यही भएर पनि आन्दोलनले हामीलाई स्थापित गर्न सघाउला भन्ने परेको थियो,' राजन विगतमा फर्कन्छन्, 'दमिनी भीर आइसकेपछि अब सहज हुन्छ भन्ने लागेको थियो।'
अनेक आकलनलाई माथ गर्दै मदन पुरस्कार उनको पोल्टोमा गएको घोषणा भयो। बजारले बाँडेका सूचीमा अनेक नामहरू थिए। मदन पुरस्कारको परम्परामा 'अफबिट' पुस्तक कहिल्यै सूचीकृत थिएन्। उनले पाउने कल्पना सायद कसैले पनि गरेको थिएन।

मदन पुरस्कार घोषणा भएको भोलिपल्टै अर्थात्, आइतबार त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागले बोलाएको एक कार्यक्रममा भाग लिन गए राजन। उनले त्यहाँ पनि ठोकिहाले, 'त्रिविमा आएर एमए पढ्ने रहर थियो, तर मेरा पुर्खाको अठार धार्नी नाककान काटिएको कीर्तिपुरमा यो अवस्थित छ, त्यसैले आइनँ। अझै कताकता डर लाग्छ।'
जब्बर राजनले अरू ठाउँमा झैं त्यहाँ पनि आलोचना खपे। तर आलोचनाको ग्राफ पहिलेभन्दा घटेको थियो। मदन पुरस्कारले दिलाएको अनुमोदनले उनको मनोबल झन् बढेको थियो। सहभागीहरूलाई केही भन्न मन थियो कि! अघिल्लो दिनमात्रै घोषित पुरस्कारको ताप, राप, प्रकाशले उनीहरूका आँखा तिर्मिराइसकेका थिए।

त्यसो त 'दमिनी भीर' छापिनेबित्तिकै राजनप्रति 'मिडिया अटेन्सन्' ह्वात्तै बढेको थियो। 'पत्रिकाका हरेक शनिबारे संस्करणमा मेरो र कृतिको नाम कहीँ न कहीँ परेकै हुन्थ्यो, पढ्नैपर्ने पुस्तकमा नाम परेकै हुन्थ्यो,' राजन भन्छन्, 'समाचारमा चर्चा भइरहन्थ्यो। पुरस्कारदाताको ध्यान त्यसले पनि तान्यो कि!'

मदन पुरस्कार वितरण समारोहको आफ्नै खालको परम्परा छ। किस्तीबाट दिइने पुरस्कार थाप्न निश्चित मापदण्डको पोसाक र शैलीमा लेखक मञ्चमा उक्लिने गर्छ। बागी लेखनका यी अभियन्ताले अब के गर्लान्? के उनी अरूझैं दौरासुरुवाल भादगाउँले टोपीमा मदन पुरस्कार थाप्न जालान्? वा आफ्नो जातीय पहिरनमा जालान्? राजनको जवाफ भने अस्वाभाविक रूपमा स्वाभाविक छ। 'म अरू बेला जसरी हिँडडुल गर्छु, त्यही लुगा लगाएर पुरस्कार थाप्न जान्छु,' उनी भन्छन्, 'पुरस्कारदाताको भनाइमा मलाई लाग्नु छैन। अरूको भनाइमा पनि किन लाग्नु!'

'लेखककी स्वास्नी'। यस वर्ष पाठकहरूबीच उल्लेख्य चर्चा बटुलेको पुस्तक लेख्ने प्रगति राई राजनकी पत्नी हुन्। आइतबार साँझ यो पंक्तिकारले राजनसँग भेट्दासम्म उनको कोरियावासी पत्नीसँग कुराकानी हुन पाएको रहेनछ। 'बिहान बूढीले फोन गरेकी थिइछ, मैले उठाउन पाइनँ,' उनी ठट्यौली गर्छन्, 'पछि यताबाट गर्दा उता बुझिएन भन्दै थिई। ऊ पनि स्रष्टा नै हो, त्यही भएर कताकता प्रतिस्पर्धाको भावना पो पलायो कि?' पतिले मदन पुरस्कार जितेकामा उनको टिप्पणी के थियो होला! 
यसअघि पनि पुस्तक लेखिसकेकी प्रगतिसँग राजनको लगनगाँठो जोडिएको प्रसंग रोचक छ। उनी रहिछन्, मामाको छोरीकी साथी। साथीसँग भोजपुर घुम्न आएकी खोटाङे युवती पहिलो नजरमै मन परेछ राजनलाई। मन त पर्‍यो, तर अब के गर्ने! कसरी भन्ने!
कवि राजनले झटपट आफ्ना कविताको डायरी पढ्न दिएछन्। प्रगति पनि कवि। कवि प्लस कवि। केमेस्ट्री मिल्यो। प्रेमस्रेम गरिबस्ने झ्याउलोमा उनीहरू फसेनन्। १७ वर्षका राजनले आफ्नै उमेरकी युवतीसँग बिहे गरे। आज उनीहरूसँग दुई छोरा छन्, २१ वर्षे नियोन र १९ वर्षे साम्योक। 

राजनले मदन पुरस्कार पाएपछि उनको समुदायका थुप्रै नयाँ लेखक उत्साहित भएका छन्। राजनलाई बधाई दिनेहरूमध्ये सबका सब सुखद आश्चर्यमा परेको टिप्पणी गरिरहेका छन्। 
राज्यले सर्वाधिक ठूलो मानेको पुरस्कार र मूल्यांकनको घेराभन्दा आफ्नो लेखन बाहिर परेको ठान्नेहरूले आफ्नो मान्यतामा पूनर्विचार गर्न थालेको राजनको भनाइ छ। 'हाम्रो समुदायले मदन पुरस्कार पाउँदैन भन्ने परेको रहेछ सबैमा,' उनी भन्दै गए, 'मैले पाउँदा खुसी हुनुपर्ने, सुरुमा त स्तब्ध पो भएछन्।'
छोरा साम्योक भन्दै थिए– देशको सबसे ठूलो पुरस्कार बुबाले पाउनुभएछ। राशी पनि निकै छ।'

तर आमा विष्णुलेखा स्तब्ध छैनन्। कवि पतिबाट पाएका घाउका डोब गनेर बसेकी उनी आफ्ना दुई छोरा पनि कवि नै भएकामा सुरुमा दिक्दार थिइन्। जेठा छोरा श्रवणले देश–विदेशका नेपालीमाझ ठूलो सुनाम कमाएका छन्। उनी आफैंमा नेपाली कविता र गीतको एक धरहरा भइसकेका छन्। कान्छा छोराले छोरा त्यसैको छेउमा अर्को धरहरा उभ्याइदिएका छन्। दुई धरहराबीच उभिएर आमा आफ्नो ७१ औं जन्मदिन मनाइरहेकी छिन्। जन्मदिन आउन पाँच दिन बाँकी छँदा कान्छाले मदन पुरस्कार जिते। बूढी आमाका लागि योभन्दा ठूलो हर्ष के हुन सक्छ!
सबै कवि एकैनास हुँदैनन्। आँखा र समय दुवैबाट धोका बेहोर्नुपरेपछि रामायण पढ्न छाडेकी थिइन्, दुई भानुभक्तकी आमा विष्णुलेखाले। उनी चस्माको पावर मिलाएर फेरि पढ्ने सुरमा छिन्।

प्रकाशित: १२ आश्विन २०७० ०२:०९ शनिबार