अन्य

बुद्धसम्बन्धी भ्रम

दिनेशराज पन्त
काठमाडौंबाट कान्तिपुर पब्लिकेसन (प्रा)लिद्वारा प्रकाशित विसं २०७६ ज्येष्ठ ६   गतेको कान्तिपुर २७ वर्ष ९१ अंकको  १६  पृष्ठमा छापिएको मनोज पौडेलको बेबी बुद्ध भित्र्याउँदा हर्षबढाइँ भन्ने खबरमा कपिलवस्तु र देवदह सहर बीचमा लुम्बिनी शालोद्यान पथ्र्यो, रानी त्यहाँ पुगेपछि मनोरम उद्यानको आनन्द लिन पाल्कीबाट ओर्लिन् ।

प्राकृतिक सौन्दर्यको सुखानुभूति गरिरहेको बेला उनले शारीरिक स्वभावमा परिवर्तन  भएको अनुभूति गरिन् । नजिकैको सालको हाँगा समातेर उभिइन् । सँगै आएका सुसारेले सेवा गर्न थाले । तत्कालैे रानीले पुत्र जन्माइन् । कपिलवस्तु र देवदहका जनताले लुम्बिनीमा भेला भएर हर्ष मनाए ।  रानी  र राजकुमार सिद्धार्थलाई लिएर दरबारका कर्मचारी सुसारे सिन्दुर जात्रा गरी कपिलवस्तु फर्किए ।

राजाले पुत्रलाई देखेपछि हर्षको आँसु निकालेर वन्दना गरे । २५६३ वर्षअघि सिद्धार्थ गौतम लुम्बिनीदेखि राजप्रसाद तिलौराकोट आउँदाको उक्त झल्को देखाउन मायादेवी प्रसूति उत्सव मनाइएको छ भनी लेखिएको छ । अहिलेभन्दा २५६३ वर्षअघि बुद्ध (सिद्धार्थ गौतम)को जन्म भयो भनी  यहाँ लेखिएको छ । यसपालि विसं २०७६ वैशाख पूर्णिमा ज्येष्ठ ४ गतेको दिन २५६३ औं बुद्ध जयन्ती मनाइएकोले कान्तिपुरमा २५६३ वर्षअघि बुद्ध जन्मे भनी लेखिएको देखिन्छ । यस्तै कुरा अरू केही पत्रिकामा र भाषणमा  आएको कुरा पनि यहाँ स्मरणीय छ ।

विपु ४८७ मा बुद्धको निर्वाण भयो भन्ने परम्परा स्वकारी विसं २०७६ मा २५६३ औं बुद्ध जयन्ती मनाइएको हो । बुद्धको निर्वाण ८० वर्षको उमेरमा भएकोले २५६३+ ८० = २६४३ वर्षअघि बुद्ध‐सिद्धार्थ गौतम) जन्मिएका हुन्छन् । काठमाडौंबाट साझा प्रकाशनद्वारा विसं २०४९ मा प्रकाशित दिनेशराज पन्तको बुद्धदेखि पहलमानसम्मका १, ९ र १० पृष्ठमा यस  विषयमा सप्रमाण लेखिएको छ । यसकारण कान्तिपुरमा  लेखिएको २५६३ वर्षअघि बुद्ध जन्मेको भन्ने कुरा अशुद्ध हो भन्ने स्पष्ट छ ।  
 

प्रकाशित: ११ जेष्ठ २०७६ ०७:२३ शनिबार

कान्तिपुर_पब्लिकेसन बुद्ध भ्रम