अन्य

'बलात्कारी'लाई १८ वर्ष जेल

काठमाडौं, वैशाख २९ (नागरिक)- आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई काठमाडौं जिल्ला अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ।
बालाजुको शिव मन्दिरका पूजारीसमेत रहेका ३५ वर्षीय श्रीराम त्रिपाठीलाई अदालतले छोरीको बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको हो। मंगलबार न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले उनीविरुद्ध १८ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको हो।

श्रीरामले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेको अदालतको ठहर छ। आफ्नै बाबुले लठ्याउने औषधी खुवाएर पटकपटक बलात्कार गरेको दाबी गर्दै १५ वर्षीया किशोरीले उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त बालाजुले असोज १९ गते बालाजुबाट त्रिपाठीलाई पक्राउ गरेको थियो।

पीडित किशोरी र उनकी आमाले संयुक्त रूपमा श्रीरामविरुद्ध बलात्कारको किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरी मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं अदालतमा पुर्‍याएको थियो।

किशोरीले टाउको दुखेको औषधी भन्दै लठ्याउने औषधी खुवाएर आफ्नै बाबुले पटकपटक बलात्कार गरेको बयान दिएकी थिइन्। श्रीमानसँग झगडा भएपछि उनकी आमा माइतमा बस्दै आएकी थिइन्।

किशोरी बुबा र भाइसँगै मन्दिरसँगैको टहरोमा बस्दै आएकी थिइन्। किशोरीको बयान उद्धृत गर्दै प्रहरीले जनाएअनुसार उनलाई २०६५ वैशाखमा श्रीरामले पहिलोपटक बलात्कार गरेका थिए। उनले बयानमा भनेकी छिन्, 'त्यसदिन टाउको निक्कै दुखेको थियो। बुबाले टाउको दुखेको औषधी हो भनेर दिनुभयो। त्यो खाएपछि म बेहोस भएँ। होस खुलेपछि बुबाले बलात्कार गरेको थाहा पाएँ।'

त्यसपछि श्रीरामले औषधी खुवाएर पटकपटक जबर्जस्ती यौन सम्पर्क राखेको उनले बताएकी छिन्। पीडित किशोरीले उक्त कुरा आमालाई बताएपछि दुबै प्रहरीको सम्पर्कमा पुगेका थिए।

प्रकाशित: २८ वैशाख २०६७ २३:४९ मंगलबार