अन्य

जताततै पानी तर, स्थानीयलाई हैरानी

भक्तपुरको कालिघाटमा पानीका जार लोड गरिएका गाडी। यी गाडीमा झौखेलबाट पानी भरेर ल्याएको हो। तस्बिर : काष्ठमण्डप

काठमाडौं उपत्यकामै पानीको खानी हो, भक्तपुरको झौखेल क्षेत्र। व्यावसायीले यहाँको पानी मिनिरल वाटर, जार र ट्यांकरमा राखेर भक्तपुर, काठमाडौं र ललितपुरका गाउँगाउँमा लगेर बेचिरहेका छन्। विडम्बना ! पानीको मुहानमै बस्ने स्थानीय भने खानेपानी नपाई वर्षाैदेखि काकाकुल अवस्थामा छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेल बालुवाको पनि खानी पनि हो। त्यही कारण यहाँ अलि मात्रै खाल्डो खन्यो कि पानी भेटिन्छन्। यहाँ एक दर्जनभन्दा बढी पानी उद्योग सञ्चालित छन्। ती उद्योगले यहाँको पानीलाई व्यवसायको रूपमा बिक्रीवितरण गरिरहेका छन्। तर, स्थानीयले खानेपानी नपाएर निरन्तर दुःख झेल्दै आएका छन्।

स्थानीय प्रेमबहादुर बाखु श्रेष्ठ झौखेल क्षेत्र पानीको मुहान भए पनि यहाँका स्थानीयले  पानीको समस्या झेल्नुपरेको बताउँछन्। एकीकृत संकलन र वितरण प्रणालीको अभावमा स्थानीय पानीको समस्याबाट गुज्रिएको उनको भनाइ छ। जमिनमुनि पानी भए पनि त्यसलाई संकलन अनि वितरण गर्ने प्रणाली नहुँंदा स्थानीयले पानीको दुःख झेल्नुपरेको उनले जनाए।

पहिलाको झौखेल गाउँ विकास समिति (हालै मात्रै नगरपालिका घोषित यो वडा) मा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानीको धारा वितरण गर्न सकेको छैन। केयुकेएलले यो ठाउँमा पानीको स्रोत संकलन गरी पाइपलाइन वितरण गर्न सकेको छैन। यही कारण स्थानीयले स्थानीयस्तरमा सञ्चालित स–साना योजनाबाट वितरण गरिएको पानी उपभोग गरिरहेका छन्। स्थानीयका अनुसार स्थानीयस्तरमा घरधुरी मिलेर स–साना योजनामार्फत् स्थानीयले सामूहिक रूपमा बनाएको योजनाबाट पानी पाइरहेका छन्। यसकारण यहाँका धेरैका घरघरमा धारा पनि जडान छैन।

स्थानीय विनिता सुलू पनि पानीको मुहानमा बसेर पनि पानी पाउन नसक्नु विडम्बना भएको बताउँछिन्। आफनै गाउँठाउँको पानीले काठमाडौं उपत्यकाभरिका धेरै परिवारको प्यास मेटिए पनि आफूहरूको प्यास भने नमेटिएको उनको भनाई छ। यसमा सरोकारवालाको ध्यान जान नसक्दा स्थानीयले आफनै बलबुताले दुःख गरी मात्रै पानी पाइरहेको उनले सुनाइन्।   

चाँगुनारायण नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले आफूहरूले केन्द्रीकृत खानेपानी योजना सुरु गर्न लागेको जानकारी गराए। चाँगुनारायण नगरपालिकालाई प्रदेश सरकारबाट प्राप्त एक करोडको विशेष अनुदानबाट वडाको एकदेखि चार वडासम्म र पाँचदेखि नौ नम्बर वडावासीलाई अर्काे २० लाखको बजेटबाट डिप बोरिङ गर्न लागेको वडा अध्यक्ष धिमालले बताए। यो काम दुई– चार दिनबाटै सुरु हुने जानकारी उनले गराए। डिप बोरिङ र ओभरहेड बनाई घरघरमा पानी वितरण गर्ने योजना रहेको उनले सुनाए।

प्रकाशित: २० फाल्गुन २०७५ ०४:२९ सोमबार

भक्तपुर झौखेल_क्षेत्र खानेपानी