पत्रपत्रिकामा आइसकेका सामग्री पुस्तकमा हुबहु छापेर बेच्ने 'कर्पोरेट' शैलीले बिस्तारै नेपाली साहित्यलाई कुरूप बनाउँदो छ।
पाठकहरूलाई भनिदिऊँ, मेरो अम्मल भनेकै पढ्ने हो। पढेका कुरा भने स्मरणमा खासै रहँदैनन्। कसैकसैले हरफका हरफ सुनाएको देख्दा उदेक लाग्छ।
त्यसो त मैले रहरले पढेका पुस्तक एकदमै थोरै छन्। यस्तो लाग्छ- म धेरैजसो करले पढ्दो रहेछु। मेरो रुचि अलि फरक छ। अप्ठ्यारो खालको छु। कतिपयलाई 'योग्य पाठक' नलाग्न पनि सक्छ।
'मोटिभेसनल' पुस्तक छिचोल्ने अठोट गर्दिनँ। पछिल्ला समय चर्चित र पुरस्कृत थुप्रै पुस्तक पढेको छैन। जस्तो : अन्तर्मनको यात्रा, जीवनः काँडा कि फूल, सोच, खोज आदि। यी पुस्तक पढ्दै नपढ्ने प्रतीज्ञा भने गरेको छैन।
अहिले बजारमा नयनराज पाण्डेको 'लू' र गौरा प्रसाईंको 'जिन्दगीका पानाहरू' को मौसम छ। यी पुस्तक पनि मैले पढेको छैन। कुनै समय पढिएला पनि।
चार दिनको अन्तरालमा अक्षर क्रिएसन्सकी अर्चना थापाले मेरा नाममा दुई थान पुस्तक खामबन्दी गरी पठाइन्। पुस्तक रहेछ- 'पाण्डुलिपि'। कृष्ण धरावासीको बीसौं पुस्तक।
पहिलो पटक पठाएको पुस्तक मेरो हाता परेन। त्यसको सूचना पाएलगत्तै अर्को आइपुग्यो। पछि दुुवै हाता लाग्यो।
अब दुवै थान पुस्तक त मैले कसरी पढ्नु! त्यो एक थान पढ्ने तारतम्य कसरी मिलाएँ, आफैंलाई अचम्म लागेको छ। त्यतिखेर म एउटा गजबको स्मृति ग्रन्थमा फँसेको थिएँ। त्यसले एकप्रकारले बाँधेर राख्यो।
निधनको ३८ वर्षपछि सर्पदंश (उपन्यास) र नैनी (महाकाव्य) का लेखक तारिणीप्रसाद कोइरालाको स्मृति ग्रन्थ प्रकाशन भएको रहेछ। धेरै पाठकहरू विश्वेश्वरप्रसाद कोइरालाका प्रशंसक छन्। मलाईचाहिँ तारिणीको प्रशंसक भन्न पटक्कै संकोच लाग्दैन।
साहित्य र राजनीतिका 'द अननोन सोल्जर' तारिणीका रसमय पाटामा रमाउँदा-रमाउँदै 'पाण्डुलिपि' का पानामा पुगिएछ। नागरिकको साहित्यिक पृष्ठ 'अक्षर' मा धोतीबाट कुर्ता-सुरुवाल भन्ने एक पाठ पढ्दा लागेको थियो- यो पुस्तक पक्कै पठनीय हुन सक्छ।
अखबारमा काम गर्ने भएकाले होला, म धेरै जोल्टिन परेका वाक्य पढ्न सक्दिनँ। धेरै प्रयोग या बांगोटिंगो भाषा र शैलीका पुस्तक पढ्ने ल्याकत मैले गुमाइसकेको छु। मलाई सरल र सजिलो पुस्तक प्रिय लाग्छ।
पछिल्लो छिमलका लेखकहरूका निम्ति कृष्ण धरावासी 'रोलमोडल' या 'ट्रेन्ड सेटर' भइसकेका छन्। झोला (कथासंग्रह), राधा (उपन्यास) का आधारमा मलाई पनि पठनीय लेखक नै लाग्छन्। उनको प्रशंसकको दाबी भने गर्दिन।
नेपालको सन्दर्भमा समाजवादी-जनवादी भन्न मिल्ने लेखक पनि उनै हुन्। सामाजिक रीतितिथिमा अहिंसात्मक विद्रोह गर्ने र सुधार बसाल्ने चाहना उनमा छ। थुप्रै सामाजिक विषयवस्तुलाई पुस्तकमा समेट्दै आएका छन्।
धरावासीको यो पुस्तक मेरा निम्ति अप्रत्यासित छ। मैले त उनको जर्मनीतिरको उपन्यास 'गेस्टापो' आउला भन्ने सोचेको थिएँ। उनले पत्नीशोकमा एउटा आख्यान नै लेखेछन् र ३ सय ५८ पृष्ठको पुस्तक छाप्ने हतारो गरिहालेछन्। अक्षर क्रिएसन्सले यसलाई 'आत्मपरक उपन्यास' भनेको रहेछ। वास्तवमा यो धरावासीको 'आधा बाटो'कै सिक्वेल हो। मैले सकभर शालीन शब्दमै सानो प्रत्युत्तर लेखेको छु।
'आमा र पत्नी' को अन्तरंग सम्बन्धबाट नगुज्रने कमै पुरुष छन्। यिनै गहिरा सम्बन्ध वरिपरि जीवन बित्छ सर्लक्कै। कृष्ण धरावासीले नेपाली साहित्यमा गरेको कुनै नौलो काम छ भने, त्यो आमा र पत्नीलाई पात्रका रूपमा उभ्याउनु नै हो। त्यसो त धरावासी आफैं पनि पात्रका रूपमा आएका छन्। यी पात्र अमर हुन सके कि सकेनन् भन्ने विमर्श कुनै दिन होला।
२०४८ सालमै उनले निबन्ध लेखेका थिए, 'नारीभित्र त्यस्तो के छ हजुर?' त्यसका रहस्य न उनले बुझेका छन्, न अरूले। तैपनि नारी, बालबालिका र बुढाबुढीबारे लेख्ने क्रम उनले रोकेका छैनन्।
धरावासीले आफ्नै जीवनका बारेमा प्रशस्त लेखिसकेका छन्। अरूभन्दा पनि फरक के भने, दिवंगत पत्नीलाई पनि लेखकै बनाइदिएका छन्। मृत्युशैयामा रहँदा उनकी पत्नी सीता भट्टराईको 'मैले हिँडेको बाटो' पनि प्रकाशनमा आएको थियो।
वियोगमा हामी नराम्ररी बिथोलिन्छौं, मौन हुन्छौं र शिथिल हुन्छौं। धरावासीचाहिँ नलेखी बस्नै सक्दैनन्। यसरी लेख्छन्, आफू रुन्छन्, पाठकलाई पनि धरधरी रुवाइदिन्छन्। रुवाउनु नै सफलताको मानक हो भने नेपाली साहित्यमा यत्तिको उचाइ आजसम्म कुनै लेखकले लिएको छैन। धरावासीको खास चिनारी रुवाबासीबाटै हुन्छ।
अस्पताल धाउँदाधाउँदै उनकी पत्नी 'सीताजी'लाई कलेजोसम्म फैलिएको ठूलो आन्द्राको क्यान्सर चौथो चरणमा पुगिसकेको थाहा पाउँँदा पाठक बडो भावुक र संवेदनशील हुन्छ। त्यसपछि आँखा रसिला हुन्छन्, नाक रसाउन थाल्छन्, घाँटीको मांसपेसी फुल्छ। सासै फेर्न गाह्रो। उकुसमुकुस।
अझ पृष्ठ २१६ मा पुगेपछि धरावासी लेख्छन् : मलाई थाहा थियो, म सीताजीलाई के खुवाउन लागेको छु। मर्फिनको काम के हो र त्यसले के गर्छ भन्ने राम्ररी बुझेको मैले आज आफ्नै हातले सीताजीलाई खुवाउँदै थिएँ। मेरी प्रिय पत्नी सीताजी, जसको अन्तिम विश्वास थिएँ म। मैले जे भने पनि, जे खुवाए पनि उहाँलाई ढुक्क थियो। तर, आज म पहिलो पल्ट उहाँलाई मर्फिन खुवाइरहेको थिएँ, जसले उहाँलाई लठ्याउने थियो। त्यो औषधि थिएन, त्यसले शरीरका अरू बाँकी र स्वस्थ अंगहरूलाई पनि प्रतिदिन शिथिल गर्दै लाने थियो।
सिंगो पुस्तकमा धरावासीकै एकालाप छ। क्यान्सरपीडित उनकी पत्नीलाई यसको जनाउसम्म दिइएको छैन। यहाँनेर उनले ईश्वर वल्लभलाई सम्झेका छन्, 'मानिसलाई यदि उसको मृत्युको समय थाहा हुने भए ऊ त्योभन्दा पहिले नै मरिसक्छ।'
पुस्तकमा मृत्युको कारुणिक चित्र छ। धरावासीले पाठकलाई हरेक पानामा रुवाएका छन्। एकान्त छाडेर सार्वजनिक रूपमा रुने साहस उनले गरेका छन्। लेखकको आँसुले पाठकलाई अति सकस हुन्छ। अविरल रुवाइका कारण धेरै पाठक अन्तिम पानासम्म नपुग्ने सम्भावना छ।
म राम्रा अंश चिना लगाएर पढ्छु। तर, मैले यो पुस्तक दोहोर्याएर पढ्न सकिनँ। फेरि रुनुपर्ला भनेर कुनै कष्ट गरिएन। वेदना हल्का गर्न रुनुको बेग्लै मिठास छ। तर धरावासीले रुनुको सौन्दर्य नै मिचिदिएका छन्।
अब नलेख्नोस्, आँसुका कथाहरू। कति लेख्नुहुन्छ निजी कुरा? यस्ता सुझाव धरावासीलाई थाहै छ। पुस्तकमै छ, 'अब नलेख्नुपर्यो निजी जीवन। धेरै लेखेँ जीवन भोगाइका पीडा, अब अलि बुद्धि लेख्नुपर्यो, अलि ज्ञान लेख्नुपर्यो। मनले समात्ने गरेको भावुकताबाट मुक्त हुनुपर्यो।'
धरावासीले केही लीलाहरू पनि गरेका छन्, पुस्तकमा। उत्तर आधुनिकता पनि भन्लान् कतिपय। पत्नीको रेडियोमा अन्तर्वार्ता लिन लगाउने, भिडियो खिच्ने। प्रियजनको सम्झाउने, बिर्साउने राख्नु ठिकै पनि होला। पाठकलाई त ती पानामा अडिन पनि सकस हुन्छ।
नेपाली साहित्यमा शोकाकुल अवस्थामा धेरै कवि, लेखकले पुस्तक तयार गरेका छन्। धरावासीको कसरतचाहिँ 'गौरी' लाई पनि उछिन्ने खालको छ। धरावासीलाई गुरु थापेर अरूले पनि यसैगरी लेख्न थाले भने थुप्रै झुर गौरी आउन सक्छन्।
पाण्डुलिपि अनावश्यक रूपमा मोटो पनि छ। धरावासीको आत्मालाप त ठिकै थियो। विभिन्न पत्रपत्रिकामा छापिएका डा. केदारनरसिंह केसी, अमरकुमार प्रधान, हरिवंश आचार्य, स्वयं धरावासीका लेख पनि पुस्तकभित्रै कन्टेन्ट भएर आराम गरिरहेका छन्। पत्रपत्रिकामा आइसकेका सामग्री पुस्तकमा हुबहु छापेर बेच्ने 'कर्पोरेट' शैलीले बिस्तारै नेपाली साहित्यलाई कुरूप बनाउँदो छ।
शोकलाई त कसरी सम्पादन गर्ने? जे होस्, शब्द सम्पादन गरिएको भए पुस्तक निकै सानो आकारमा आउन सक्थ्यो। पत्नीशोकमा रहेका लेखकलाई पाठकले यति छुट त देलान्। तर, अघिल्ला पुस्तकमै आएका धेरै कुरा दोहोरिएकाले धरावासीले अब लेख्न छाडेर पढ्ने बेला भएजस्तो लाग्छ।
धेरै पुस्तक निरन्तरताका निम्ति निरन्तरताजस्तो मात्र लाग्छ। धरावासीजस्तो प्रतिष्ठित लेखकलाई थप के सुझाव दिनु? लेखकले ठूला कुराभन्दा नयाँ कुरा नयाँ-नयाँ तरिकाले लेख्ने हो। दोहोर्याउनुको कुनै माने छैन। धरावासी भावनामा मात्र बहकिएका छन्। यसमा बौद्धिक रूपमा उभिने कोसिस गरेका छैनन्।
मानिसहरू रुने वैध इलाका अस्पताल अनि घाट हुन्। प्रत्येक मानिसले अस्पताल र घाट पुगेर जीवनलाई नजिकबाट नियाल्न सक्छन्। अब पुस्तकप्रेमीलाई रुने ठाउँ धरावासीले हातमै दिएका छन्। कठोरभन्दा कठोर मानिसहरू पनि रुने ठाउँ छ, 'पाण्डुलिपि'मा।
प्रकाशित: २७ वैशाख २०६९ ०६:५७ बुधबार