कोही सेतो धुवाँ बुङबुङ उडाउँदै फोटो खिँच्दै थिए, कोही युवाहरू लाइनमा पालो कुर्दै बसेका थिए । योगेश गुरुङ भने ड्राइगन स्मोकी चिजबल बनाउन व्यस्त देखिन्थे।
निकिता श्रेष्ठ र जोसन बज्राचार्यले भने जुजु धौं आइसक्रिम मगाए । कुनामा मिलाएर राखिएको टेबलमा गएर बसेर आइसक्रिको मज्जा लिन थाले । यो दृश्य हो, लबिम मलमा रहेको आइसक्रिम लाइभ नेपालको । जमाना स्मोकको छ, स्मोकमा रमाउने युवापुस्ताको जमात बढेको देख्न सकिन्छ । पार्टी तथा भेटघाटमा धुवाँसँगै रमाउनेको जमात निकै बढेको देख्न सकिन्छ।
स्मोकको कुरा गर्दा सकारात्मक रूपले सोचिँदैन । तर यहाँ धूमपानको नभएर स्मोकी आइसक्रिमको चल्ती चलेको छ । नेपालमा स्मोकसँग जोडिएर विभिन्न खानेकुराहरू बनाउने चलन निकै बढेको पाइन्छ । चार महिनादेखि स्मोकी आइसक्रिम, चिजबलले बजार र सामाजिक सञ्जालमा एक प्रकारले राज नै गरेको देख्न सकिन्छ।
‘नेपालीहरूमा नयाँ कुराको एक्पेरिमेन्ट गर्ने प्रचलन निकै बढेको छ, जुन खुसीको कुरा हो,’ उनले भने । नयाँ कुराको बारेमा जानकारी दिनुपर्ने, सम्झाउनुपर्ने, विभिन्न पोलिसी लगाउनुपर्ने समय बिस्तारै टाढा हुन लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘चार महिनाअघि अप्रिलमा युएस गएको बेला यो आइटम त्यहाँ देखे, नेपालमा यसको व्यापार गर्न सकिन्छ भनेर आवश्यक मेसिन ल्याए । अहिले निकै राम्रो प्रतिक्रिया पाएको छु ।’ सिभिल र लबिम मलमा सुरु भएको आइसक्रिम लाइभ नेपाल पोखरामा पनि खुलेको उनले जानकारी दिए । काठमाडौंमा पनि अन्य मलहरूमा राख्ने योजनामा रहेको उनी बताउँछन्।
नाइट्रोजन आइसक्रिमका केहि प्रकारहरू
ड्राइगन ब्रिथ स्मोकी चिजबल
ड्राइगन स्मोकी चिजबल सामान्य हामीले खाने चिजबल र नाइट्रोजनको लिकुइडको मिश्रण हो । –३२१ फरेनाइटको तापमा चिजबललाई फ्रिज गरी तयार गरिने तामाङ बताउँछन् । जिब्रोलाई नछुवाइकन खानुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘नाइट्रोजन ग्यासमा फ्रिज गरिएको चिजबल खाँदा जिब्रोमा चप्किने हुँदा ध्यान पुर्याएर खानुपर्छ ।’ ड्राइगन ब्रिथ स्मोकी चिजबल युवा पुस्ता माझ निकै चर्चित रहेको उनी बताउँछिन्।
‘खासमा मुखबाट धुवाँ आउने के रहेछ यो भनेर ट्राइ गर्न आउनेहरूको संख्या धेरै रहेको छ,’ उनले भने । ड्राइगन ब्रिथ स्मोकी चिजबलको मूल्य सय रूपैयाँ पर्ने उनी बताउँछन् । टिनएज उमेर समूहकाहरू ड्राइगन ब्रिथ स्मोकी चिजबलको स्वादमा निकै रमाउने उनी बताउँछन् । एकथरि युवा ड्राइगन ब्रिथ स्मोकी चिजबलको अर्डर गरेपछि ड्राइगन ब्रिथ स्मोकी चिजबल लिएर टेबुलमा बसेर फोटो खिँच्न व्यस्त थिए, बिजेश गुरुङ।
‘सोसल मिडियामा ड्राइगन ब्रिथ स्मोकी चिजबलको निकै चर्चा छ, पहिलो पटक ट्राइ गर्दै छु,’ उनले भने । ड्राइगन ब्रिथ स्मोकी चिजबल खानुको छुट्टै मजा रहेको उनले बताए । ‘टेस्ट भन्दा पनि खाएपछि धुवाँ आउँदा मज्जा लाग्यो,’ उनले हाँस्दै भने।
ड्राइगन सिगारस
सिगार भन्नेबित्तिकै धुवाँ उडाउने भन्ने बुझिन्छ । तर, ड्राइगन सिगार भने स्वास्थ्यलाई खराब गर्ने धूमपान भने होइन । चकलेट रोललाई नाइट्रोजन ग्यासले फ्रिज गरेर तयार गरिने तामाङ बताउँछन्।
‘ड्राइगन ब्रिथ स्मोकी चिजबल जस्तो ड्राइगन सिगार पनि फनको लागि खाइन्छ,’ उनले भने । चक्लेट रोलमा नाइट्रोजन ग्यास फ्रिज गरी तयार पारिएको ड्राइगन सिगार रुचाउनेको भीड बढ्दो छ । ड्राइगन सिगार युवाहरूले माग गर्ने आइटमहरूमध्ये एक रहेको दीपक तामाङ बताउँछन् । सिगारको स्वरूपमा चक्लेट रोल र नाइट्रोजनको फ्रिजिङको रूप नै ड्राइगन सिँगार हो । चक्लेटी स्वादमा रहेको ड्राइगन सिगारको मूल्य एक सय ५० रूपैयाँ पर्छ।
स्मोकी आइसक्रिम
आइसक्रिमका थरीथरीका फ्लेबरहरू त सजिलै खाइएको होला । तर, आइसक्रिममा पनि स्मोकी आइसक्रिमका स्वादमा हराउनेको संख्या बढ्दो देखिन्छ । यो विभिन्न फ्लेबरमा उपलब्ध छ।
भनिला मिक्स, नुटेल्ला, स्ट्रबेरी, ओरियो कुकिज, चकलेटबेस, जुजु धौं, वाटर मेला, कफी आइसक्रिम, ड्राइ कोकोनट लगायतको फ्लेबरमा उपलब्ध रहेको तामाङ बताउँछन् । आइसक्रिमको फ्लेबरमा नाइट्रोजन फ्रिज गरी स्मोकी आइसक्रिम तयार गरिने उनी बताउँछन्।
‘स्मोकी आइसक्रिमको माग राम्रो छ, विशेष वाटर मेलन, जुजुधौंको टेस्ट रुचाउने ग्राहक बढी छन्,’ उनले भने । स्मोकी आइसक्रिमको मूल्य दुई सय ५० रूपैयाँ पर्ने उनी बताउँछन्।
आइसक्रिम सेक
आइसक्रिम सेक दुध र फ्लेबर अनुसारको आइसक्रिमबाट तयार गरिन्छ । आइसक्रिमको सेकलाई पिउनेको जमात निकै रहेको तामाङ बताउँछन् । आइसक्रिम सेकमा कलात्मक तरिकाले बुट्टा बनाइएको हुन्छ, जसमा चक्लेटको स्वाद चाख्न सकिन्छ।
‘आइसक्रिम सेकमा भनिलाको फ्लेबरको सेक धेरैले माग गर्छन्,’ उनी भन्छन्, ‘अन्य फ्लेबरभन्दा भनिला रुचाउनेको जमात निकै छ ।’ आइसक्रिम सेकको मूल्य दुई सय ५० रूपैयाँ पर्छ ।
चिपविच (आइसक्रिम स्यान्डविच)
चिपविचलाई आइसक्रिम स्यान्डविच पनि भनिन्छ । कुकिजको बिचमा आफुलाई मनपर्ने फ्लेबरको आइसक्रिम राखी तयार पारीने तामाङ बताउँछन् । चिपबिचको सुरुवात सन् १९४२ मा न्युयोर्कमा रिचार्ड र स्यम मेट्जगरले सुरुवात गरेका हुन्।
आइसक्रिमको र कुकिजको नयाँ स्वादको रूपमा धेरैले रुचाइएको उनी बताउँछन् । आइसक्रिम स्यान्डबिचको मूल्य दुई सय ५० रूपैयाँ पर्ने उनी बताउँछन्।
प्रकाशित: १५ भाद्र २०७५ ०६:१८ शुक्रबार