अन्य

‘हाटा’ गर्नेको ग्रेड वृद्धि रोक्का

काठमाडौं महानगरपालिका हाजिर गरेर टाप कस्ने (हाटा गर्ने) कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको छ। छड्ने अनुगमन गर्दा हाजिर गरेर कार्यालयमा नबस्ने पाइएपछि त्यस्ता कर्मचारीको ग्रेड वृद्धि रोक्का गरेको हो।

महानगरका अनुसार चार कर्मचारीको दुई वर्षसम्मको ग्रेडवृद्धि रोक्का गरेको हो। महानगरले कर्मचारीको प्रत्येक वर्ष ग्रेड वृद्धि गर्छ। ग्रेड वृद्धि भन्नाले प्रति वर्ष एक दिनको तलव बराबर खाइपाइ आएको मासिक तलबमा थपिने बुझ्नुपर्छ। ३० हजार मासिक तलब बुझ्ने कर्मचारीको एक वर्षमा एक हजार तलव थपिन्छ।

महानगरले ग्रेड वृद्धि रोकेका कर्मचारीमा इन्जिनियर र नायब सुब्बा छन्।

वातावरण विभागका नायब सुब्बा पद्युम्न लामा, पूर्वाधार विभागका इन्जिनियर हेमन्त चौरासिया, भवन विभागका नायब सुब्बा कृष्णगोपाल प्रधान र भवन विभागकै नायब सुब्बा दिनेशराज शिवाकोटीको ग्रेड वृद्धि रोक्का गरेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

‘हाटा गरेर भाग्नेलाई हामीले स्पष्टीकरण सोधेका थियौं,’ उनले भने, ‘स्पष्टीकरणमा चित्त नबुझेको र बारम्बार हाटा गर्दै आएको पाएपछि विभागीय कारवाही स्वरूप ग्रेड वृद्धि रोक्का गरिएको हो।’ उनका अनुसार १४ कर्मचारीलाई भने सचेत गराइएको छ। सचेतमा निर्देशक तथा विभागीय प्रमुख समेत छन्। विभागीय प्रमुखमा महानगरका निर्देशक तथा सामाजिक विकास विभागका विभागीय प्रमुख सनद थापालाई पनि सचेत गराइएको छ। छड्के गर्दा कुर्सीमा नभेटिएको र हाजिर हेर्दा अधिकांश दिनमा ढिला आउने र छिट्टै कार्यालयबाट निस्कने पाएपछि सचेत गराइएको प्रवक्ता कार्कीले बताए।  

काम लिएर सेवाग्राही टेबुलमा पुग्दा कर्मचारी नभेटिएको गुनासो बढेपछि महानगरले कार्यालय र महानगरका ३२ वटै वडामा छड्के गरेको थियो। वडामा छड्के गर्दा बिहान ३ सय १० जना कर्मचारीले हाजिर गरेकोमा अपरान्ह ३ बज्दा ४५ जना कर्मचारीले हाटा गरेको भेटिएको थियो।

त्यसैगरी कार्यालयमा अनुगमन गर्दा बिहान ३ सय २२ कर्मचारीले हाजिर गरेकामा दिउँसो ३ बजे छड्के गर्दा ६९ कर्मचारी टेबुलमा भेटिएका थिएनन्। ती कर्मचारीलाई स्पष्टीकरण सोधिएको र अनुसन्धान गर्दा बारम्बार हाटा गर्ने भेटिएपछि भने विभागीय कारवाही गरिएको हो।

महानगरको सेवा प्रवाह छिटोछरितो, सेवाग्राही मैत्री र प्रभावकारी बनाउन कर्मचारीको छड्के अनुगमन थालेको छ। ‘कतिपय कामहरू कर्मचारीको कारणले ढिलासुस्ती हुने गरेको पाइयो,’ प्रवक्ता कार्कीले भने, ‘अनुसन्धान गर्दा हाटा प्रमुख कारण पाएपछि कर्मचारीको छड्के अनुगमन गरेका हौं।’ उनका अनुसार महानगरले नियमित तालिका बनाएर महिना दुई–तीन पटक छड्के अनुमगन गरेर कर्मचारीलाई जिम्मेवार बनाउन अगाडि बढेको छ। सोही अनुसार केन्द्रीय कार्यालय हुँदै वडा कार्यालयका कर्मचारीमाथि छड्के थालेर कारवाही नै गर्नपर्ने कर्मचारीलाई भने कारवाही स्वरूप विभागीय कारवाही गरिएको हो।

उनका अनुसार पहिलो चरणमा महानगरको सेवा शर्तसम्बन्धी विनियमावली २०६१ हाटा गर्ने कर्मचारीलाई विभागीय कारवाही गर्न पाइन्छ। बढुवा रोकुवा, तलव वृद्धि रोकुवाको कारवाही गर्न पाउने प्रावधान छ। त्यसमा पनि चित्त नबुझेमा भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाटै पनि हटाउन सक्ने प्रावधान विनियमावलीमा छ। विभागीय कारवाहीबाट मात्रै पनि हाटा नरोकिए विनियमावली अनुसार  सेवाबाट हटाउने सम्मको कारवाही गर्न समेत पछि नपर्ने प्रशासन विभाग प्रमुख समेत रहेका प्रवक्ता कार्कीको दाबी छ।

महानगरमा १३ विभाग छन्। त्यसैगरी त्यसको महाशाखा, शाखा, इकाई र आयोजनाहरू समेत छन्। ती सबै कार्यालय र ३२ वटै वडामा गरेर २२ सय कर्मचारीको दरबन्दी छ। तर, महानगरमा अहिले १७ सय ८१ कर्मचारी छन्। तीमध्ये सबैभन्दा बढी सरसफाइमा छन्। सरसफाइमा ११ सय बढी कर्मचारी छन् भने नगर प्रहरीमा दुई सय हाराहारी छन्।

प्रकाशित: २१ मंसिर २०७५ ०३:५५ शुक्रबार

ग्रेड_वृद्धि हाटा