अन्य

पेस्तोल देखाएर चन्दा असुल्ने ३ जना पक्राउ

कमल थापा, रुकुम, फागुन २२ - स्थानीय व्यापारीहरुलाई पेस्तोल देखाएर चन्दा असुल्ने गिरोहका ३ जनालाई रुकुम प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएकामा हुकाम गाविस-१ का २२ वर्षीय किस्मत बुढामगर, सोही ठाउँका २२ वर्षीय नविन घर्ती र मैकोट गाविस-३ का लक्षिण पुन रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।  

बिहीबार पूर्वी रुकुमको रुकुमकोट गाविसस्थित स्थानीय धाउने बजारमा पेस्तोल देखाएर जबरजस्ती तरिकाले अवैधरुपमा चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। अभियुक्तहरुबाट १ थान अमेरिकन पेस्तोल, म्यागजिन र ५ राउण्ड गोली, जबरजस्ती चन्दा संकलन गरेको २२ सय नगद रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए।
अभियुक्तहरुले भने माओवादी जनयुद्धको समयमा तत्कालिन समयमा माओवादीको हतियार चोरको बयान दिँदै आएका छन्। आतंकित भएका स्थानीय व्यापारीहरुले प्रहरीलाई खबर गरेपछि उनिहरुलाई इलाका प्रहरी कार्यालय रुकुमकोटबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको थियो। उनीहरुको रुकुमकोट प्रहरी चौकीको गस्ती टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेसँग आवश्यक अनुसन्धान गरी हात हतियार खरखजाना मुद्धा दायर गरिएको छ।
पेस्तोल देखाएर व्यापारीबाट रकम उठाउँदै गर्दा उनीहरु रंगेहात पक्राउ गरिएको थियो। यसैबीच रुकुम जिल्ला भित्र हातहतियार सम्बन्धित घटनाहरु बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको अगुवाइमा अवैध हतियार संकलन अभियान थालिएको छ।
प्रहरीले त्यस्ता अवैध हतियार वुझाउन ३० दिनको म्याद जारी गरेको छ। यस अवधिमा अवैध हतियार वुझाउनेलाई आम माफी दिने बताइएको छ। गाउँमा लुकाइछिपाइ रहेको अवस्थाका अबैधहरुको प्रयोगले व्यक्ति हत्या, अंगभंग जस्ता घटनाहरु बढेका छन्। जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय र सर्वपक्षीय बैठकले जिल्लालाई अवैध हतियार मुक्त बनाउने अभियान थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
‘अवैध हात हतियारले गाउँघरमा चोरी डकैती र व्यक्तिको ज्यान नै लिने अवस्था आएपछि यस्तो अभियान थालिएको हो,' निमित्त प्रजिअ भण्डारीले भने, ‘३० दिन भित्र प्रहरी प्रहरीका विभिन्न युनिट र जिल्ला प्रशासन कार्यालयमा अवैध हतियार बुझाउनेलाई आम माफी दिइने भएको छ । त्यसभन्दा पछि भेटिएमा कडा कारबाही हुन्छ।' केहि महिना यता अवैध बन्दुक पड्काएर एक जना महिलाको मृत्यु भएको छ भने, एक जना बालिका छर्रा लागेर गम्भिर छिन् ।
चोरी शिकारी गर्दा यस्ता घटना हुने गरेका छन् । केहि समय यता रुकुमको पुर्वी भेगमा अज्ञात व्यक्तिहरुबाट लुटपाटका घटनाहरु बढेका छन्। हतियारधारी भेटिन थालेपछि रुकुम प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रकाशित: २२ फाल्गुन २०६९ ०५:४० मंगलबार