अन्य

सानी छोरीको जिज्ञासा

बालकथा

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

मामु अब हामीले स्कुल जानु  हुँदैन अरे हो । अनि बाबा र  हजुरले पनि अफिस जानु पर्दैन ?  

एक कक्षाको परीक्षा सकेर घर बसेकी अनुको प्रश्न अचानक सुनेर रमाले भनिन् ।

नानु कोरोनाको डरले केही दिन लकडाउन भएको छ। लकडाउनमा त हिँड्नु हुँदैन । त्यही भएर केही दिन छुट्टी भएको हो।  

अनुले जिज्ञासा राखिन्  ‘मामु कोरोना लकडाउन भनेको के हो ?’

कोरोना भनेको एउटा भाइरसबाट उत्पन्न हुने तत्व हो। जुन भाइरस चीनको वुहानबाट सुरू भएर संसारभर फैलिएको छ। यो भाइरस देखिदैन तर  मान्छेको शरीरमा प्रवेश भयो भने निकै सारो पार्छ। यसले कतिको ज्यान त लिइसकेको छ। यसैले यसको रोकथामका लागि नै सरकारले लकडाउन गरेको हो ।

अरू भाइरसको जस्तो यसको दबाई गरे मान्छे बाँच्दैनन् मामु।

यसको दबाई अहिलेसम्म कुनै देशले पनि पत्ता लगाउन सकेका छैनन्। ठूलाठूला वैज्ञानिकहरू लागेका छन्। त्यसैले अहिले यसबाट बच्ने उपाय नै लकडाउन हो नानु।

अनि के हो लकडाउन भनेको चै मामु ! 

ए, लकडाउन भनेको के हो भने घर बाहिर नहिँड्नु   र कसैसंगको सम्पर्कमा नरहनु हो। यसलाई सामाजिक दूरी कायम गर्ने भन्छन। यो भाइरस एकदमै छिटो सर्छ। भाइरस भएका मान्छेले हाच्छिउँ  गर्दा त्यसको छिटा अर्काको कानमा नाकमा र मुखमा परेर फोक्सोमा पुग्यो भने कोरोना सर्छ र गारो पार्छ।  बाहिर हिँडडुल गर्नैपरे मुखमा मास लगाउनुपर्छ। घरमा आउनासाथ नुहाएर मात्र बस्नुपर्छ। घरमा बसेको बेलामा पनि एकछिनएकछिनमा साबुनपानीले हात धुनुपर्छ नि छोरी। त्यस्तै नाक, कान  र  मुखमा हातलें नकोट्याउनु नि। हाच्छिउँ गर्दा पनि मुख छोप्ने गर है बाबा।

हुन्छ मामु, यसो गर्न मैले बिर्सिए भने  सम्झाइदिनु है। अनि बाहिर नगएको बेला होटलबाट ल्याएको खाना खानु हुन्छ मामु।

बाहिरको खाना पनि खानु हुन्न नि यसबेला । मामुले तागत दिने खाना बनाएर दिएको खाए फाइदा हुन्छ। यसो भयो भने प्रतिरोध क्षमता बढ्छ र कोरोनालाई हराउन मदत पुग्छ। अब यो खान्छु यो खान्न भनेर झगडा नगर है। 

अर्को कुरा पनि सुन  दश वर्षमुनिका बच्चा र ६०.६५ वर्ष माथिका वृद्ध अनि रोगीको प्रतिरोध क्षमता कमजोर भएकालाई छिटो सर्छ। त्यसैले नानु तिमीले आफूलाई अझ ख्याल  गर्नुपर्छ है । घरभित्रै खेल्ने पढने है ।

आमाको कुरा सुनेर अनुले आमा कहिलेकाहीँ पार्क त जानुहुन्छ नि। अबोधपन  प्रस्तुत गरिन।

  हाँस्दै हुन्न नि। बाहिर हिँडडुल गर्नै हुन्न। सबै बन्द भएपछि पार्क पनि बन्द हुन्छ।

ए  हो त नि भनेर अनु खेल्दै ढुनुमुनु गर्न थालिन।

एकदिनदुईदिन गर्दै महिना दुई महिना बित्यो। अनु पास भएको खबर फोनबाट नै थाहा भयो। तर  खुसी मनाउन  कहीँ  जान पाइन। त्यसबेला अनुले मलाई बोर लागिसक्यो भनेर निकै दिनसम्म झगडा गरिरहिन्। कोही दिनमा अनलाइन कक्षा त सुरू भयो तर स्कुल गए जस्तो रमाइलो भएन अनुलाई।

लकडाउन खुकुलो भयो भनेर बिस्तारै अफिस पनि लाग्न थाल्यो तर स्कुल लाग्ने छाँट पनि थिएन। अभिभावकहरू आफ्नो छोराछोरीलाई यो स्थितिमा पठाउने पक्षमा पनि भएनन्। यही कारण रमा अफिस जान सकिनन्। प्राइभेट अफिस भएकोले      उनले अफिस छाडेर छोरीलाई स्याहार्न घर नै बस्न थालिन्।

यसबेला छोरीले दिनभर कार्टुन हेर्दा पनि नहेर अब भन्ने आट रमामा छैन। छोरीले अब खेलौभन्दा उसैकी साथी  जस्ती भएर खेल्छन्। बेलाबेला  मामु मलाई कस्तो बोर लागिसक्यो। कहिले बाहिर घुम्न पाइन्छ। स्कुल कहिले जानु।  साथीहरूलाई कति मिस गरिसके भनेर छोरी रून्छे।

झुटकै सहारा लिएर छोरीलाई फकाउनु परेकोमा रमा दुखी हुन्छिन्।  यसकारण सानी छोरीको मानसिक रूपमा कस्तो असर पर्ने हो भनेर अनुका बुबाआमा चिन्तित छन्। यो समस्याको समाधान कहिले र कसरी हुने हो भनेर सबैमा अन्योल छाएको छ।  

प्रकाशित: २५ असार २०७७ ०९:५६ बिहीबार

जूनकीरी बालकथा