अन्य

'अरुन्धतिको नयाँ उपन्यास पढ्दैछु'

अभि सुवेदी, लेखक, साहित्यकार

नेपाल तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेका लेखक तथा साहित्यकार अभि सुवेदी लामो समय   त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनमा व्यस्त रहे। नाटक, निबन्ध, कविता, समालोचना, विचार र संस्मरण्क लेख्न रुचाउने उनका सान्दाजुको महाभारत (नाटक) फ्लानरको डायरी (निबन्ध), साहित्य र आमवृत्त (समालोचना र संकथन), चिरिएका साँझहरू (नाटक), निबन्धमा उत्तरवर्ती कालखण्ड (निबन्धसंग्रह) लगायत झन्डै दुई दर्जन पुस्तक प्रकाशित  छन्। पछिल्लो समय उनी नाटक, निबन्ध र समीक्षा लेखिरहेका छन्। उनका नाटक प्रतिष्ठित नाट्य संस्थाहरूले नेपाल, भारत, बंगलादेश र युरोपमा प्रस्तुत गरेका छन्। सुवेदी सांस्कृतिक अध्ययनमा पनि रुचि राख्छन्।

तपाईंको हातमा अहिले कुन पुस्तक छ?

अरुन्धति रोयको दोस्रो उपन्यास 'द मिनिस्ट्री अफ अट्मस्ट ह्यापिनेस्' पढ्दै छु।

यसअघि कुन पुस्तक पढ्नुभएको थियो?

चार्ल्स एलेनको द प्रिजनर अफ काठमाडौं (२०१५) यो दोहोर्‍याएर पढेको हु“। त्यस्तै सीमा आभासको कवितासंग्रह 'म स्त्री अर्थात् आइमाई'  पनि दोहोर्‍याएर पढेको हु“ यसअघि। 

मनपर्‍यो कि परेन, किन?

मनपरेकाले दोहोर्‍याएर पढेको हु“। पहिलो किताब १९औँ शताब्दीमा काठमाडौंमा धेरै वर्ष ब्रिटिस दूत भएर बसेका बौद्ध धर्म अनि नेपाली पशुपक्षीकला र भाषा विषयका अध्येता र संकलनकर्ता ब्रायन हड्सनमाथि लेखिएको राम्रो किताब हो। सीमा आभासको कवितासंग्रह सूक्ष्म काव्यकला र विचारको संगम गराउन सफल भएकाले मनपरेको हो।

अब के पढ्ने योजना छ?

धेरै लाइनमा छन्। मेरो बानी त्यस्तै हो। अलि पहिलेका किताब, अलि क्लासिक पढ्ने विचार छ। त्यसमा उपन्यासचाहिँ मिलन कुन्डेराको इमोर्टालिटी (१९९१) छ। दुइवटा नेपाली उपन्यास पनि छन्।

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?

यस्तो राम्रो प्रश्नलाई उत्तर दिएर बिगार्नु हु“दैन।

पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक? किन?

मलाई एउटा मनपरेको भन्ने पुस्तक हु“दैन। सबभन्दा भन्ने नै हु“दैन, धेरैवटा मन पर्छन्। भन्नैपर्छ भने महाकवि व्यासको संस्कृतबाट सोझै अनुवाद भएको महाभारत मलाई सबभन्दा मन परेको किताब हो। नाटकमा सेक्सपियरको किङ लियर र सिद्धिचरण श्रेष्ठको मेरो प्रतिविम्ब मेरो दराजमा सधैँ देखिआएको छु। तर धेरै छन्। अहिले यसै भन्नै सक्तिनँ।

नपढी नहुने पुस्तक कुन, किन?

भानुभक्तको रामायण। मैथिलीभाषी हुनुहुन्छ भने विद्यापतिका कविता, नेवारभाषी हुनुहुन्छ भने चित्तधर हृदयको 'सुगत सौरभ' पढ्नुस्। मैले सबै पढिसकेको छु। रामायण त धेरै कण्ठै भन्न सक्छु। सुगत सौरभ  चित्तरञ्जन नेपालीले नेपालीमा र टड लुइसले अंग्रेजीमा अनुवाद गरेका छन्। पढ्नुस् सबै, मन खुस हुन्छ। नेपाल निकै बुझिन्छ।

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?

पढिएका छन्। भानुभक्तको रामायणले भारतमा निकै चर्चा पाएको छ। अहिले हेर्नुभयो भने, भारतमा भानुभक्त र रवीन्द्रनाथ ठाकुरजस्ता अरु इतिहास र पाठकका मनोभावलाई चलाउने अरु कुनै कवि देखिएनन्। नेपालका पुस्तक अन्य मुलुकमा त्यसो त पाए पो पढ्नु। बेलायत र भियनामा लेक्चर कार्यक्रममा एकाध वर्षअघि म जा“दा केही नेपाली कविताका मोटा अंग्रेजी अनुवादका संकलन बोकेर गएको थिए“। यसो बसेको ठाउ“मा राति हेरेको, यो त देखाउनु हु“दैन भनेर फर्काएर ल्याए“। अनुवाद राम्रो हुन नसकेर र प्रचार हुन नसकेर बाहिर नपढिएको हो। तर अन्य मुलुकमा बस्ने नेपालीले त नेपाली किताब पढेकै छन् नि। 

पढ्न मन लागेर पनि नपाएको पुस्तक?

धत्, धेरै छन् नि, एउटा मात्र हो र? तर आजको युगमा ढिलोछिटो पाइन्छन्, पाउँदै छु।

घरमा कतिवटा पुस्तक छन्?

पुस्तकै पुस्तक छन्। खै अस्ति भुइँचालोपछि इन्जिनियरले लौ किताबहरू भुइँतलामा झारिहाल्नुपर्‍यो भन्दा नौ लाख तारा देखेका थियौँ बिन्दु र मैले।

प्रस्तुति : वसन्त खड्का

प्रकाशित: १४ श्रावण २०७४ ०४:२१ शनिबार

अरुन्धतिको उपन्यास पढ्दैछु