सिरहा कुसहा-५, निवासी रामउद्गार यादवका १४ वर्षीय छोरा गुमस्ता यादव लहानस्थित डेराबाट तरकारी किन्न गएका बेला अपहरणमा परेका थिए।
उनलाई प्रहरीले सिरहाको धोदला जंगलबाट उद्धार गरेका थिए। यस क्रममा प्रहरीले सरोज यादव र रामदयाल महतो दुई जनालाई पक्रेको छ।
सोमबार दिउँसो अपरिचित व्यक्तिले मोबाइलमा फोन गरी अपहरणको गर्ने धम्की दिएको बालकका बुबा रामउदगारले बताएका थिए। तरकारी किन्न बजार गएका बेला साँझ ६ बजे बालक अपहरणमा परेका थिए।
गुमस्ता आफ्ना दुई भाइसँग लहानस्थित डेरामा बस्दै आएका थिए। राति अबेरसम्म दाइ डेरामा नफर्केपछि साथीकहाँ गएको ठानेर भाइहरू सुतेका थिए।
मंगलबार बिहान ८ बजे अपहरणकारीले बुबा रामउद्गारलाई फोन गरी १० लाख फिरौती मागेपछि अपहरणमा परेको थाहा भएको थियो। अपहरणकरीले १० लाख बुझाए मात्र छोरालाई मुक्त गर्ने शर्त राखेको रामउद्गारले बताए। रामउद्गार खेतमा काम गरिरहेका बेला अपहरणकारीको फोन आएको थियो।
उनले आफ्नो छोरालाई केही नगर्नू भनी अपहरणकारीलाई अनुरोध गरेको बताए। उनले भक्कानिँदै भने, 'मैले क्षमताले भ्याएजति रकम लिएर आउँछु भनी बिन्ती गरे।' प्रहरीलाई खबर गरे अपहरणकारीले छोरालाई मारिदिने धम्कीसमेत दिएको उनले बताए।
एक वर्षभित्र लहानमा मात्र ६ जना स्कुले बालकको अपहरण भएको छ। अपहरित बालकहरूलाई आफन्तले फिरौती तिरी छुटाएका छन्। बालक अपहरणको घटना बढ्दै जाँदा यहाँका अभिभावक त्रसित बनेका छन्। अभिभावक संघ सिरहाका अध्यक्ष रामानन्द गुप्ताले भने, ' स्कुल गएका छोराछोरी फर्केर आउँछन् कि आउँदैनन् भन्ने चिन्ता छ, यस विषयलाई प्रहरी-प्रशासनले गम्भीरसाथ लिनुपर्छ।'
प्रकाशित: २८ वैशाख २०६७ २३:५९ मंगलबार