यस सम्बन्धमा प्रहरीले भरखरै सम्पन्न पत्रकार सम्मेलनमा हत्यकाण्डका सहयोगी एक नेपालीलाई सार्वजनिक गरेको छ। रामेछाप गोश्वारा घर भइ धापाखेल बस्ने २७ वर्षीय ट्याक्सी चालक धनबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
बा १ ज ५५७० नम्बरको ट्याक्सी चलाउँदै आएका उनले गोली हान्ने सुटरलाई घटनास्थल लगेर हत्यापछि भगाउनुका साथै हत्यामा प्रयोग भएका हतियार लुकाउने काम गर्दै आएका थिए।
उनको डेराबाट प्रहरीले एक थान अमेरिकी पिस्तोलका साथै छ राउण्ड गोली बरामद गरेको छ। प्रहरीले हत्यामा संलग्न तथा मुख्य योजनाकारबारे पनि जानकारी बटुलेको छ।
उनीहरूमा भारतको लखनउ घर भएका आदित्य पाल, भारत उत्तर प्रदेशको आजमगढ घर भएका सुटर फहद आलम तथा भारत उत्तर प्रदेशको वढनी बस्ने बब्बु भनिने त्रिलोक सिंह छन्।
तीमध्ये पाल फैजनको हत्याअघि सात महिनासम्म काठमाडौं बसेका थिए भने त्रिलोक सिंह जमिम शाह हत्याको मुख्य योजनाकार हुनुका साथै फैजन हत्याको कोअर्डिनेसन गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जानकारी गराए।
पक्राउ परेका धनबहादुरले हत्यामा सहयोगीको भूमिका मात्र निर्वाह गरेको तथा मुख्य योजनाकार पक्राउ नपरेको हुनाले हत्याको कारण अझ नखुलेको प्रहरीले बताएको छ।
प्रकाशित: २७ वैशाख २०६९ ०४:३८ बुधबार