अन्य

एन्फा अध्यक्षमा गणेश थापा पक्कापक्की, उपाध्यक्षमा चुनाव हुने

काठमाडौं— नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा पहिलो पटक निर्वाचन हुने सम्भावना बढेको छ। सधै सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै आएको एन्फाको कात्तिक ७ मा हुने साधारणसभामा अध्यक्ष पदमा गणेश थापा नीर्विरोध हुने पक्काजस्तै हुँदा उपाध्यक्ष र सदस्यमा चर्को प्रतिस्पर्धा हुने भएको छ।

उमेदवारी दर्ताको लागि एक दिन समय बाँकी रहँदा बुधबारसम्म ८ उपाध्यक्ष पदका लागि १९ तथा २२ सदस्यका लागि ३४ को उमेदवारी परेको छ । अध्यक्षमा बुधबारसम्म थापाको मात्र उमेदवारी परेको छ । थापा २०५२ देखि लगातार एन्फाको नेतृत्व गरिरहेका छन् । साधारणसभाले आगामी चार वर्षका लागि १ अध्यक्ष, ८ उपाध्यक्ष तथा २२ सदस्य गरी ३१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

वर्तमान कार्यसमितिका सबै आठ उपाध्यक्षले निरन्तरताको योजनासहित उमेदवारी दर्ता गराउँदा बाँकी १२ मध्ये ११ जना कार्यसमितिकै छन् । फ्रेन्ड्स क्लबका अध्यक्ष रत्नशम्शेर राणामात्र एन्फा उपाध्यक्ष पदमा कार्यसमिति बाहिरका उमेदवार हुन् । सदस्य पदका ३४ उमेदवारमध्ये १२ जना वर्तमान कार्यसमितिका सदस्यल हुन् । वर्तमान कार्यसमितिका सदस्यद्धय वशन्त अर्याल र गणेश चन्दले उपाध्यक्ष र सदस्य दुवैमा दावेदारी प्रस्तुत गरेका छन् ।

राणाले लामो समय फुटबलमा आबद्ध भएकाले उम्मेदवारी दिएको बताउँदै आफू एन्फा नेतृत्वमा पुगे क्लबलाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले उम्मेदवारी फिर्ता नगर्ने प्रष्ट पारेका छन् । राणाले उमेदवारी फिर्ता नलिने बताएपनि एन्फाको वर्तमान नेतृत्व भने सबै पदमा सर्वसम्मत गराउने कसरतमा छ । एन्फाका एक वरिष्ठ पदाधिकारीका अनुसार धेरैले उमेदवारी फिर्ता लिने सम्भावना छ । तर, उनले नीर्विरोधको सम्भावना भने कम भएको स्विकारे ।

'धेरैले फिर्ता लिने सम्भावना छ,' उनले भने, 'तर, नीर्वारोध हुने सम्भावना कम छ । एन्फामा पहिलो पटक निर्वाचनको माहौल देखिएको छ । दुई जनाले दोहोरो उम्मेदवारी दिएका छन् । वसन्त आर्याल र गणेश चन्दले उपाध्यक्ष र सदस्य दुवैतिर दाबेदारी प्रस्तुत गरेका छन् ।

उपाध्यक्ष र सदस्य दुवै पदमा दावेदारी प्रस्तुत गरेका चन्द र अर्यालले आवस्यकताअनुसार अन्तिम समयमा कुनै एकबाट फिर्ता लिन सक्ने बताए । 'मभन्दा कोही सिनियर देखिए उपाध्यक्षबाट फिर्ता लिन पनि सक्छु । अवस्थाअनुसार सदस्यबाट फिर्ता लिन पनि सकिन्छ,' अर्यालले भने । चन्दले भने, 'आवस्यकताअनुसार एउटामा फिर्ता लिन्छु । फुटबलमा काम गर्ने नै हो । १७ वर्ष भयो फुटबलमा काम गरेको, त्यसैले फुटबलबाट बाहिरिन चाहेको होइन । एउटामामात्र उमेदवारी कायम रहन्छ ।'

निर्वाचन समितिका सदस्य राजाराम ढकालले उपाध्यक्षका लागि २१ र सदस्यका लागि ३५ वटा फारम गएको बताए । उनले भने, 'त्यसमध्ये उपाध्यक्षमा १९ र सदस्यमा ३४ जनाको उमेदवारी दर्ता भइसकेको छ । दोहोरो उम्मेदवारी दिन नमिल्ने उल्लेख गर्दै ढकालले बिहीबारबाट उम्मेदवारी प्रक्रियामा छानविन हुने बताए । 'एन्फा विधान र नीर्वाचन नीर्देशिकाका आधारमा उम्मेदवारी छानविन हुनेछ,' उनले भने, 'प्रक्रिया पुगेको सदर र नपुगेको बदर हुनेछ । दोहोरो उम्मेदवारी दिनेलाई पहिला फिर्ता लिने अवसर दिनेछौं । फिर्ता नभए पहिलो दर्ता भएकोलाई मात्र सदर गर्नेछौं । '

एन्फा साधारण सभामा २ सय भन्दा बढीको सहभागिता रहने भएपनि मताधिकार ७१ जनासँग मात्र रहनेछ ।

हरेक जिल्लाका १–१ गरि ४५, १४ 'ए' डिभिजन क्लबका १–१ गरि १४, 'बी' डिभजनबाट ५, 'सी' डिभिजनबाट ३, खेलाडी, प्रशिक्षक, रेफ्री, महिला समितिबाट १–१ गरि ४ जनासँग मताधिकार रहनेछ । एन्फा कार्यसमितिका पदाधिकारी वा सदस्यसँग मताधिकार छैन ।

३१ सदस्यीय केन्द्रिय कार्यसमितिका लागि


उपाध्यक्षका उम्मेदवार

१) विजयनारायण मानन्धर (वर्तमान उपाध्यक्ष)

२) किशोर राई (वर्तमान उपाध्यक्ष)

३) बसन्त अर्याल (वर्तमान सदस्य)

४) सुनिल राणा (वर्तमान सदस्य)

५) किरण राइ (वर्तमान सदस्य)

६) दीपक खाती (वर्तमान सदस्य)

७) गोवद्र्धनसिंह सम्झना (वर्तमान सदस्य)

८) हरि श्रेष्ठ (वर्तमान सदस्य)

९) कुमार थापा (वर्तमान उपाध्यक्ष)

१०) नरेन्द्र श्रेष्ठ (वर्तमान उपाध्यक्ष)

११) महेश विष्ट (वर्तमान उपाध्यक्ष)

१२) गणेश चन्द (वर्तमान सदस्य)

१३) मणी कुवर (वर्तमान सदस्य)

१४) दीपक लम्साल (वर्तमान सहायक महासचिव)

१५) वीरबहादुर खड्का (वर्तमान सदस्य)

१६) रत्नशम्सेर राणा (फ्रेन्ड्स क्लब अध्यक्ष)

१७) ललितकृष्ण श्रेष्ठ (वर्तमान उपाध्यक्ष)

१८) कर्मा छिरिङ शेर्पा (वर्तमान उपाध्यक्ष)

२९) सुनिल कपाली (वर्तमान उपाध्यक्ष)

सदस्यका उम्मेदवार

१) रमेश रायमाझी (वर्तमान सदस्य)

२) दीनेश व्यञ्जनकार (वर्तमान सदस्य)

३) मधुसुदन उपाध्याय (वर्तमान सदस्य)

४) बसन्त आर्याल (वर्तमान सदस्य)

५) गणेश चन्द (वर्तमान सदस्य)

६) रत्नकुमार श्रेष्ठ (वर्तमान सदस्य)

७) पंकज नेम्वाङ (वर्तमान सदस्य)

८) पूर्णमान चित्रकार (वर्तमान सदस्य)

९) मोहम्मद समी उल्लाह (वर्तमान सदस्य)

१०) राजु श्रेष्ठ (वर्तमान सदस्य)

११) प्रल्हाद शाह (वर्तमान सदस्य)

१२) पुरुषोत्तम अधिकारी (वर्तमान सदस्य)

१३) प्रकाश विष्ट (कैलाली)

१४) भीम थापा (कञ्चनपुर)

१५) अकोश विष्ट (ललितपुर)

१६) बाबुकाजी बस्नेत ( दोलखा)

१७) किरण गिरी ( मोरङ)

१८) विश्व पौडेल ( लम्जुङ)

१९) सन्तोष बानियाँ (मोरङ)

२०) सन्तोष भक्तराज (इलाम)

२१) युवराज श्रेष्ठ (बर्दिया)

२२) सुरेश लिगल (पाल्पा)

२३) शत्रुघन राजभण्डारी (काठमाडौं)

२४) रविन्द्र कोजु श्रेष्ठ (काभ्रे)

२५) प्रकाश पंगेनी (नवलपरासी)

२६) देवन्द्रमान सिंह बस्नेत (सप्तरी)

२७) नेपाल कार्की (रौतहट)

२८) नवीन चित्रकार (काठमाडौं)

२९) सुरेश शाह (पाँचथर)

३०) प्रविनकुमार यादव ( सिरहा)

३१) अनिल रुपाखेती

३२) प्रदेशसिंंह राठौंर (बाँके)

३३) गौतम सुखजु (भक्तपुर)

३४) नहकुल हमाल (काठमाडौं)

प्रकाशित: ८ आश्विन २०७० २३:२५ मंगलबार