बन्दुकको नालबाटमात्र क्रान्ति सफल नहुने देखेपछि माओवादी संसदीय राजनीतिमा विश्वास गर्ने दलहरूसँग मिलेर निशस्त्र आन्दोलनमा होमियो। सशस्त्र विद्रोहको आडमा भएको दोस्रो जनआन्दोलनपछि माओवादी शान्तिपूर्ण राजनीतिक मैदानमा आउन सफल भयो। संविधान सभा निर्वाचनमा ब्यालेटमा पनि आफ्नो शक्ति प्रदर्शन गर्न सफल माओवादी देशको ठूलो दल हुन पुग्यो। संविधानसभा विघटन, पार्टी विभाजन हुँदा पनि नेपालको राजनीति माओवादी वरिपरि नै घुमिरहेको छ। यसकै कारण हो- माओवादी नेतृत्वले व्यक्त गर्ने विचार र पार्टीले लिने अडानमा सबैको ध्यान एकैनासले खिचिने गरेको छ। एनेकपा माओवादीको सातौँ महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत दस्तावेज र उनले भाषणमा व्यक्त गरेका विचारहरूमाथि अहिले सबैतिर एकनासले छलफल र चर्चा भइरहेका छन्। महाधिवेशनको बन्दसत्रमा कार्यकर्ताले बरु कमै छलफल गरे होलान्, तर अन्यत्र यसको बढी नै हल्लाखल्ला छ।
अध्यक्ष प्रचण्डले 'अब पनि बन्दुक बोक्ने कुरा गर्नु वीर शहीदहरूप्रतिको घोर अपमान हो' भन्दै शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा आफूलाई दह्रोसँग उभ्याउन गरेको प्रतिबद्धतालाई सबै पक्षबाट स्वागत गरिएको छ। उनले दस्तावेजमा पार्टीलाई उत्पादनतिर लगाउने र आर्थिक विकास र वृद्धि हासिल गर्ने नयाँ कार्यक्रम अगाडि सारेका छन्। माओवादीले गर्ने सभा सम्मेलन तथा बैठकमा पनि केही रचनात्मक काम गरेर देखाउने गरेको छ। गोरखाको पालुङटारमा भएको विस्तारित बैठकका लागि माओवादीले उजाड टारमा कटुसका छाप्रा बनाएर गर्न खोज्यो भने जुनसुकै ठाउँमा पनि केही गरेर देखाउन सकिन्छ भन्ने प्रमाणित गरेको थियो। अस्थायी नै भए पनि पालुङ टारमा माओवादीको काम त्यतिबेला प्रशंसित भएको थियो। अहिले सातौँ महाधिवेशन हेटौँडाको बन्द औद्योगिक क्षेत्रमा गरेर माओवादीले आफूलाई पुनःनिर्माणको पक्षमा उभ्याएको छ। बन्द रहेको कलकारखान सरसफाई गरेर चिटिक्क पारेको माओवादीले दस्तावेजमा भनेजस्तै गर्यो भने यी कलकारखाना सञ्चालन हुने दिन पनि आउनेछन्। क्रान्ति र आन्दोलनले मात्र देश र जनता समृद्ध हुने होइनन्। राजनीतिक परिवर्तनको हिसाबले हामीले निकै ठूलो फड्को मारिसकेका छौँ। तर, ती परिवर्तनले जनताको जीवनस्तरमा ताŒिवक अन्तर ल्याउन नसकेका कारण नै हामी संक्रमणकालमा रहँदारहँदै अर्को आन्दोलनका लागि होमिन बाध्य हुने गरेका छौँ। क्रान्ति र आन्दोलनमात्रैले हामी कतै पुग्न सक्दैनोँ भन्ने प्रचण्डको निष्कर्षलाई चियागफमा उडाउनुभन्दा पुनःनिर्माण तथा उत्पादनमुखी अभियानमा लाग्ने हो भने हामीले प्राप्त उपलब्धिको संस्थागत संरक्षण गर्न सक्छौँ।
अध्यक्ष प्रचण्डको दस्तावेजमा उल्लेख भएका कुरालाई लिएर अहिले कांग्रेस तथा एमालेका नेताहरू यी कुरा हाम्रा नेताले आजभन्दा साठी वर्षअगाडिदेखि भन्दै आएको भनेर त्यसमा बीपीको समाजवादी चिन्तन र मदन भण्डारीको जनताको बहुदलीय जनवादको लेप लगाउने प्रयास पनि गरिरहेका छन्। कतिपयलाई एनेकपा माओवादीले उग्र क्रान्तिकारी कुरा नगरेकोमा दुःख पनि लागेको छ। आखिर त्यही पुरानै ठाउँमा फर्किनुरहेछ भने किन माओवादीले दसौँ हजार मानिसको ज्यान जाने युद्ध गरेको? राजनीतिक छलफलमा यस्ता प्रश्न उठ्न थालेका छन्। लोकतन्त्रवादीहरू आफ्नो ठाउँ माओवादीले लिने पो हो कि भनेर डराउने, लोकतन्त्रमा विश्वास गर्ने कम्युनिस्ट भनेर चिनाउन रुचाउने एमालेजस्ता पार्टीहरू माओवादीलाई उग्रवामपन्थीको बिल्ला भिराउन नपाउँदा आफ्नो 'स्पेस' अतिक्रमणमा पर्ने पो हो कि भनेर डराउन थाल्ने हो भने राजनीति फेरि पनि प्रतिस्पर्धात्मक बाटोतिर जान सक्दैन। माओवादी अब कम्मर कसेर प्रतिस्पर्धाको राजनीतिमा आउन खोजेको देखिन्छ। यस्तो बेलामा निषेधवादी चिन्तनबाट अन्य दल मुक्त हुनुपर्छ। लोकतन्त्रमा विश्वास गर्नेका लागि यो भन्दा खुशीको क्षण अर्को कुन हुनसक्छ? जो बन्दुकको बलमा राज्यसत्ता कब्जा गर्छु भन्दै हिँडेको थियो, ऊ नै शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अगाडि बढ्न हतारिएको बेलामा अरू दलले पनि हातेमालो गरेर अगाडि बढ्न सक्ने हो भने हामी प्रगतिपथमा लम्कन सक्छौँ।
पार्टीको स्थानीय कमिटीदेखि नै उत्पादनमूलक काम गर्नुपर्ने प्रचण्ड प्रस्तावको व्यावहारिक कार्यान्वयन हुन सक्यो भने वास्तवमै यो नयाँ ढंगको क्रान्ति हुनेछ। उत्पादन नगर्ने कमिटीलाई पार्टीले मान्यता नदिने प्रचण्डको प्रस्ताव वास्तवमा पुनःनिर्माणमा जाने विन्दु हो। पहिला भत्काएका कुरा बनाउने माओवादी प्रयासलाई सबैले साथ दिनुपर्छ। माओवादीको यो उत्पादन यात्रालाई 'रिस्क जोन' भनेर टिप्पणी गर्नेहरू पनि छन्। एक हिसाबले यो माओवादीका लागि 'रिस्क जोन' नै हो। सशस्त्र विद्रोहका क्रममा माओवादीले पार्टी-कार्यकर्तालाई हुनेको खोसेर नहुनेले खानुपर्छ भनेर सिकाएको थियो। पुँजीपति वर्गको खोसेर मजदुर वर्गमा बाँड्ने उसको रणनीति उत्पादनमूलक क्रान्तिको 'फेज'मा काम लाग्दैन। उत्पादनमूलक अभियानका लागि पुँजीपति वर्ग र मजदुर नङ र मासुको जस्तो सम्बन्ध बनाएर अगाडि बढ्न सक्नुपर्छ। आजका दिनसम्म बन्दहडताल, धम्की, त्रासको आडमा खाइरहेका अधिकांश कार्यकर्तालाई पसिना चुहिनेगरी श्रममा लगाउन निकै कठिन छ। अध्यक्ष प्रचण्डले निकै साहस बटुलेर उत्पादनको नयाँ सूत्र ल्याएका छन्। यसमा पार्टीका अन्य नेता तथा कार्यकर्ताको सहयोग हुने हो भने माओवादी पक्कै पनि नयाँ ढंगको कम्युनिस्ट पार्टी बन्नेछ। अन्यथा यो पनि कहिले कांग्रेसतिर तानिने कहिले एमालेतिर लहसिने गर्दागर्दै भुत्ते हुनेछ। उत्पादनका लागि बिग्रेडिएर बनाउने माओवादी योजनालाई कतिपयले सैन्य शब्दावली त्याग्न नसकेको रूपमा बुझेका छन्। तर, माओवादीले सहकारीमार्फत आर्थिक विकासमा लाग्ने जुन इच्छा देखाएको छ, यसमा अन्य दलको पनि साथ र सहयोग रहनुपर्छ। राजनीति गर्ने भनेपछि सधैँ आयआर्जनको मामिलामा निरपेक्ष बस्ने र चन्दा असुलेकै भरमा पार्टी र कार्यकर्ताको भरपोषण गर्ने परिपाटीकै कारण हाम्रो राजनीति निरन्तर कमजोर हुँदै गएको हो। यसबाट मुक्त हुन पनि उत्पादनमुखी नयाँ आन्दोलनमा सामेल हुन जरुरी छ।
प्रकाशित: २८ माघ २०६९ ०३:४१ आइतबार