अन्य

मीनपचासमा मरेका माछा र काल पर्खिरहेका मान्छे

तीर्थबहादुर श्रेष्ठ - प्रत्येक वर्ष मंसिरको २१ बाट काठमाडौं खाल्डोमा मीनपचास भित्रिने गर्छ। माछालाई पनि जाडो लाग्ने यी ५० दिन सम्पूर्ण पाठशाला र कलेजहरू बन्द हुने गर्थे जब म स्कुले थिएँ। सेताम्य तुसारो, टम्म कुहिरो, डम्म हुस्सु र पारिलो घाम।
दिनभर खेलबाड र दौडधूप। सम्वत २०१० सालतिरको कुरा गर्दैछु म। टुँडिखेलबाट गौरीशंकर हिमाल छ्याङ्गै देखिन्थ्यो। गोपीचन्द्र राजाले घोडा चढेको भनी च्छोभाभामारेलाई देखाउँथ्यौं। शिवपुरीको पछाडिबाट लुकेर टिलिक्क लाङटाङ लेरुङले दिनभर चियाउँथ्यो। गणेश हिमाल ढिक्कै देखिन्थ्यो। शान्त थियो काठमाडौं।
टोलछिमेकमा मोटरसाइकलको आवाज सुनियो भने कसको घरमा बिरामी जाँच्न डाक्टर हल्दर आयो भन्ने चर्चा हुन्थ्यो। एकदुइटा लहरी (सानो ट्रक) कहिलेकाहिँ भेटिन्थ्यो। राजा-महाराजाहरूका मोटरकार फाट्टफुट्ट गुड्दथे। बसको नाममा बिहानै छुट्ने एउटा डाँकगाडी थियो जुद्ध सडकमा। अरू हुनेखाने सबै साइकल नै चढ्दथे। त्यतिबेला काठमाडौं खाल्डोको जनसंख्या पनि २/३ लाखभन्दा बढी थिएन होला। धनी कोही थिएन राणाजीहरू र तिनका भारदारबाहेक। असन, इन्द्रचोक बजारमा देखिने आम ढाक्रेहरूका खुट्टामा जुत्ता हुँदैन थिए। तर, टोपी नभएका कोही मान्छे देखिँदैन थिए। मलामी जानेले मात्र टोपी नलाई हिँड्ने चलन थियो। सबैलाई टोपी प्यारो थियो। कसैले कसैको टोपी खोसिदियो भने त्योभन्दा ठूलो अपमान अरू हुँदैन थियो। अहिलेको काठमाडौं त टोपी नलगाउने मुडुला नेपालीहरूको मुडुलोे नेपाल बनेको अवस्था छ।
चार भञ्ज्याङभित्रको काठमाडौंभित्रलाई वरिपरि झन्डै २८०० मिटरसम्म छुन पुग्ने चुचुराहरू फुल्चोकी, शिवपुरी, चम्पादेवी र नागार्जुनलाई उचाल्ने पर्खालजस्ता पर्वत श्रृंखलामालाले बेरेर झन्ढै ६७० वर्गकिलोमिटर क्षेत्रफल भएको बटुको निर्माण गरिदिएको छ। यसको पिँधको सरदर उचाइ समुद्र सतहबाट १३०० मिटरमाथि छ। त्यसको वरिपरि लगभग ८ सयदेखि १५ सय मिटर अग्लो पर्खाल तैनाथ छ। सामान्य प्राकृतिक अवस्थामा पिँधको सतह न्यानो र त्यसमाथि क्रमैले हावाको तह चिसोचिसो हुँदै चुचुरोमा तापक्रम सबैभन्दा कम भएको अवस्था हुन्छ। डम्म कुहिरो लागेको बिहानी नागार्जुन वा ककनीतिरबाट नियाल्यौं भने काठमाडौं उपत्यका एक विशाल दूधपोखरीजस्तै देखिन्छ। माथि पहाडबाट काठमाडौंलाई हेर्दा अगत्स्य मुनिको प्यास बोकेर सबै प्याला पिइदिउँजस्तो इच्छा जाग्छ। घाम लागेपछि कुहिरो आफैं माथि उठेर चारै भञ्ज्याङतिरबाट उम्लेको दूध पोखिएझैं सेतो कुहिरो नेटो काटेर बटुको बाहिर पोखिन थाल्छ। कहिलेकाहिँ पुसको महिनामा एक्कासी जाडो बढेर रातको तापमान स्वाट्ट झरेर चिसो हावा पिँधमा तह बस्न आइपुग्छ र पिँधको न्यानो हावा त्यसको माथि तह बस्छ। त्यस तहलाई माथितिरको अर्को चिसो हावाले ठेलेर हलचल गर्न दिँदैन। त्यसको अर्थ दूधको बटुको अब बाहिर पोखिएर जान सक्दैन। त्यहाँ बिर्को लागेको हुन्छ। त्यस अवस्थामा काठमाडौंको लाखौं जनसंख्याले सास फेर्दाको कार्बनडाइअक्साइड तथा लगभग २५ सयको संख्यामा चालू रहेका इँटाभट्टीले फ्याँक्ने प्रदूषित वायु, लाखौंको संख्यामा बल्ने चुलो र अँगेनाहरू, त्यस्तै अनेकौं अन्य उद्योगधन्दा तथा अस्पतालहरूले फ्याँक्ने प्रदूषित वायु- सबैका सबै काठमाडौंको पिँधमा घनावस्तीको माथि थेग्रेर बस्न थाल्छ। धुवाँ, धुलो र कुहिरोको बाक्लो 'धुइरो'लाई घामले छिचोलेर भुईं छुन सक्दैन। त्यस अवस्थामा दूधको प्याला विषको प्यालामा परिणत हुन्छ। त्यही विषको प्याला पिएर मर्निङ वाकमा निस्केका काठमाडौं निवासी घर फर्कन्छन्। मीनपचासको नियति आजभोलि यस्तै छ।
मीनपचासको एउटा घटना झलझल सम्भि्करहेको छु। साल सम्वत यकिन गर्न सकिरहेको छैन। दस-पन्ध्र वर्षजति पुरानो घटना। तीनचार दिनदेखि घाम लागेको थिएन। रानीपोखरीका सबै माछा मरे भन्ने खबर सुनेँ। मेरो पुरानो स्कुल दरबार हाइस्कुल पेटीबाट घन्टाघर पनि स्पष्ट देखिएको थिएन। मानिसहरू मरेका माछा बटुल्दै थिए। पानीको सतहमा पर्लक्क पल्टेका माछाहरू थुप्रै थिए। मीनपचासको जाडोले माछा मर्योा भन्ने भयो। धेरै दिन सोचविचार गरेपछि मलाई ज्ञान खुल्यो। माछा जाडोले मरेका होइनन्, निस्सासिएर मरेको हुनुपर्छ भन्ने चेत आयो। रानीपोखरीमा डुब्ने मान्छे निश्चय नै निस्सासिएर मर्छ। माछा कसरी निस्सासिन्छ भन्ने तर्कको सामना गर्नुपर्यो।।
जब पोखरीमा घाम लाग्दैन, माछा निस्सासिन्छ। पानीलाई हरियो बनाउने ध्याउन्नमा वनस्पतिहरू, त्यहाँ फस्टाएका कमल, जलकुभ्मी वा अरू हरिया बिरुवाले घाम नपाएर प्रकाश संश्लेषण 'फोटो सिन्थेसिस' गर्न पाउँदैन। अक्सिजनको स्रोत बन्द हुन्छ। माछालाई सास फेर्न पानीमा घुलेको अक्सिजन नभई हुँदैन। पानीका वनस्पतिले पनि त्यहीं घुलेको अक्सिजन खपत गर्छ, सास फेर्न। त्यसैले अक्सिजनको कमीले गर्दा रानीपोखरीका माछा मरेका थिए पर्लक्क पल्टेर। त्यही बेलादेखि माछा मर्यो भन्ने पिरले होइन, काल पल्केर मानिसमा फर्केला भन्ने पिर पालेर बसेको छु।
विषाक्त पानीमा माछा मर्छन्, विषाक्त वायुमा मान्छे। विषाक्त वायुको ठन्डा वातावरणले बेलायतमा सन् १९५२ डिसेम्बरको ५ देखि ९ तारेखसम्मका पाँच दिनभित्र १२ हजार मानिसको ज्यान गएको घटनालाई 'ग्रेट स्मग अफ लन्डन' भनी स्मरण गरिन्छ। त्यस बेलादेखि धुवाँ (स्मोक) र कुहिरो (फग) को मिश्रण हुस्सुलाई स्मग भन्न थालियो। काठमाडौंको कुहिरो पनि अब कुहिरोमात्र रहेन। त्यसलाई धुइरो भन्नुपर्छ। धुवाँ र कुहिरोको सम्मिश्रण। लन्डनको त्यस दुर्घटनाको मूल कारणलाई वातावरणविदहरू तातो र चिसो वायुको तह उल्टो खप्टिएको अवस्था अर्थात टेम्परेचर इन्भर्सन भनी व्याख्या गर्छन्। यस्तो उल्टो खप्टिने प्रक्रिया हाम्रो काठमाडौं खाल्टोमा पनि चल्छ भन्ने चिन्ता आजभन्दा २० वर्ष पहिले प्रकाशित भएको 'बर्निङ सांग्रिला' नामक पुस्तिकामा बेलायतका केन बेब्स्टरले व्यक्त गरिसकेका थिए। नेपालका वातावरण पत्रकारहरूले प्रदूषित वायु र विषाक्त काठमाडौंबारे थुप्रै लेख, रचना र रिपोर्टिङ गर्दै आएका छन्। धुवाँ, धुलो र वायु प्रदूषणका अंक र तथ्यांक जताततै पाइन्छ। मीनपचास लागेको भोलिपल्ट अर्थात मंसिर २२ गते अब्दुल्लाह मियाँको 'धुलाम्ये काठमाडौं' रिपोर्टिङ पढिसकेपछि काठमाडौंबासीको नियति रानीपोखरीका माछातिर फर्कंदै छ कि भन्ने त्रास झन् बढ्न थाल्यो मेरो मनमा। सरकारलाई चिन्ता छैन, मानिसमा चेत छैन। काठमाडौंको प्रदूषण नाप्न छाडेर सरकारी संयन्त्रहरू विश्व जलवायु परिवर्तनको जिम्मेवारी खोज्न दोहा (कतार) पुगेका छन्। काठमाडौं निवासीलाई मिर्जा गालिबले भनेझैं 'मुश्किलें इतनी बढ गई कि हर मुश्किल आसां होने लगा' भएको छ। केही पिर छैन। केही फिकर छैन। यो वर्ष वा अर्को कुनै वर्ष यहाँ पनि टेम्परेचर इन्भर्सन प्रक्रिया चल्नसक्छ। म त्रसित छु कि ती पर्लक्क पल्टेका माछाहरूलाई सम्झेर किनभने अबको पल्टिने पालो हाम्रो हुनसक्छ।

प्रकाशित: २९ मंसिर २०६९ २१:३९ शुक्रबार