अन्य

मगमगाउँदो टोखा

टोखा अर्थात् उखु खेत।  यतिबेला टोखामा  उखुबारी होइन, अपार्टमेन्ट  ठडिएका छन्। तैपनि, चाकु बनाउन छाडिएको छैन।  उखु नरोपे पनि सखर किनेर किसानले माघेसंक्रान्तिका लागि धमाधम चाकु बनाउँदै छन्।  टोखा चाकुको सुगन्धले मगमगाएको  छ।

‘टोखामै चाकु बनेन भने  अरूले के  भन्लान्,’ ६० वर्षीय  न्हुँच्छेनारायणले भने,’ उखु नरोपे पनि सखर किनेर  चाकु बनाउँदै आएका छौँ।’  उनी मंसिर र पुसमा निकै व्यस्त हुन्छन्। चाकु बनाउँदै आएको चार दशक बढी भएको उनले बताए।

कोही सखर पकाउँदै, कोही खुदो मस्काउँदै, कोही हत्केलामा राखेर चाकुलाई आकार दिँदै थिए। उनीहरुलाई भ्याइनभ्याई छ। चाकु बनाउन मात्र होइन, चाकुको खबर सम्प्रेषण गर्न आएकालाई अन्तर्वार्ता दिन पनि  उनी उत्तिकै व्यस्त छन्।

‘यो दुई महिनाको व्यापारले वर्षभर  हामीलाई पाल्छ,’ उनले हाँस्दै भने, ‘त्यसैले अहिले खेताला लगाएर भए पनि  चाकु बनाउँदै छाैँ।’

टोखाको चाकुले राम्रै भाउ पाउने उनले सुनाए। ‘काठमाडौं र मुलुकका अन्य भागमा मात्र होइन, यहाँका चाकु जापान र

अमेरिका पनि पु-याइन्छ,’ उनले भने, ‘त्यसैले हाम्रो यो पेसा सखर किनेर पनि जीवन्त छ।’

न्हुँ च्छेनारायण सखरबाट चाकु बनाएको सुनाउँदै थिए। ८० वर्षीया आमा लक्ष्मी श्रेष्ठ मुस्कुराइन्। उनको समयमा सखर किनेर होइन, उखु पेलेरै चाकु बनाइन्थ्यो। ‘हामी सानो छँदा  उखुको रस पकाएर चाकु बनाएको याद छ,’ उनले भनिन्, ‘त्यति बेला टोखाका बारी उखुले  ढाकिएका हुन्थे।’

उखुको लाक्रा चुसेर चाकु बनाउँदै गरेको याद उनलाई अझै ताजा छ। ‘त्यति बेलाका चाकु अहिलभन्दा निकै स्वादिला,’ उनले भनिन्, ‘समयसँगै चाकुको स्वाद फेरिएको छ।’

माघेसंक्रान्ति नजिकिँदै गर्दा  यो  परिवारमा झैँ   टोखाका अन्य  चाकु व्यवसायीलाई भ्याइनभ्याइ छ। विशेषगरी माघेसंक्रान्ति तथा जाडोमा चाकुको बढी खपत र व्यापार हुने भएकाले उनीहरू  चाकु बनाउन व्यस्त भएका हुन्।

टोखा चाकुका लागि चर्चित छ। टोखामा बनाइएका चाकु काठमाडौंको असन, न्युरोड, नयाँ बजारलगायत सहर बजारसँगै विदेशमा समेत  निर्यात गरिन्छ। एक–दुई महिना गरेको दुःखले वर्षभरि गुजारा चल्ने उनीहरू बताउँछन्।

‘चाकुबाट आम्दानी राम्रै छ,’  अर्का व्यवसायी आशाकुमारी श्रेष्ठ भन्छिन्, ‘त्यसैले अहिले पनि एक दर्जन चाकु उद्योग सञ्चालित  छन्।’

उनले चाकु बनाउन  कामदारसमेत राखेको सुनाइन्।  टोखाको चाकु व्यवसायलाई सहयोग पु-याउन नगरपालिकाले पनि चासो देखाउन थालेको छ। चाकुकै नामले चर्चित टोखामा उखु खेती पनि हुनुपर्ने माग बढेपछि नगरपालिकाले किसानलाई सहयोग गर्न चासो देखाएको हो। ‘हाललाई उखु किसानलाई सहुलियत दिने व्यवस्था गरेका छौँ,’ टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले भने, ‘यसतर्फ केही किसानले चासो देखाउनुभएको छ।’

प्रकाशित: २६ पुस २०७६ ०३:१६ शनिबार

टोखा चाकु