
विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी सुहानीलाई पनि अन्य धराने महिलालाई झैँ एक महिनाअघिदेखि नै तीजको रन्को लागिसकेको थियो। दुई साताअघि नै तीजको अवसरमा धरानमा सम्पन्न तीज मेकअप कम्पिटिसनमा सुहानी राजधामी प्रथम र अर्की तेस्रो लिंगी प्रियंका चक्रवर्ती दोस्रो भएका थिए।
तीजका अवसरमा धरान, इटहरीलगायत ठाउँमा हुने कार्यक्रममा सुहानी, प्रियंकालगायत तेस्रो लिंगी पनि सहभागी हुन्छन् र अन्य महिलासँगै छमछमी नाचेर रमाइलो गर्छन्। समाजमा उनीहरूको सहभागिता बढ्दै जाँदा समाजका अन्य महिलाले पनि उनीहरूलाई तीजजस्ता कार्यक्रममा बोलाउने गरेका छन्। समाजले बिस्तारै तेस्रो लिंगीको अस्तित्वलाई सहज रूपमा स्विकार्दै आएकाले उनीहरूलाई यस्ता सामाजिक कार्यक्रममा खुलेर सहभागी हुने वातावरण बनिरहेको छ। प्रियंका भन्छिन्, 'सुरु सुरुमा त तीजमा यसरी सहभागी हुन पनि गाह्रो हुन्थ्यो, तर अहिले अरू महिलासँगै कम्मर मर्काई-मर्काई नाचिन्छ। बिस्तारै समाजमा हाम्रो घुलमिल बढिरहेको छ।'
सुरुमा तेस्रो लिंगीहरूलाई समाजमा खुल्न गाह्रो थियो। पछिल्लो समयमा उनीहरू समाजका अन्य कार्यक्रममा सहभागी हुँदै आफ्नो पहिचान दिन थालेपछि अहिले धरानजस्ता आधुनिक समाजमा उनीहरू खुलेर जिउन सक्ने अवस्था सिर्जना भइरहेको छ। उनीहरूका पनि तीजमा अरू महिलाले पोख्ने दुःख छन्। समाजले नराम्रो नजरले हेर्नु नै उनीहरूका लागि ठूलो पीडा भएको छ। अस्पताल, शौचालय, सडक सबैतिर आफूहरूले भोगेका विभेदका गीत गाएर र समाजले बिस्तारै स्विकार्दै आएकोमा रमाउँदै डान्सपार्टी गरेर तीज मनाउँछन् उनीहरू। सुहानी भन्छिन्, 'हामी पनि अन्य महिलाजस्तै सबैलाई आफ्ना पीडा सुनाउँछौँ। हाम्रो शारीरिक बनावट पुरुषजस्तो भएर के भयो र? हाम्रा चाहना महिलाका जस्ता छन्। हामीलाई महिलाकै रूपमा हेरियोस्।'
प्रकाशित: ३१ भाद्र २०६९ १४:३८ आइतबार