अन्य

लगातार २२ वर्ष : मेकअपमाथि मेकअप

चीनको उत्तरपूर्वी प्रान्त जिलिनकी एक महिलाले सामाजिक सञ्जालमा आफ्नो हैरान पार्ने कथा सेयर गरेकी छन्। जसले धेरैलाई स्तब्ध बनाएको छ। ३७ वर्षीया ती महिला (जो अनलाइनमा ‘नियौयोमियन’ नामले चिनिन्छन्) ले खुलासा गरेकी छन् कि उनी पछिल्ला २२ वर्षदेखि लगातार मेकअप गरिरहेकी छन् तर कहिल्यै मेकअप हटाएकी छैनन्।  

यो बानीले उनको छालामा गम्भीर क्षति पुगेको छ। हालै अपलोड गरिएको एक भिडियोमा उनको अनुहार निकै सुन्निएको, रातो देखिन्छ। ‘हर्मोनल फेस’ नामको समस्याबाट ग्रस्त रहेको उनले बताइन्।  

उनले १४ वर्षको उमेरमा उपचारका लागि क्रिम प्रयोग गर्न थालिन्, जसले एलर्जी सुरु गरायो। १५ वर्षको हुँदा उनले मेकअप गर्न थालिन् र त्यसपछि लगातार २२ वर्षसम्म कहिल्यै हटाइनन्। आर्थिक अवस्था कमजोर भएका कारण उनले सस्तो फाउन्डेसन प्रयोग गरिन्, जसले छालालाई अझ बढी बिगार्‍यो।  

ब्युटी र हेयर ड्रेसिङको पढाइका क्रममा रसायनयुक्त उत्पादनहरूको लगातार प्रयोगले उनको छालाको अवस्था दिनप्रतिदिन खराब बनायो। सन् २०११ देखि उनले विभिन्न प्रकारका कस्मेटिक इन्जेक्सनहरू पनि लगाउन थालिन्, जसका कारण अनुहार विकृत हुन थाल्यो।
  
‘म कहिल्यै धैर्य राख्न सकिनँ। कुनै पनि उत्पादनलाई दुई दिनभन्दा बढी प्रयोग गरिनँ,’ भिडियोमा उनले आफ्नो गल्ती स्वीकार गर्दै भनिन्, ‘केवल अरूलाई काम लागेको देखेर। यही बानीले मेरो छालालाई बरबाद गरिदियो।’ 

उनले अरूलाई यस्तो कार्य नगर्न चेतावनी पनि दिइन्। ‘छालाको हेरचाहमा धैर्य जरुरी छ। तुरुन्त असर देखिने उत्पादनहरूले लामो समयसम्म मात्र हानि पुर्‍याउँछन्,’ अन्त्यमा उनले भनिन्, ‘शरीरलाई प्राकृतिक रूपमा निको हुन दिनुपर्छ।’ चीनमा उनको यो कथा अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ। एजेन्सी

प्रकाशित: ११ असार २०८२ ०८:४४ बुधबार

#NagarikNews #NepaliNews