माओवादीले मे दिवस र आमहडतालका लागि गाविस सचिवसँग चन्दा मागेका थिए। माओवादी आन्दोलन फिर्ता भए पनि चन्दा असुल्ने क्रम जारी रहेकाले गाउँ फर्कन अप्ठ्यारो परेको गाविस सचिव बताउँछन्।
चन्दा नदिए माओवादीले भौतिक कारबाहीको समेत धम्की दिएको गाविस सचिवहरूले बताएका छन्। राजारानी गाविसका सचिव नारायण खनालले भने, ' गाउँमा बस्न नसकिने भएपछि सदरमुकाम आएर बस्नुपरेको हो।' धनकुटाका ३५ गाविस सचिव मध्ये ३२ जना सदरमुकाममा बस्दै आएका छन् । राजनीतिक दलसम्मिलत संयन्त्रको बैठकबाट बजेट विनियोजन भइसकेकाले चन्दाको लागि रकम नभएको सचिवहरूको दाबी छ।
गाविस सचिवको बैठकले गाउँमा बस्न नसक्ने निष्कर्ष निकाली सदरमुकाम बस्ने निर्णय गरेका थिए। 'यो निर्णय धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएका छौं,' मारेकटहरे गाविस सचिव बाबुराम ढुंगानाले बताए।
एकीकृत माओवादीका स्थानीय नेताले भने गाविस सचिवसँग जबर्जस्ती चन्दा नमागिएको दाबी गरेका छन्। एकीकृत माओवादी धनकुटा सचिवालय सदस्य सन्देश बिहानीले भने, '५० हजार रुपैयाँ त मागेका मात्र हौं, सचिवहरूले त्यति नै दिनुपर्छ भन्ने होइन। स्वेच्छाले दिनुहोस् भनेका छौं।' गाउँमा काममा जान गाविस सचिवलाई नरोकेका उनले बताए।
सचिव गाउँमा नबसेपछि जनताका सानातिना काम हुन छाडेका छन्। सिफारिसका लागि पनि सचिव खोज्न सदरमुकाम जानुपर्ने अवस्था आएको छिन्ताङ-८ का सुरेश राईले बताए। वैशाख १७ देखि सचिवहरू सदरमुकाम बस्न थालेपछि जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता र अन्य सिफारिसका कामसमेत प्रभावित भएका छन्। उनीहरूले यी काम सदरमुकाममै बसेर गर्दै आएका छन्।
गाविस सचिवहरूले गाउँमा सुरक्षा दिन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। गाविस सचिवलाई गाउँ फर्काउने तयारी भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
प्रकाशित: २९ वैशाख २०६७ ००:०१ बुधबार