अन्य

फुकुयामाको ‘पहिचान’ र ‘अन्तिम मानिस’

कृष्ण के.सी.
सन् १९९८ मा भारत र पाकिस्तानको आणविक बम परीक्षणपछि बुकर विजेता लेखिका अरून्धती रोयले एउटा रोचक लेख ‘द एन्ड अफ इम्याजिनेसन’ लेखिन्। उक्त आणविक परीक्षणलाई लिएर हिन्दूस्तान र पाकिस्तानका सडक पेटीमा मानिस भने पटाका पड्काउँदै र मिठाई बाँड्दै हर्षोल्लास मनाइरहेका थिए। रोय भने त्यसै घटनालाई ‘कल्पनाको अन्त्य’ भन्दै केही मानिस जम्मा पारी नयाँ दिल्लीको एउटा आडिटोरियममा त्यसैविरुद्ध भाषण गर्दै थिइन्।

रोयलाई विद्रोही बौद्धिक वा ‘डिसिडेन्ट इन्टेलेक्च्युल’का रूपमा पहिचान दिएको पहिलो भाषण थियो त्यो। त्यही भाषण ‘फ्रन्टलाइन’ र ‘आउटलुक’ म्यागेजिनमा ‘द एन्ड अफ इम्याजिनेसन’ शीर्षकको निबन्धका रूपमा प्रकाशित भयो। रोयको उक्त निबन्धले भारतीय अझ भनौँ अन्तर्राष्ट्रिय जगत्मा तीव्र प्रतिक्रिया जन्मायो। निबन्धको शीर्षक आकर्षक र आव्रmोशित गर्ने खालको थियो। रोयको उक्त निबन्धको शीर्षकले सृजना गरेको गम्भीर प्रश्न के हो भने संसारका उत्कृष्ट मगजहरूलाई ‘द एन्ड’ वा अन्त्यले किन यति धेरै आकर्षित गर्छ ?

फुकुयामाजस्ता उच्च कोटिका प्राज्ञले दिएको उक्त स्पष्टोक्तिको आधिकारिक व्याख्या त अमेरिकी वा अन्य मुलुकका भाषाविद्हरूले गर्लान्। तर, फुकुयामाले उनको नयाँ पुस्तक ‘आइडेन्टिटी’मा इतिहास अन्त्यको बहसलाई विषयान्तर गर्न खोजेको संकेत गरेका छन्।

सन्दर्भ फ्रान्सिस फुकुयामाको लेख ‘द एन्ड अफ हिस्ट्री ?’को हो। सन् १९८९ मा फुकुयामा एउटा अमेरिकी थिंक ट्यांक रान्डमा सोभियत संघसम्बन्धी उपनिर्देशक थिए। पछि उनी अमेरिकी विदेश विभाग ‘स्टेट डिपार्टमेन्ट’मा कार्यरत रहे। खासै प्राज्ञिक जगत्मा बलियो पकड नजमाएका फुकुयामाले सन् १९८९ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय मामिलामा एउटा प्रवचन दिए। शीतयुद्ध अन्त्य ताकाको त्यस भाषणले अमेरिकी सञ्चार एवम् प्राज्ञिक जगत्लाई हल्लाइदियो। फुकुयामाको उक्त भाषण प्राज्ञिक जगत्मा त्यति धेरै चर्चा नपाएको ओएन ह्यारिसको ‘द न्यासनल इन्ट्रेस्ट’ नामको पत्रिकामा ‘द एन्ड अफ हिस्ट्री ?’ शीर्षकमा पहिलो पटक छापियो। प्रश्नवाचक चिन्हसहित छापिएको उक्त आलेखले लेखक र पत्रिका दुवैको प्रतिष्ठालाई अकस्मात् उचालिदियो। पछि अमेरिकाको प्रसिद्ध पत्रिका ‘न्युयोर्क टाइम्स’ म्यागेजिनले उक्त लेखलाई पुनः प्रकाशित गरिदियो। फुकुयामाको उक्त लेखले विश्वव्यापी तीव्र प्रतिव्रिmया एवं आलोचना निम्त्यायो। पछि यी सबै प्रतिव्रिmयालाई समेटेर फुकुयामाले एउटा विश्वप्रसिद्ध चर्चित पुस्तक ‘द एन्ड अफ हिस्ट्री एन्ड दि लास्ट मेन’ नामक पुस्तक तयार पारे। उक्त पुस्तकमा फुकुयामाको मूल सन्देश सोभियत संघको विघटनले विचारधाराको बहसको इतिहासलाई अन्त्य गरिदिएको छ। अब आम मानिसहरूका लागि शासन प्रणालीको एक मात्र वैधानिक व्यवस्था पूँजीवादी उदारवाद हो। यो प्रणालीभित्रका मानिसहरू नै ‘अन्तिम मानिस’ हुन्।

नेपालमा पनि यसको बारेमा गम्भीर विमर्श भयो। तर, बजारका साधारण चिया पसलदेखि विश्वविद्यालयका कक्षाकोठासम्म, विद्यार्थीदेखि प्राध्यापकसम्म, दलका कार्यकर्तादेखि नेतासम्मले यसका पक्ष र विपक्षमा बहस गरे। समाजविज्ञानमा एउटा निश्चित घटनालाई लिएर भविष्यवाणी गर्नु ज्यादै दुस्साहसी एवम् जोखिमयुक्त कार्य हो। फुकुयामालाई मात्र सोभियत संघको विघटन र पूर्वी युरोपमा समाजवादी प्रणालीको एक वर्ष नहुँदै इतिहासको अन्त्यको घोषणा गर्न कुन तŒवले उत्प्रेरित ग¥यो, त्यो त उनी स्वयं नै जानुन्। तर, पश्चिमा प्राज्ञहरूले भने उनको भविष्यवाणीबारे प्रश्न तेस्र्याए।

‘कुन इतिहासको अन्त्य ?’, ‘के विचारधाराले इतिहासको प्रतिनिधित्व गर्छ ?’, ‘उदारवादी प्रणालीको दीर्घकालीन स्थायीत्वको भविष्यवाणी गर्ने आधार कुन–कुन हुन् ?’, ‘चीन, क्युबा, उत्तर कोरिया र अरेबियन मुलुकका बारेमा तिम्रो अवधारणा के हो ?’ उक्त पुस्तकको सफलतापश्चात् फुकुयामालाई यी एवम् यस्तै अन्य प्रश्नहरूले सधैँभरि पछ्याइरहे। फुकुयामाको पछिल्लो पुस्तक ‘आइडेन्टिटी द डिमान्ड फर डिग्निटी एन्ड द पोलिटिक्स अफ रिजन्टमेन्ट’ उनीमाथि ते¥र्साइएका विविध प्रश्नका उत्तरको रूपमा लिन सकिन्छ।

फुकुयामा आफ्नो नयाँ पुस्तक ‘आइडेन्टिटी’मा उनको पुरानो पुस्तक ‘द एन्ड अफ हिस्ट्री’बाट भयाक्रान्त छन्। उनको पुस्तक शीर्षकको ‘एन्ड’लाई ‘अन्त्य’को रूपमा अथ्र्याइएकोमा चिन्तित छन् उनी। उनको स्पष्टोक्ति छ–पुस्तकमा उल्लिखित ‘एन्ड’को अर्थ ‘लक्ष्य’ एवम् ‘उद्देश्य’ हो। फुकुयामाजस्ता उच्च कोटिका प्राज्ञले दिएको उक्त स्पष्टोक्तिको आधिकारिक व्याख्या त अमेरिकी वा अन्य मुलुकका भाषाविद्हरूले गर्लान्। तर, फुकुयामाले उनको नयाँ पुस्तक ‘आइडेन्टिटी’मा इतिहास अन्त्यको बहसलाई विषयान्तर गर्न खोजेको संकेत गरेका छन्। अर्काे शब्दमा भन्ने हो भने इतिहास अन्त्यको बहसलाई संशोधन गरिदिएका छन्। इतिहासविद् एवं समाजविज्ञानका विज्ञहरूले बहसका क्रममा इतिहास एवम् मूल विषयको संशोधनलाई गम्भीर रूपबाट ग्रहण गर्छन्। अर्को पक्ष के पनि हो भने जब प्राज्ञहरू सैद्धान्तिक बहस एवम् प्रश्नहरूको कठघरामा उभिन बाध्य हुन्छन्, प्राविधिक शब्दावली ‘जारगोन’ एवं बहुअर्थी शब्दजालको रणनीति प्रयोग गरी उम्कने प्रयत्न पनि गर्छन्। कतै फुकुयामाको उल्लिखित स्पष्टोक्ति यसै चालको प्रयोग त होइन ? प्रश्न गर्ने ठाउँ दिएको छ उक्त संशोधनले।

फुकुयामा आफ्ना सैद्धान्तिक एवम् दार्शनिक विश्लेषणहरूमा प्लेटो एवम् सुकरातकालीन ग्रिक शब्द ‘थाइमस’को प्रयोग गर्छन्। यसलाई आत्माको तेस्रो भाग मानिन्छ। ‘थाइमस’ व्यक्तिको आत्मपरक स्वाभिमान वा पहिचानको खोजी हो। व्यक्तिहरूले अरूबाट आत्मसम्मानको खोजी गर्छन्। स्वाभिमानको खोजीमा ‘थाइमस’का दुई पक्षले काम गर्छन्। एउटा पक्षले आफूलाई अरूभन्दा श्रेष्ठ एवम् उच्च ठान्ने अहंकार प्रस्तुत गर्छ। यसलाई ‘मेगालोथाइमिया’ भनिन्छ। अर्को पक्षले अन्य व्यक्तिसँग समान हैसियतको अपेक्षा गर्छ। यसलाई ‘आइसोथाइमिया’ भनिन्छ। जब मानवीय अन्तरात्माको ‘थाइमस’मा अवस्थित अहंकारको प्रस्तुति र समानताको अभिलाषाबिच बेमेल हुन्छ, त्यसले व्यक्तिको स्वाभिमानमा चोट पु¥याउँछ। फुकुयामाका विचारमा संसारका अधिकांश पहिचानका द्वन्द्वहरू मानिसका मनभित्रका यिनै ‘मेगालोथाइमिया’ र ‘आइसोथाइमिया’को मतान्तरका उपज हुन्।

फुकुयामाले मानवीय स्वाभिमानको ठेसलाई लिएर एउटा सजीव घटनाको चित्रण गरेका छन् पुस्तकमा। सन् २०१० को डिसेम्बर १७ मा एउटा ट्युनिसियाका सडक व्यापारी मोहम्मद बउजाइजीलाई स्वीकृतिबिना व्यापार गरेको भन्दै एउटी महिला प्रहरीले गालामा एक चड्कन लगाई उसका बिक्रीका सामानहरूलाई आफ्नो नियन्त्रणमा लिइन्। अरेबियन जस्तो अति पुरुष वर्चस्व रहेको समाजमा उक्त महिला प्रहरीको झापड पुरुष बउजाइजीलाई सह्य भएन। उक्त घटनाले उनको स्वाभिमानमा ठूलो चोट पु¥यायो। उनले उक्त घटनाका विरुद्धमा ट्युनिसियाको अदालतमा याचिका दायर गर्न चाहे। तर, सरकारी अधिकारीहरूले उनको याचिकालाई ठाडै खारेज गरिदिए। बाउजाइजीले अपमानको पीडा सहन नसकी ग्यासको पाइपमाथि तेल खन्याएर आत्मदाह गरे। सामाजिक सञ्जालमार्फत् यो घटनाको समाचार जंगलको डढेलोझैँ सम्पूर्ण अरब जगत्मा व्याप्त भयो। यसको झिल्कोले अधिकांश मध्यपूर्वका देशहरूमा ‘अरब स्प्रिङ’ नाम गरेको आन्दोलनको आँधीबेहरी सृजना ग¥यो। यसले ट्युनिसिया, सिरिया, इजिप्ट र लिबियाका शासकहरूको कुर्सी हल्लाइदियो। इजिप्टमा लामो समय शासन गरेका राष्ट्रपति होस्नी मुबारकलाई पदच्युत गरायो। सिरियामा मात्रै झन्डै चार लाख मानिसको हत्या भयो। स्वाभिमानको पहिचानका लागि त्यत्रो भौतिक एवम् मानवीय क्षति चुकाउन एवं सहन तत्पर हुन्छन् मानिस। फुकुयामाको विचारमा पहिचानको सामूहिकीकरण निरंकुश राष्ट्रवाद एवम् धार्मिक कट्टरताका रूपमा देखा पर्छ। यस्ता सामूहिक पहिचान प्रियतावाद र अतिवादमा परिणत भई समाजमा हिंसात्मक विद्रोहमा ओर्लन्छन्।

फुकुयामाले आफ्नो ‘द एन्ड अफ हिस्ट्री एन्ड दि लास्ट मेन’मा नित्सेको ‘अन्तिम मानिस’लाई पुनर्परिभाषित गरेका छन्। फुकुयामाको उक्त पुनःसिर्जित ‘अन्तिम मानिस’ उदारवादी संरचनाभित्रका लक्ष्यविहीन, महत्वाकांक्षाविहीन बलिदानी भावनारहित सृजना र कल्पनाविहीन मानिस हो। उनको १९९२ को उल्लिखित पुस्तकमा सृजित उक्त मानिस वर्तमानको ‘पहिचानको युग’सम्म आइपुग्दा धेरै आरोह एवं अवरोह झेल्न अभिशप्त छ। शीतयुद्धको अन्त्यले सृजनशीलता र वैचारिक विकल्पलाई त्यस मानिसबाट खोसिदिएको छ। यसले मानिसका मनमा अन्तर्निहित अदृश्य नकारात्मक शक्तिहरूको खतरा झेल्न अभिशप्त छ। यसले ट्विन टावर र पेन्टागनको हमला भोगेको छ, आर्थिक मन्दी भोगेको छ, ट्रम्प, इमान्यूअल म्याव्रmोन र बे्रक्जिटको उदय देखेको छ। निराकार, अदृश्य र तरल छ त्यो ‘अन्तिम मानिस’। त्यो राजनीतिक रूपमा बेइमान पनि छ। ओबामाको सामाजिक सुरक्षा सुविधाको उपभोग गर्छ, डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा विजय गराइदिन्छ। युरोपका विभिन्न भागमा गई रोजगारी र व्यापारको सुविधा लिन्छ, बेलायतमा ब्रेक्जिटको निर्णय गर्छ। यसैले यो ‘अन्तिम मानिस’ निराश, त्रसित र भयाक्रान्त छ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री एवं दर्शनशास्त्री अमत्र्य सेनले पहिचानमा आव्रmोश र हिंसाको प्रयोगलाई ‘दिग्भ्रमित पहिचान’को संज्ञा दिएका छन्। सेनको विचारमा एउटा व्यक्ति आफैँ बहुपहिचानको प्रतीक हो। एउटै समयमा ऊ कसैको छोरा हो, कसैको नाति हो, कसैको पति हो, विश्वविद्यालयको प्राध्यापक हो, निश्चित धर्मको अनुयायी हो, निश्चित विचार वा दर्शनमा आस्थावान् व्यक्ति हो आदि। यी बहुपहिचानले हिंसा र आव्रmोशलाई मत्थर पार्न मद्दत गर्छन् सेनको विचारमा।

यी फुकुयामा र सेनले दिएका पहिचानका दुई पृथक् अवधारणा हुन्। यसले पहिचानको सवाल वर्तमानको जटिल सामाजिक सबाल हो भन्ने पुष्टि गरेको छ। जे होस्, फुकुयामा वर्तमान समाज–विज्ञानका कुनै एक समयका त्यस्ता नव–अनुदारवादी (नियो–कन्जरभेटिव) राजनीतिशास्त्री हुन्, जसका कृतिमा उदारवाद, हिगेल र माक्र्सको चर्चा गरिन्छ। त्यसैले फुकुयामाको विश्लेषणबिना उनका समालोचक र कट्टर आलोचक पनि अधुरो महसुस गर्छन्। उनको भर्खरै प्रकाशित पुस्तक ‘आइडेन्टिटी’मा उनले हाललाई ‘इतिहास अन्त्य’को बहसलाई अन्त्य गर्दै पहिचानको बहसको सुरुवात गरेका छन्। उदारवादी लोकतन्त्रको भविष्यमाथि नै शंकाको बादल मडारिरहेको वर्तमान परिवेशमा पाठक भने प्रतीक्षा गरिरहेछन् – के फुकुयामाको यो पहिचानको नयाँ बहसको सुरुवातले ‘इतिहासको अन्त्य ?’जस्तै विश्वव्यापी गम्भीर क्रिया–प्रतिव्रिmया सिर्जना गर्न सक्ला ? प्रोफाइल बुक्सले छापेको पुस्तकको मूल्य आठ सय रूपैयाँ छ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०३:५३ शनिबार

फुकुयामा पहिचान अन्तिम।