बाल्टीमा ल्याएको च्युरा मेरो लप्ते (पातको थाल) मा हाल्नै लाग्दा मैले हतारिँदै रोक्न खोजेँ, ‘भो, भो, भो, नहाल्दिनुस्।'
‘बजि... अँ... च्युरा नहाल्ने? किन?' बाल्टी बोक्ने दाइ छक्क परे।
‘मलाई मन पर्दैन,' मैले भनेँ।
मन नपर्ने भन्दा पनि च्युरा खाने मेरो बानी छैन। खस्रो च्युराले पेटै हुँडल्छ नि!
च्युरा बोकेका दाइले अचम्म मानेजस्तो अनुहार लगाए र नजिकैका अर्का मान्छेतिर फर्केर भने, ‘बजि मयम्ह गज्याम्ह मनू जुइ?'
मैले बुझिनँ।
‘के भन्नुभयो?' म ट्वाल्ल परेँ।
उनी हल्का हाँसे र भने, ‘केही होइन, अलिकति च्युरा त खानैपर्यो नि, नेवारको भोजमा आएर पनि च्युरा नखाने?'
‘लौ त लौ... हाल्दिनुस्... थोरै है...,' मैले धरै पाइनँ।
उनले बाल्टीबाट उघाएर दुई हातभरि च्युरा मेरो लप्तेमा राखिदिए। पातेथालको आधा भाग च्युराले भरियो।
‘ओहो... कति धेरै राख्दिनुभएको' भन्दाभन्दै उनले फेरि अर्को मुठी थपिदिए।
भगवान! कसरी खाइसक्नु मैले यति धेरै च्युरा!
लप्तेनजिकै सलिंचा (रक्सी खाने माटोको भाँडा) राखिदिएको थियो। एकजना महिलाले त्यो भाँडाभरि अय्लाः (रक्सी) राखिदिइन्।
बिस्तारै अरू परिकार आउन थाले। नेवार भोजमा मासु अनिवार्यजस्तै हुन्छ, त्यसले अर्को डर उब्जाएको थियो। नेवार भोज भन्नेबित्तिकै मासुमात्रै हो भन्ने भ्रम पनि छ, हामीजस्ता कतिपयलाई त।
त्यही भएर म पनि हरेक मान्छेलाई ‘के हो?' भन्दै खाना लिइरहेको थिएँ।
एकछिनमा मासु पनि आयो, मैले सुरुमै ‘भो, भो' भनिहालेँ।
शाकाहारी खाना पनि आउन थाल्यो। फर्सीको तरकारी, तोरीको साग, मेथीको झोल, दाल, अचार, तारेको काउली, हरियोपरियो।
म बिस्तारै तरकारी र च्युरा खान थालेँ। थोरै च्युरा धेरै तरकारीमा मिसाउँथेँ र चपाई-चपाई खान्थेँ। च्युराले ग्यास्टिक (ग्यास्ट्राइटिस) बल्झेला भन्ने मूल डर थियो।
लामो सुकुलमा पलेँटी कसेर बसेको छु, टेकुको कुशेश्वर महादेव गुठीमा ब्याहा भ्वय् (बिहा भोज) खान। ८० जनाजतिको लस्करमा चिनेका एकैजना छैनन्।
मैले चिनेकै जम्मा बेहुली र उनैले चिनाइदिएका दिदीहरूलाई हो। उनीहरू आफ्नै धुनमा छन्। व्यस्त छन्।
भोज खान लस्कर लागेकाचाहिँ धेरैजसो नेवार र केही अरू समुदायका छन्। गुनुगुनु गरिरहेका।
आफू भने आफैंसँग बोलिरहेको छु।
यस्तो भोजमा गयो कि नेवार भाषा सिक्नुपर्यो जस्तो लाग्छ। भोजबाट बाहिर निस्कनेबित्तिकै बिर्सिहाल्छु।
मेरो बायाँपट्टि एकजना अधबैंसे दिदी छन्। दायाँपट्टि सलक्क कपाल भएकी आकर्षक युवती छे, पावर चस्मा लगाएकी। युवती आडैमा उसकी बहिनीसँग बात मारिरहेकी छे। मेरापट्टि भने बडेमानको हातेब्याग राखेकी छे, सिमानाजस्तो।
म बिस्तारै भोज खाइरहेको छु। आडैकी युवतीले आफ्नो भागमा राखेका परिकार मिलाएर खाँदै गरेको पनि हेरिरहेको छु। बायाँपट्टिकी दिदी भने ल्याङफ्याङ तरिकाले खाइरहेकी छन्।
हरियो तरकारी मलाई मनपर्छ। मासु नराखेपछि मेरो लप्तेको बजि हरियो तरकारी र गेडागुडीले ढाकेको छ।
म गंगाको बिहे इन्जोय गरिरहेको छु।
...
मेरो अनुभवले भन्छ- काठमान्डुका रैथाने सोझा हुन्छन्। धेरैथरि चिजमा आफूलाई व्यस्त राख्दैनन्। मस्त काम गर्छन्, मस्त खान्छन्।
थरिथरि परिकार खान रुचाउँछन्। एउटा नेवार साथी भन्थ्यो, एउटा राँगाकै उनीहरू सयभन्दा बढीथरि परिकार बनाउँछन् रे। मौसमअनुसारका सागसब्जी, अन्नबाट बनाइएका स्वादिला परिकार, गेडागुडी, स्वादिला मिठाइ त छँदैछन्।
नेवारजत्ति विविधतापूर्ण खानाशैली भएको समुदाय विश्वमै थोरै होलान्!
परम्पराले भरिएका छन्। पुरानो सभ्यता भएको यो सहर संस्कृतिमा धनी छ।
नेवारहरूमा पनि ज्यापु समुदाय काम गर्ने वर्गकै हो। त्यही समुदायकी गंगासँग मेरो केही महिनाअघि चिनजान भएको थियो। त्रिविबाट भूगोलमा मास्टर्स गरेकी उसलाई मैले म्यापिङको एउटा कार्यक्रममा भेटेको थिएँ।
केही दिनअघि गंगाले फोन गरेर भनेकी थिई, 'वैशाख ५ गते मेरो बिहे छ, आउनू है।'
बिहेकार्डमा बनाएको नक्सा हेरेर पहिल्याउँदै म गंगाको बिहेमा पुगेको थिएँ। मैले नेवार भोजै होला भन्ने अनुमानचाहिँ गरेको थिइनँ। अरूजस्तै सामान्य पार्टी होला, बेहुलीलाई बधाई दिएर केही बेर बसुँला र फर्कुंला भन्ने लागेको थियो।
मैले अनुमान गरेअनुसारको बिहे थिएन त्यो। गेटबाट पस्नेबित्तिकै कुर्सीमा बसेर सबैलाई स्वागत गरिरहेकी गंगा देखिई। ऊ फोनमा कसैलाई लोकेसन बताउँदै थिई। नेवार पहिरनमा सजिएकी उसको अनुहारमा लजालु मुस्कान थियो। दुलहीको भेषमा ऊ राम्री देखिएकी थिई।
उसले टाढैबाट मलाई हात हल्लाएर बोलाई। मैले नमस्कार गरेँ र बधाई दिएँ। उसले ताजा लाखामरीको एउटा प्याकेट मेरो हातमा राखिदिई।
आगन्तुकहरू इन्जोय गरिरहेका छन्। भोजस्थलबीच महादेवको मन्दिर छ। वरिपरि कुर्सी राखिएका छन्। एक हुल निम्तालु भोज खाइरहेका छन्।
आयोजकमध्ये कोही मलाई पनि ‘बसौं, बसौं' भन्दै थिए तर म उभिएर त्यहाँको दृश्य हेरेरै आनन्दित भइरहेको थिएँ। पारम्परिक नेवार बिहेमा पहिलोपल्ट सहभागी भएको थिएँ। काठमान्डुभित्रको यो काठमान्डु मलाई रमाइलो लागिरहेको थियो।
...
बिस्तारै मलाई खाना स्वादिलो लाग्न थाल्यो। च्युरामा अचार, तरकारी र मेथीको झोल पनि मिसाएर खाँदा मजा आउँथ्यो।
आधा घन्टापछि म गंगाको बिहेमा एक्लै भए पनि मजाले भिजिसकेको थिएँ। मैले लप्ते चाटिचुटी पारेँ। एकै सिता केही बाँकी नरहने गरी सिनित्तै बनाएँ।
अब भोज तुरियो होला भनेर वरिपरि हेरेँ।
लौ, कोही उठ्ने सुरसारै गर्दैन त। सबै मज्जाले औंला चाटीचाटी खाइरहेका छन्।
मलाईचाहिँ हतार भयो। आएकै एक घन्टा हुन लागिसक्यो। यहाँ भोज सकिने कुनै सुरसारै छैन। सबै खाइरहेका छन्, बीचैमा हिँड्नु पनि भएन।
कोही उठ्ला र तिनकै सिको गरौंला भनेर पर्खंदापर्खंदै फेरि खाना बोकेका दाइहरू आइपुगे र स्वारस्वार लप्तेमा च्युरा हाल्न थाले।
मेरो पेट भरिइसकेको थियो, तृप्तै हुनेगरी।
छेउमा बसेकी युवतीले फेरि च्युरा थपी। मैले च्युरालाई ‘भो' भनेँ। अरू शाकाहारी परिकारचाहिँ केही चाख्नुपर्ला भन्ने लाग्दै थियो। मासु हाल्देलान् कि भन्ने डर छँदै थियो। हरेकलाई ‘के हो' सोधेरमात्र खाना थप्दै थिएँ।
मेरो असजिलो देखेर सँगैकी युवतीले सोधी, ‘तपाईं मासु खानुहुन्न?'
‘खान्नँ,' मैले मुस्काउँदै भनेँ र भर्खरै उसको लप्तेमा राखेको केको मासु हो भनेर सोधेँ। उसले ठुल्ठुला पिस देखाउँदै ‘चिकेन हो' भनी। भनेपछि नेवार भोजमा चिकेन पनि हुँदोरहेछ। (पछि मैले गंगालाई सोध्दा चिकेनका परिकार नेवार भोजमा पछि थपिएको बताएकी थिई।)
दीर्घकालीन भोजमा मेरी छिमेकी बनेकी यो स्मार्ट युवतीको नाम बिनिता महर्जन रहेछ। हामी कुरा गर्न थाल्यौं। लामो भोजमा गफ गर्ने कोही साथी भेटियो।
अब मैले थप्न लागेको खाना ‘के हो' भनेर सोधिरहनु नपर्ने भयो। बिनिताले नै खाना थप्न ल्याउने मान्छेलाई ‘वय्कःयात ला तया दिमते' भन्न थाली।
‘त्यस्तो भनेको के भनेको?' मैले बिनितालाई उसले नेवार भाषामा भनेको वाक्यको अर्थ सोधेँ।
उसले ‘उहाँलाई मासु नराख्दिनू है' भनेकी रैछ। उसले भनेपछि दाइहरूले मेरो लप्तेमा मासु राखेनन्।
मैले अघि सुरुमै लप्तेमा च्युरा राख्नेबेला दुईजना ज्यापु दाइले मतिर हेरेर कुरा गरेको सम्झेँ र बिनितालाई 'के भनेको' भनेर सोधेँ।
उसले हाँस्दै भनी, ‘बजि मयम्ह गज्याम्ह मनू जुइ' भनेको ‘चिउरा मन नपराउने कस्तो मान्छे हो?' भनेको हो।'
ओहो, दाइहरूले मलाई उडाएका पो रैछन्! म खित्किताएरै हाँस्न थालेँ, वरिपरिका मान्छेले नै हेर्ने गरी।
फेरि मैले बिनितालाई सोधेँ, ‘कति लामो हुने हो तिमीहरूको भोज? कहिले सकिन्छ? मलाई ढिला भइसक्यो।'
उसले अचारको लेदो चाट्दै भनी, ‘पहिलोचोटि आउनुभएको हो नेवार भोजमा? हाम्रो त यस्तै हो, दुईतीन घन्टासम्म चल्छ।'
दुईतीन घन्टा? म तर्सिएँ। बल्ल त एक घन्टा हुँदैछ।
‘तिमीहरू इन्जोय गर्छौ यस्तो भोजमा?' प्यान्ट र टिसर्ट लगाएकी काठमान्डुकी रैथाने युवतीलाई मैले सोधेँ।
‘मलाई त एकदमै मनपर्छ नेवार भोज, खाना खाने तरिका एकदमै सिस्टमेटिक हुन्छ हाम्रो, तपाईंहरूजस्तो सबै परिकार चिल्लो बनाउँदैनौं हामी,' उसले भनी।
मलाई जवाफ आएन। उसको कुरा चित्त बुझ्यो।
अहिलेसम्म खाएमध्ये कुनै परिकार पनि चिल्लो थिएन। सबैखाले पोषण पुग्ने र पच्ने खाना थियो।
ओहो, अब त निकै ढिला भइसक्यो! मलाई हतार भइसक्यो। अझै उठ्न मिल्लाजस्तो छैन।
डेढ घन्टा टक्रक्कै भइसकेको थियो।
...
भोलिपल्ट मैले काठमान्डुको भोज परम्पराबारे अलि पाका नेवार साथीलाई सोधेँ।
‘कति लामो हुँदो रहेछ तिमीहरूको भोज त?'
‘हाम्रो परम्परै यस्तो हो,' साथीले प्रस्ट्यायो, ‘हिजो त चाँडै सकिएछ, डेढ-दुई घन्टामै, हामी अरूबेला त तीन घन्टासम्म लगाएर खान्छौं।'
त्यसपछि उसले नेवार भोजभित्रको विज्ञान बुझाउन थाल्यो।
‘बाहिरबाट हेर्दा नेवार भोज अल्छीलाग्दो र धेरै खाइरहने खालको देखिन्छ, त्यस्तो होइन। हामी लामो समय खाने मात्र हो, धेरै खाने होइन। बिस्तारै खाने। चपाई-चपाई।'
प्रत्येक समारोहमा भोजको प्रकृति फरक-फरक हुँदोरहेछ। कोर्स फरक हुँदोरहेछ।
खाना पाकेपछि उनीहरू पहिला कुलदेउता/इस्टदेउतालाई भाग छुट्याउँदा रहेछन्। त्यसपछि बल्ल पाहुनापासालाई ख्वाउन थाल्दा रहेछन्।
भोज एउटा पूर्ण खानाको समारोह भएकाले बेग्लाबेग्लै चरणमा आउने परिकार र तिनको महŒव साथीले बुझायो।
मैले साथीसँग भएको संवादबाट उसैले भनेका भागमात्र झिकेर राखेको छु, कथा अनावश्यक नलम्ब्याउन।
...
हाम्रो भोजमा सामान्यतयाः चार सरा (चरण) हुन्छ।
पहिलो सरामा लप्ते राखिन्छ। लप्तेसँगै सलिं पनि राखिन्छ। सलिंचामा पहिले थ्वों, त्यसपछि अय्लाः राखिन्छ।
बजि हाम्रो खानाको सबैभन्दा महŒवपूर्ण परिकार हो। बजि त जहाँ पनि हुन्छ, जहिले पनि। तिमीहरूको इन्स्ट्यान्ट नुडल्सजस्तो। फरक खालि, बजि स्वथ्यकर हुन्छ।
बजि राखेपछि लप्तेमा वाउँचा (साग), फसिक्वाः (फर्सी), भुति (बोडी), ला (मासु), अचार राख्छौं। अय्लाः र थ्वों त भइहाले।
यो सकेपछि खानाको दोस्रो सरा सुरु हुन्छ।
त्यसमा पनि बजि सबैभन्दा पहिला, त्यसपछि ला। हिजोआज कुखुराको मासु पनि राख्न थालेका छन्। केगु (केराउ), सिमी, छ्याला क्वाः (सिन्कीको झोल), चना क्वाः (मुलाको चाना), काउली, गोलभेँडाको अचार।
बिस्तारै यो खाइसकेपछि तेस्रो सरा हुन्छ।
बजि त भइहाल्यो। पुकाला (भुटन), पः माय् (ससाना गेडागुडी), पाउँ क्वाः (लप्सीको झोल)। योचाहिँ मुख्य कोर्स पचाउने परिकार हुन्। बीचबीचमा अय्लाः, थ्वों त चलिरहन्छ।
अन्तिम सरामा चाहिँ तिमीहरूले डेजर्ट भन्नेजस्ता परिकार आउँछन्।
बजि त त्यसमा पनि हुन्छ। त्यसपछि चिनी राख्छौं। धौ (दही), सिसापुसा (केराउ, उखु, मुला, सुन्तला) राख्छौं।
सबै खाना सकिएपछि पनि अय्ला खान्छौं। गफ गर्छौं। हल्ला गर्छौं। बल्ल हाम्रो भोज सकिन्छ।
थ्वों, अय्लाः दिने स्वास्नीमान्छे हुन्छन्। हाम्रो परम्परामा अरूबेला स्वास्नीमान्छे बाहिर निस्कँदैनन्। यस्तै भोजमा मात्र हो। यो उनीहरूका लागि एक्स्पोजरको समय पनि हो।
तिमीले हिजो याद गरेको हुनुपर्छ नि, भोजमा ‘भयो, भयो' भन्दा पनि स्वास्नीमान्छे अय्लाः हाल्न खोजिरहेका। ‘भयो, भयो' भन्दा तिमीले उसको मुखमा हेर्नैपर्यो। हाम्रो परम्परामा यो स्वास्नीमान्छेसँग आँखा जुधाउने एउटा तरिका हो। नयाँ मान्छे भेट्ने अवसर।
...
मैले केर्न छाडिनँ, ‘तिमीहरूको भोज त धेरै खर्चिलो, पैसा र समय दुवै थोकको बर्बादीजस्तो भयो नि?'
उसले बडा दार्शनिक टोनमा जवाफ फर्कायो, ‘यदि तिमीलाई कसरी खर्च गर्ने भन्ने आउँछ भने कसरी कमाउने भन्ने पनि जान्दछौ। त्यसपछि कसरी काम गर्ने भनेर पारंगत हुन्छौ।'
उसको एक्स्लेन्ट जवाफ सुनेर म नाजवाफ भएँ।
उसले झनै मौका छोप्यो, ‘अंग्रेजीमा भनिन्छ पनि नि, इफ यु नो हाउ टु स्पेन्ड मनी, यु नो हाउ टु अर्न एन्ड हाउ टु वर्क।'
इन्ट्रेस्टिङ।
साथीले थप्यो, ‘राम्रो काम गर्ने, मेहनतसँग काम गर्ने, राम्रो भोज गर्ने, राम्रो खाने। यो हाम्रो परम्परा हो।'
उसले अझै थप्यो, ‘तिमीहरूको जस्तो पार्टी भन्यो, आयो, ठाड्ठाडै खायो, सिता पेटमा राम्ररी तेर्सो नपरी कुदिहाल्यो- यस्तो होइन हाम्रो भोज। आरामले खाने। खानु जीवनको सबैभन्दा महŒवपूर्ण काम हो। तिमीहरू त्यो पनि हतारमा गर्छौ।'
कुरा त ठिकै हो!
‘च्युराचाहिँ नभई नहुने किन नि नेवार भोजमा?' मैले अझै सोधेँ।
‘दुइटा कारणले, एउटा यो कार्बोहाइटे्रडको राम्रो स्रोत हो, अर्को च्युरा नचपाई खान सकिँदैन। चपाउने क्रियाले तिमीभित्र रहेको हिंसा समाप्त हुन्छ। धेरै चपाएर खाने मान्छे कम हिंस्रक हुन्छ। याद गरेका छौ?'
मैले पनि कतै पढेको थिएँ।
...
अघिल्लो दिन गंगाको बिहेमा भोज नसकिए पनि बिनितासँग गफ गर्न थालेपछि मलाई समय काट्न अलि सजिलो भएको थियो।
बल्ल खानाको दोस्रो चरण सकिएको थियो। डेढ घन्टा बितिसकेको थियो।
तेस्रो र चौथो चरण आउनै बाँकी थियो।
बिहेमा झन्डै दुई घन्टा, त्यसमाथि पनि सुकुलमै पलेँटी कसेर डेढ घन्टा बसेकाले मलाई हतार त छँदै थियो, अल्छी पनि लाग्न थाल्यो।
तेस्रो चरणमा आएको बजि थप्नेबेला म केही बोलिनँ। सुरुमै खाएको बजि पेटको अन्तरकुन्तरमा कतै हराइसकेको थियो।
दाइले एक मुठी बजि स्वार्रर मेरो पल्तेमा राखिदिए। मैले सँगै आएको गेडागुडी र लप्सीको अचारसँग स्वाद मान्दै भोजको त्यो सेट पनि पूरा गरेँ।
चौथो चरणमा भने बजि बोकेका दाइ मतिर नहेरी हिँडे। सायद मलाई पुग्यो भन्ठाने होलान्। मेरो लप्तेमा दही, चिनी र सिसापुसा आइसकेको थियो।
सायद अन्तिम परिकार- एउटा रसवरीको डल्लो पनि मेरो लप्तेमा खस्यो।
बजिबिनै दही र चिनीको एक गाँस हालेपछि मुखै गुलियो भयो।
सोचेँ- यसमा अलिकति च्युरा हाल्न पाए स्वादै बेग्लै हुन्थ्यो होला!
बजिको भाँडा बोकेर पर पुगिसकेका दाइलाई ठूलो स्वरमा बोलाउँदै भने, ‘मलाई अलिकति बजि थप्नू त!'
दाइ दौडँदै मेरो छेउमा आए र हातभरि च्युरा राखेर सोधे, ‘कति?'
‘हाल्दिनुस् न त्यत्ति,' मैले घटाउन चाहिनँ। दाइले स्वार्रर मेरो लप्तेमा एक मुठी बजि हालिदिए।
मैले दही, च्युरा र चिनी मुछ्दै गर्दा बिनिता र उसका बहिनी उठिसकेका थिए।
प्रकाशित: ९ वैशाख २०६९ ०७:३० शनिबार