अन्य

‘भिक्षा माग्दैमा भिक्षु हुँदैन’

बसन्त महर्जन
बौद्ध समाजमा ‘चतुपरिषद्’ भनी भिक्षु–भिक्षुणी र उपासक–उपासिकालाई स्थान दिइएको हुन्छ।यो परिषद् सबल हुनु भनेको बुद्ध शासन दृढ हुनु हो।स्वयं बुद्ध पनि आफूलाई भिक्षु नै भन्थे।सामान्यतः भिक्षु र भिक्षुणी शब्दले भिक्षा लिएर खाने अर्थात् मागी खाने व्यक्तिलाई जनाउँछ।तर, बौद्ध समाजमा यस शब्दको अर्थ वा गरिमा शाब्दिक अर्थले मात्रै खुल्दैन।यसका लागि बौद्ध दृष्टिकोणबाट नै हेर्न आवश्यक हुन्छ।

भिक्षु कसलाई भन्ने र कसलाई नभन्ने भन्नेबारे ‘संयुक्तनिकाय’को ‘भिक्खक–सुत्तं’मा गौतम बुद्धले सविस्तार व्याख्या गरेका छन्।बुद्धको उपदेश वा दर्शन धाराप्रवाहको प्रवचन वा एकोहोरो नभएर घटना विशेष र भिक्षु तथा अन्य व्यक्तिसँगको संवादमा आधारित हुन्छन्।प्रत्येक प्रसंग वा विषयवस्तुलाई अलग–अलग अध्यायमा विभाजित गरिएका हुन्छन् र अध्यायलाई नै ‘सुत्तं’ (पालि) वा ‘सूत्र’ (संस्कृत) भनिएको हो।भिक्षा माग्ने एक ब्राह्मण श्रावस्तीस्थित जेतवन विहार प्रवेश गर्छन् र बुद्धसँग वार्ता गर्ने चाहना राख्छन्।बुद्धसँग उनी सोध्छन्, ‘म पनि भिक्षुक हुँ, तपाईं पनि भिक्षुक हुनुहुन्छ।उसो भए हामी दुईबीच के फरक छ र ?’ माग्दै हिँड्नेलाई त ‘मगन्ते’ पो भनिने हो।बुद्धले पनि ‘भिक्षा मागी हिँड्दैमा भिक्षु हुँदैन’ भनेर बताए।बुद्धका अनुसार अकुशल धर्म ग्रहण गरुन्जेलसम्म कोही पनि व्यक्ति भिक्षु हुन सक्दैनन्।

अब कुशल र अकुशल धर्म के हो भन्ने प्रश्न उठ्छ।दान, शील, भावना, जेठापाकाहरूको आदर, अरुको सेवा र आफन्तलाई मद्दत गर्नु, आफूले गरेको पुण्य अरुलाई बाँड्नु, अरुको पुण्यमा प्रशन्न हुनु, धर्मसेवन, धर्मदेशना र सम्येक दृष्टि राख्नु कुशल कर्म हो।कुशल कर्मलाई बढाउँदै लानुपर्छ।यी कुशल कर्मले आफ्नो र अरुको तथा समाजको तत्कालै भलाई हुने त छँदैछ, पुण्य पनि कमाइन्छ।यही पुण्य बलले अन्य असल कर्म सम्पादन गर्न सहज बन्ने हुन्छ।यसको विपरित अकुशल कर्म हुन्छ।हिंसा गर्नु, चोरीमा संलग्न हुनु, कामवासनामा लिप्त हुनु, झुठो बोल्नु, चुकली गर्नु, गालीगलौजमा उत्रनु, अरुलाई बिगार्ने वा फाटो ल्याउने काम गर्नु, लोभलालची हुनु, दुष्टचित्त जगाउनु, र असत् मार्गमा लाग्नु अकुशल कर्म हो।झट्ट हेर्दा अकुशल कर्मले अरुको मात्रै हानी नोक्सानी गर्ने देखिन्छ।तर, यसले तत्कालै आफ्नै पनि हानी नोक्सानी गरिरहेको हुन्छ।कानुनी कारवाहीमा पर्ने, बदनामी हुने तथा समाजमा छिछिदूरदूर हुने त छँदैछ, आफ्नो विकासमा पनि प्रतिकूल असर पर्ने हुन्छ।कानुन र समाजको आँखा छल्न त सकिएला।तर, आफूले आफैलाई त कुनै पनि हालतमा छल्न सकिन्न।पाप धुरीबाट कराउँछ भनेजस्तो त्यस अकुशल कर्मको नतिजा तत्कालै वा केही समयपछि त भोग्नै पर्ने हुन्छ।बौद्ध दर्शनमा जीवनलाई यही जन्ममा सीमित गरेर हेरिन्न अर्थात् अकुशल कर्मको फल अर्को जन्ममा भए पनि भोग्नै पर्ने हुन्छ।

मगन्तेहरू मागेर खान्छन् मात्र, केही गर्दैनन्।बौद्ध समाजलाई परैबाट देखेका तर बुझ्न नसकेकाले अर्थ लगाउने पनि यही हो।भिक्षु केही गर्दैनन्, उत्पादनशील छैनन् र राष्ट्रको विकासका लागि बाधक हुन्छन् भन्ने उनीहरूको सामान्य बुझाइ रहेको पाइन्छ।एक ठाउँमा पलेटी कसेर चुपचाप बसेकोलाई ध्यान गरेको भनेर त बुझ्छन्।तर, त्यसको उपादेयता बुझ्दैनन्।भिक्षुलाई अध्ययनमा पनि लागिरहेको देख्छन्।तर, त्यसलाई पनि खासै अर्थ दिन्नन्।बौद्ध भिक्षु अध्ययन र ध्यानमा मात्रै बन्दैनन्, शील पालनामा पनि उत्तिकै जोड दिन्छन्।विभिन्न धर्मदर्शनको कुरा अध्ययन गर्नु र ध्यान भावना गर्नुले ज्ञान प्राप्ति हुन्छ।यी भिक्षु भिक्षा मात्रै लिँदैनन्, भिक्षा दान गर्नेलाई उपदेश पनि दिन्छन्।उपदेश त्यत्तिकै आउँदैन।अध्ययन, चिन्तन–मनन तथा ध्यान भावनाबाट प्राप्त ज्ञानलाई नै उपदेशका रूपमा प्रदान गर्ने हुन्।यिनीहरू शीलवान पनि हुन्छन्।

भिक्षुले भिक्षा लिएर जीवन निर्वाह गर्नुको गुह्यार्थ अरु पनि छन्।जीवन निर्वाहका लागि आम्दानी हुने काम गर्नुपर्छ।तर, त्यसरी काम गर्दा अध्ययन र चिन्तन–मनन गर्ने फुर्सद पाइँदैन।अध्ययन, चिन्तन–मनन र ध्यान गरेर बस्न सक्नु भनेको एउटा विशेष गुणको विकास गर्नु हो, यो गुण भएको मान्छे पनि कामकाजमा अल्झिनु भनेको समाजलाई तुलनात्मक रूपमा नोक्सान हो।बरु ती गुण भएकालाई त्यस्तै साधना गर्ने वातावरण जुटाइदिएर आफूहरूले काम गर्ने र भिक्षा दिएर ज्ञान प्राप्त गर्नु राम्रो हो।

यसरी नै भिक्षा लिनु र दिनु भनेको दान पारमितामा सहभागी हुनु हो।व्यक्तिको एउटा ठूलो कमजोरी आफूमा निहित अहंकार पनि हो।अरुको हातबाट भिक्षा लिने र त्यसैबाट जीवन निर्वाह गर्नु उक्त अहमपनालाई घटाउँदै लाने एक प्रकारको अभ्यास पनि हो।भिक्षुमध्ये कोही कोही धनाढ्य बाबुको छोरा मात्र नभएर राजा वा राजकुमारको पद छाडेर धर्मअभ्यासका लागि शील पालना गरी सर्वसाधारण जस्तै आएका पनि हुनसक्छन्।आफ्नो अपार सम्पत्ति छाडेर भिक्षु हुने तथा भिक्षाबाट नै जीवन निर्वाह गर्नु यसको उदाहरण हो।यसरी नै मानवको सबैभन्दा ठूलो शत्रु तृष्णा हो।तृष्णालाई क्षय गर्ने एउटा काइदा वा अभ्यास दान दिनु पनि हो।दानको महिमाबारे उल्लेख गर्दा सुन–चाँदीको पहाड दान लिन छाडेर दिपङ्कर बुद्ध एउटी बूढी किसानको हातबाट एक अञ्जुली गहुँ थाप्न गएको प्रसंग उल्लेखनीय छ।बौद्ध समाजमा दान दिँदा आनन्दको अनुभूति गर्नसक्नु धर्मको बाटोमा लाग्नु हो।यो धर्मको अभ्यास पनि हो।यही भएर भिक्षु दान दिनका लागि मान्छेलाई उत्प्रेरित गरिरहेका हुन्छन्।

भिक्षुले प्राप्त गरेको दान व्यक्तिगत हुँदैन।आफ्नो दैनिक जीवन गुजार्न आवश्यक कुरा खर्च गरेर यस्तो दानलाई व्यक्ति र समाजकै हितमा पुनः दान गर्ने गरेको पाइन्छ।थोरै दान संकलन गरेर ठूल्ठूला निर्माण संरचना बनाउने तथा सामाजिक कार्यमा लगाउने गरेको पाइन्छ। अब प्रश्न उठ्छ, दान कसलाई दिने त ? चोर, ठग, लुच्चा, अल्छीलाई दान दिनुको अर्थ छैन।त्यस्तालाई दान दिनु भनेको उनमा भएको तृष्णालाई अझ बढाइदिनु हो।दिएको दानबाट भत्ती पसलमा गई रक्सी खान जान्छ भने अझ खराब हुन्छ।त्यस्तो दानले हातहतियारको खरिद गरी हिंसा मचाउने तथा विष किनेर कसैले खुवाउँदा मान्छे वा कुनै प्राणीको मृत्यु हुँदा झनै नराम्रो हुन पुग्छ।सामान्यतः दान दिँदा पुण्य कमाइन्छ भनिन्छ।तर, अपात्रलाई दिएको दानले पुण्य कमाइन्न।यस अर्थमा शीलले सम्पन्न भिक्षुलाई दान दिनु पुण्यकार्य हो।

दान दिनु र दान लिनु दानपारमिताको अभ्यास जरुर हो।दान लिँदा र दिँदा अहम र तृष्णा क्षय गर्न मद्दत पनि पुग्छ।तर, भएको सम्पत्ति दान दिनु भनेको सम्पत्ति कमाउने उद्योग नगर्नु भनेको होइन।यसलाई अलि व्यापक रूपमा पनि बुझ्नु पर्ने हुन्छ।दान दिँदा आनन्दको अनुभव हुने र पुण्य कमाइने हुँदा यसमा अझ प्रेरित हुन्छन् र यसका लागि अझ क्रियाशील उद्यमी बन्नु नितान्त आवश्यक छ।उद्यमी हुँदा समाज र राष्ट्रको लागि योगदान पुग्ने त छँदैछ, सामाजिक कार्यमा पनि यथेष्ट मात्रामा सहयोग पुगिरहेको हुन्छ।सम्पत्तिले तृष्णा जगाउने कुरा जरुर हो।तर, तृष्णाले पार्ने नकारात्मक प्रभाव दानशील व्यक्तिमा पर्दैन।बौद्ध धर्मदर्शनले व्यक्तिलाई अकर्मण्य बनाउने नभएर कर्मण्य नै बनाउने हो, सबल र सशक्त नै बनाउने तथा बहुश्रुत हुन प्रेरित गरेको हुन्छ भन्ने कुराको दृष्टान्त चर्चित ‘मंगल सूत्र’ हो, जसमा के–के गर्दा मंगल हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ।  ‘म पनि भिक्षुक हुँ, तपाईं पनि भिक्षुक हुनुहुन्छ।हामी दुईबीच के फरक छ ?’ भनेर बुद्धसँग प्रश्न गर्ने ब्राह्मणलाई बुद्धले भिक्षु कसलाई भन्ने सन्दर्भमा दिएको अर्को जवाफ हो, ‘जसले पुण्य र पापलाई त्यागी, ब्रम्हचर्य पालन गरी, ज्ञानी भई लोकमा विचरण गर्छ, त्यसलाई मात्र भिक्षु भनिन्छ ।’  

प्रकाशित: १४ असार २०७६ ०७:०७ शनिबार

बौद्ध_समाज भिक्षा भिक्षु