यी दुई छिमेकी मितहरूको लोभलाग्दो सम्बन्धमा साम्प्रदायिक रोग सल्किन्छ। समाजमा फैलिँदै आएको साम्प्रदायिक भावनाले सानैदेखिका दुई मितको कुटाकुट भइरहँदा उनीहरूका श्रीमतीहरू झगडा नगर्न आग्रह गर्छन्। समाजमा हराउँदै गएको सद्भावको कारूणिक दृश्य देखेर दर्शक पनि आँसु थाम्न सक्दैनन्।
धरानको चर्चित नाट्य संस्था अनामले प्रदर्शन गरेको सडक नाटक 'अबको बाटो' हेर्ने थुप्रै दर्शकले आँसु चुहाएको देखियो। सुरुमा रमाइला दृश्य र संवादका कारण खुब हाँस्ने दर्शक बिस्तारै नाटकले प्रस्तुत गरेको सामाजिक सद्भावको सन्देश बुझेपछि आँसु झार्थे। विराटनगरको ट्राफिक चोकमा 'गाउँ गाउँबाट उठ..' जस्ता चर्चित जागरण गीत लेख्ने श्याम तमोट आँसु चुहाउँदै नाटक हेरिरहेका भेटिए। 'अलि भावुक छु, राष्ट्रको विषयमा यस्ता कुरा देख्दा आँसु झरिहाल्छ।'
२००७ सालदेखि अहिलेसम्म नेपालीले प्रजातन्त्र, जनआन्दोलन, जनयुद्ध, लोकतन्त्र, गणतन्त्रजस्ता धेरै राजनीतिक शब्द सुने र त्यसका लागि ज्यानको समेत बलिदान गरे। तर, आज त्यही लोकतन्त्र, गणतन्त्र र अधिकारका नाममा राजनीतिकरण भयो। नेताहरूले आफू अनुकूल हुने धेरै काम गरे तर सर्वसाधारण नागरिकले झन्झन् पीडा पाए। नागरिकका तिनै पीडा उजागर गर्न खोजेको छ, अनामको 'अबको बाटो'ले। नाटकले दर्शकलाई छाडेर जाने प्रश्न यही हो 'अबको बाटो के हो? हामीले आफ्नो कर्त्तव्य कसरी पालना गर्ने?'
लोकतन्त्र, समावेशीकरण र अधिकारको मुद्दा समृद्ध बनाउन सामाजिक सदभाव नै बलियो बनाउनुपर्छ भन्ने सन्देश दिँदै गत भदौदेखि अनामले सुरु गरेको नाट्य यात्रा पूर्वका २ सय ४५ स्थानमा प्रदर्शनपछि टंुगिएको छ।
अनाम टोली नाटक लिएर पूर्वका पहाड र तराई क्षेत्रका बस्तीमा पुगेको थियो। नाटक देखाउन त्यस्ता ठाउँमा पुग्दा कतिले 'नौटंकी' भनेर बेवास्ता गरे भने धेरैले सहयोग गरेको अनुभव छ, नाटक संयोजक अल्पना कर्माचार्यको। भन्छिन्, 'धेरै ठाउँमा सुरुमा यहाँ नाटक देखाउँदा हाम्रो विजनेसमा असर पर्छ भनेर बाधा गरे तर नाटक देखाइसकेपछि धन्यवाद दिए।'
कलाकार सरस्वती महन्त योगीको अनुभव छ, 'पहिला अधिकार, लोकतन्त्रका कुरा आउँदा राजनीतिक विषयजस्तो लाग्थ्यो तर नाटकमा भन्दा भन्दा अधिकारका धेरै कुरा कण्ठ भए। ' अर्की कलाकार सिर्जना राईलाई सामाजिक सद्भावको विषयमा कम्तीमा परिवारलाई बुझाउन सक्ने आँट पलाएको छ। राजेन्द्र रिमालको परिकल्पना, मदन गुप्ताको व्यवस्थापन र सुवास थापाको निर्देशनमा पूर्वका सुनसरी, झापा, मोरङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, सप्तरी, सिराहा, उदयपुर जिल्लाका विभिन्न ठाउँमा प्रदर्शित 'अबको बाटो' मा सुवास थापा, अल्पना कर्माचार्य, मदन गुप्ता, सुरज थापा, सरस्वती महन्त योगी, सिर्जना राई, चन्दा राई, टेकराज लिम्बु, अल्का न्यौपाने, लक्ष्मणप्रसाद खनाल, स्वच्छता योगी लगायतको अभिनय थियो। निर्देशक थापा भन्छन्, 'पहाड, तराई सबैतिरका मान्छेमा सामाजिक सद्भाव खल्बलिने चिन्ता रहेछ। सबै जाति, भाषी पहिलाजस्तै मिलेर बस्न चाहन्छन्। झगडा त थोरै स्वार्थीहरूका कारणमात्र भएको रहेछ।'
प्रकाशित: २९ मंसिर २०६९ २१:३८ शुक्रबार