अन्य

मध्यरातमा देश खोज्दा

रमेश सायन-

मध्यरातमा मस्त सुतेको सहर सुम्सुम्याइ हिँड्नुको मज्जा बेग्लै छ। हामी हिँड्दै गरेको यो सडक किनारबाट धेैरै घर फर्किसकेका छन्। रत्नपार्क दिनभरको थकाई मारेर मस्त निद्रामा छ।

चकमन्न मध्यरात। जून टाउकोबाट ओरालो खसिरहेछ। रत्नपार्कको पुलमुनि भुस्याहा कुकुरहरू निदाइसकेका छन्। म र एक कवि मित्र पुलबाट आँखामा जून तानिरहेछौँ। मैले यति शान्त सहर कहिल्यै देखेको थिइनँ। सहरसँग पनि शान्त हुने फुर्सद हुँदोरहेछ!
पुलको मध्यभागमा एक पुलिसले मापसे चेक गर्यों। सोध्यो- 'सय रूपैयाँ तिर्ने कि भोलि बिहानसम्म थुनिने?' मेरा कवि मित्रले सहरको शान्ति बिथोल्दै भने- 'वी आर इन्टरनेसनल फोटो जर्नालिस्ट, के तिम्रो पनि फोटो खिचेर भोलि छापिदिऊँ?'
मेरा मित्रले थपे- 'डन्ट टच आवर फ्रिडम, यो सहरमा हाम्रो पनि अधिकार छ दुई-चार पाइला हिँड्ने, तिमीले हामीसँग के आधारमा सय माग्यौ? हिँड म तिम्रो हाकिमसँग कुरा गर्छु।' पुलिस सडक ल्याम्पोस्टमुनि उभिएर एक हातले अनुहार छामिरहको थियो। सायद सोच्दै थियो होला यो रातमा सय रूपैयाँ पनि नदिनेसँग कसरी भेट भयो! सम्झँदै थियो होला- 'बोर्डिङ पढ्ने छोराको फि, श्रीमतीको तिजको दर खर्च वा दशैं पेस्की, मन्सुली चामलको भाउ, तलबको स्केल, हाकिमको अनुहार र बढुवाको सूची पत्र...।
मैले हिँड्ने बेला भनेँ- 'थ्यांक्स् फर योर ड्युटीज।
दरबार हाइस्कुल ङिच्च दाँत देखाएर रानीपोखरी हेरिरहेको थियो। स्कुलको छानो माथिबाट हवाइजहाज उडेर गयो सायद आफ्नै विद्यार्थी बोकेर मलेसिया, दुबई, कतार वा साउदी उडिरहेको थियो होला। हवाइजहाजको आवाजले ब्युँझिएको कुकुर एकपल्ट उभिएर फेरि सुत्यो।
रात ओरालो खस्ने क्रममा छ। रानीपोखरी सामुन्ने घण्टा घरले एक बजेको घण्टी ठोक्यो।
सहरसँग विचित्रको अनुभव छ। तीन ठिटौले तन्नेरीहरू नेपाली फिल्मको पोष्टर र केही राष्ट्रवादी नारा लेखिएका पहेंला पम्प्लेट जमलका भित्तामा टाँसिरहेका छन्। सहर निदाएको बेला प्रचारको अर्थ अमूर्त छ। मेरा धेरै कवि मित्र सहरलाई बातैपिच्छे गाली गर्छन् तर सहर छोडेर गाउँ फर्कदैनन्।
रातभर सहर घुम्ने योजना छ। एक फन्को दरबार मार्ग। ठमेलको गल्ली, टुँडिखेल र बिहान घाम उदाउँदा सहिद गेट पुगेर सम्झनु छ देश।
सहरमा निदाउन बाँकी ठमेल मात्रै भेटियो। उफ! ठमेल कति मेहनत गर्छ, रातभर। ठमेल श्रमजीवीको विम्बजस्तो देखियो। यता कतै मार्क्स, लेनिल, चे ग्वेभारा, प्रचण्ड भेटेँ भने एक पेग लिएर चियर्स गर्नु छ। र, भोलि बागबजारको पुरानो गल्लीमा बसेर साथीहरूलाई गफ हान्नु छ। के बेर, बुद्ध शान्ति खोज्दा-खोज्दै थाकेर यतै आइपुगेका छन् कि! मध्यरातमा कसले देख्छ, पैगम्बर मोहम्मद मस्जिदबाट उम्केर आइसके कि! जिसस क्राइस्ट धेरैपल्ट क्रिसमस डेमा प्रमुख अतिथि बनेर ठमेल आएको भेटेको छु। कृष्ण र ठमेलको त पुरानै सम्बन्ध हो, उनी रासलीला गरिरहेको अवस्थामा ठमेलमै भेटिने हुन् कि!
हाम्रै अघिल्तिरबाट चार सुन्दरी च्यापेर एक मान्छे गयो। उसको हाउभाउ कृष्णको जस्तै थियो। 'यो सहरमा रातभर हिँड्ने कसको आँट, कि कवि हुनु पर्यो् कि पागल।' मेरा मित्रले भने।
उनले ठमेलको छातिमा उभिएर हेरे- आफ्नो हातको सुनको बाला, घाँटीको सिक्री, झोलाको क्यामेरा, र भने- 'सायन जी अलि असुरक्षित भइन्छ कि।' मैले भनेँ- 'फटाहाहरूलाई थाहा छ, पैसा हुनेहरू यसरी रात-रातभर घुम्दैनन्।'
टुँडिखेल र सहिद गेट पुग्न बाँकी नै छ।
एक फन्को त मार्नै पर्यो् र सम्झनु पर्यो सैनिकको आदेश र राष्ट्रपतिलाई देखाइने परेडको झलक। सम्झनु पर्योर सैनिक दिवस र प्याराग्लाइडिङबाट ओर्लदै गरेको सैनिक अनुहार। सहिद गेटका सालिक तर्सने गरी पड्काइएको तोपको सलाम।
धरहराको छायाँ झन्डै टुँडिखेलसम्म आइपुगेको छ। भीमसेन थापाले गणतन्त्र देख्न पाएनन्। तर, यो भीमसेन स्तम्भले हरेक साल गणतन्त्र दिवसको तमसुकमा किनाराको साक्षी बस्न पाएको छ।
कवि मित्र चूपचाप छन्। सायद उनले खोजेको शान्ति भेटेछन् क्यार। कुनै दिन मेरो देशका शासकले भन्नेछन् 'चाहेजस्तो शान्ति पाउने भए मध्य रातपछि टुँडिखेलमा उभिनु।
हामी सहिद गेट पुग्यौं। चारै सहिदले एकै मुखमा गाली गरे- 'दिनभरि गाडीको घाईघुर्ईं, एकाबिहानै आएर उठाउन खोज्ने को हौ तिमेरू।'
कवि मित्रले शान्त मुडमा भने- 'सहिद ज्युहरू, नमस्कार। हामी रातभर देश खोज्दै हिँडेका हौं।' सहिद गंगालालले भने- 'देश भेट्यौ त?'
मेरा मित्रले भने- 'रत्नपार्कको आकाशे पुलमाथि ड्युटीमा रहेका पुलिससँग अलिकति रहेछ देश। अलिकति जमलका भित्तामा टाँसिएका पम्प्लेट र पर्चाहरूमा, दरबार हाइस्कुलको छानोमाथि, ठमेलको गल्लीमा, अलिकति हजुरको आँखा सामुन्ने टुँडिखेलमा, यो अग्लो भीमसेन स्तम्भको टुप्पोमा... धेरै ठाउँमा देश भटिसक्यौं।'
चारै सहिदले मुखामुख गर्दै एकैचोटि भने- 'देश अब्स्टा्रयक छ।'

प्रकाशित: २३ माघ २०६९ २२:३२ मंगलबार