अन्य

शहरको कुकुर सोख

–रामकुमार डिसी

नेपाली बजारमा पाँच हजारदेखि एक करोड रुपैयाँसम्मका कुकुर पाइने व्यवसायीहरू बताउँछन् । टिबेटन मस्टिफ नेपाली बजारमा सबैभन्दा महँगो कुकुर होे । यसको मूल्य ८० हजारदेखि एक करोड रुपैयाँसम्म पर्छ ।घरपालुवा प्राणीमा सम्भवतः सबैभन्दा प्यारो कुकुर नै हो । नेपालमा कुकुरतिहारका दिन कुुकर पुज्ने चलन पनि छ । सु“घ्ने, सुन्ने र सम्झने शक्ति अत्यन्त तीक्ष्ण हुने कुकुर स्वामीभक्ति र बफादारीका लागि जानिन्छ । कुकुर अचेल सुरक्षाका लागि मात्र होइन, सोखका लागि पनि पालिन्छ । यसलाई मान्छेको साथीका रूपमा लिँदै ‘मनुमित्र’ भनेर  सम्बोधन गर्न पनि थालिएको छ ।

एक्लोपनको साथी
उहिले घरको सुरक्षाका लागि कुकुर पालिन्थ्यो । तर, अहिले शहरमा  सुरक्षाभन्दा पनि सोखका लागि कुकुर पालिन थालिएको छ  । काठमाडौँ, पानीपोखरीस्थित महानगर एनिमल रिर्सच सेन्टरका सञ्चालक सुरेश कार्की कुकर अहिले एक्लोपनको साथी भएको बताउँछन् । ‘कुकुरपालन अहिले सुरक्षाभन्दा पनि सोखको विषय भइसक्यो,’ उनी भन्छन्, ‘कुकुर मान्छेको एक्लोपनको अभिन्न साथीजस्तै भइसकेको छ ।’ बानेश्वर हाइटमा विगत २० वर्षदेखि माउन्ट एभरेस्ट केनल क्लब चलाइरहेका सुरेश शाहले संयुक्त परिवार टुक्रिएर एकल बन्दै गएका कारण पनि कुकुरको माग बढ्दै गएको बताए । ‘परिवार संयुक्तबाट एकल हुँदैछ । काममा व्यस्तता बढ्दैछ,’ उनले भने, ‘फुर्सद भएका बेला घरमा बोल्ने मान्छे कोही हुँदैन । जति तनावमा भए पनि कुकुरसँग पाँच÷सात मिनेट खेल्दा मुड फ्रेस हुन्छ ।’ कुकुर जतिबेला पनि मालिकको स्वागत गर्न तयार हुने भएकाले मानिसको एक्लोपनको साथी बनेको उनी बताउँछन् ।

‘केयरिङ’ आवश्यक
सोख हुँदैमा मात्र राम्रो प्रजातिको कुकुर पाल्न सम्भव हुँदैन । त्यसका लागि कुकुरलाई ‘केयरिङ’को आवश्यकता हुन्छ । जति कुकुरलाई केयर गरियो, त्यति नै कुकुरले मालिकप्रति केयर देखाउने भएकाले कुकुर पाल्न चाहनेले यसमा पनि ध्यान दिनुपर्ने काठमाडौँ, माइतीघरस्थित रोयल केनल क्लबका निर्देशक केशरसिंह केसी बताउँछन् । उनका अनुसार मालिकले जस्तो सिकायो कुकुरले पनि त्यस्तै सिक्ने हुँदा कुकुरलाई प्रशस्त माया, ममता दिनुपर्ने हुन्छ । ‘कुकुर मायाको भोका हुन्छन्,’ केसीले भने, ‘कुकुरलाई लामो समय घरमा एक्लै राख्नु हुँदैन । धेरै बेर बाँध्नु पनि हुँदैन ।’ मालिकले भने अनुसारको व्यवहार सिकाउन कुकुरलाई तालिमको आवश्यकता पर्छ । ‘सकेसम्म घरमै तालिम दिनुपर्छ । तालिम दिन नभ्याउनेले ट्रेनिङ सेन्टरमा पठाउनुपर्छ,’ उनले भने । केनल क्लबहरूले नै कुकुरलाई तालिम दिने गरेका छन् । केसीका अनुसार १५ देखि २० हजार रुपैयाँमा क्लबहरूले कुकुरलाई तालिम दिन्छन् । त्यस्तै, कुकुर पाल्नेले त्यसको खोपमा पनि ध्यान दिनुपर्छ । माउन्ट एभरेस्टका सञ्चालक शाहका अनुसार कुकुरलाई जन्मेको छदेखि आठ हप्तामा पहिलो चरणको खोपअन्तर्गत डीएचपीपीआईएल (डिसटेम्पर, हेपाटाइटिस, पाराइन्फ्लुएन्जा, पार्भो, लेप्टोस्पाइरोसी) खोप दिनुपर्छ । त्यस्तै, १० देखि १२ हप्ताको बीचमा फेरि त्यही खोप लगाउनुपर्छ र त्यसलाई प्रत्येक वर्ष दोहो¥याउनुपर्छ । जन्मेको नौदेखि १० हप्तामा कोरोना भाइरसविरुद्ध खोप लगाउनुपर्छ । दोस्रो चरणमा १२ देखि ४३ औँ हप्तामा पुनः त्यही खोप लगाउनुपर्छ र यसलाई प्रत्येक वर्ष लगाउनुपर्छ । उनका अनुसार कुकुरलाई जन्मेको १२ औँ  हप्तामा रेबिजविरुद्धको खोप दिनुपर्छ र त्यसलाई पनि प्रत्येक वर्ष दोहो¥याउनुपर्छ । त्यस्तै, कुकुरलाई जुका, परजीवीमुक्त पार्न जन्मेको पहिलोदेखि छैटौँ महिनाको बीचमा प्रत्येक चार हप्ताको अन्तरमा  ‘डिवर्मर’ दिनुपर्छ । भेटेरिनरी चिकित्सकको सल्लाह लिएर छ महिनापछि भने प्रत्येक तीनदेखि चार हप्ताको अन्तरालमा ‘डिवर्मर’ दिनुपर्छ । पहिलो खोप लगाउनुभन्दा अघि कुकुरलाई सडकमा लैजानु हुँदैन र जन्मेको तीन महिना नभई नुहाइदिनु पनि हुँदैन ।

‘कुकुर पाल्नु अहिले सुरक्षाभन्दा पनि सोखको विषय भइसक्यो । कुकुर मान्छेको एक्लोपनको अभिन्न साथीजस्तै भइसकेको छ ।’ –सुरेश कार्की, सञ्चालक, महानगर एनिमल रिर्सच सेन्टर


त्यस्तै, कुकुरको खानामा पनि विशेष ध्यान दिनुपर्छ । कुकुरलाई राम्रोसँग हुर्काउन खाना अत्यन्तै महत्वपूर्ण हुन्छ । कुकुरका लागि बजारमा ‘रेडिमेड’ खाना पनि पाइन्छ । बजारकै खाना खुवाउनुपरे मासिक दुई हजारदेखि २५ सयसम्म खर्च हुने महानगर एनिमलका कार्की बताउँछन् । उनका अनुसार कुकुरलाई घरकै खान खुवाउँदा राम्रो । तर, घरमै बनाइएको खानामा दूध, मासु, अण्डा नियमित खुवाउनुपर्छ । तर, पिरो, गुलियो, नुनिलो भने खुवाउन नहुने उनी बताउँछन् । यसरी खाना खुवाउँदा पोषणको कमी नहुने उनी बताउँछन् ।

आन्तरिक उत्पादन नै काफी
कसैले राम्रो प्रजातिको कुकुर माग गरे पहिले विदेश गएर ल्याउनुको विकल्प थिएन । तर, पछिल्लो समय त्यस्तो अवस्था छैन । नेपालमा पनि व्यावसायिक कुकुरपालन सुरु भएपछि ८० प्रतिशत माग नेपालकै आन्तरिक उत्पादनले धानेको रोयल केनलका निर्देशक केसी बताउँछन् । ‘२०६० सम्म भारत गएर कुकुर ल्याउँथ्यौँ,’ केसीले भने, ‘अहिले आन्तरिक उत्पादन नै काफी छ ।’ काठमाडौँ उपत्यकामा मात्रै अहिले ३५ देखि ४० केनल क्लब छन् । अधिकांश क्लबमा कुकुरको ब्रिडिङ, मेटिङदेखि औषधि उपचारसम्मका सुविधा उपलब्ध छन् । तर, कतिपयले केनल क्लबबाट केही बच्चा लिने र घरमै हुर्काएर अरूलाई पनि बेच्ने गरेकाले कुकुरको गुणस्तर कायम गर्न अप्ठ्यारो हुने माउन्ट एभरेस्टका शाह बताउँछन् । तर, मेटिङ (प्रजननका लागि भाले कुकुरसँग पोथी कुकुर मिसाउने प्रक्रिया) गर्दा ध्यान दिन सके गुुणस्तर बिग्रनबाट रोक्न सकिने उनी बताउँछन् ।
‘कुकरको मेटिङ गर्दा जुन जातको पोथी हो, त्यही जातको भालेसँग मात्रै गर्नुपर्छ,’ उनले भने, ‘त्यसो नगर्दा गुणस्तरमा ह्रास आउँछ ।’ शहरमा कुकुर पाल्नेहरू बढ्दै गएपछि कुकुर व्यवसाय गर्नेहरू पनि बढेका छन् । राम्रोसँग व्यवसाय गरे कुकुरपालनमा राम्रो सम्भावना भएको क्लब सञ्चालकहरू बताउँछन् । ‘बजार सम्भावना, जोखिमबारे अध्ययन गरेर व्यवसायमा लाग्दा यो क्षेत्रमा राम्रो सम्भावना छ,’ महानगर एनिमलका कार्की भन्छन्, ‘यो क्षेत्रमा पाँच सयजतिले रोजगारी पाएका छन् ।’ कार्कीले कुकुरको लागि अझै बिमाको व्यवस्था नभएको भन्दै सरकारले कुकुरपालन व्यवसायलाई पनि उद्योगको मान्यता दिनुपर्ने बताए ।

करोडका कुकुर
नेपाली बजारमा पाँच हजारदेखि एक करोडसम्मका कुकुर पाइने व्यवसायीहरू बताउँछन् । रोयल केनल क्लबका निर्देशक केसीका अनुसार टिबेटन मस्टिफ नेपाली बजारमा सबैभन्दा महँगो कुकुर होे । यसको मूल्य ८० हजारदेखि एक करोडसम्म पर्छ । तिब्बतमा उत्पत्ति भएको यसलाई नेपालमा ‘भोटे कुकुर’ पनि भन्ने गरिन्छ । केसीले नेपालमै यसको ब्रिडिङ नगरिए पनि ग्राहकले माग गर्दा विदेशबाट ल्याएर बेच्ने गरेको बताए ।
बक्समा

चल्तीका कुकुर
कुकुरका धेरै प्रजाति छन् । तीमध्ये केही प्रजातिलाई मान्छेले तालिम दिएर आफ्नो कामको लागि प्रयोगमा ल्याएका छन् । पछिल्लो समय विभिन्न कुकुर प्रजातिबीच ‘ब्रिडिङ’ गरेर आफूलाई चाहेअनुसारको कुकुर प्रजातिको समेत विकास गरिएको छ । नेपालमा बढी चल्तीमा रहेका केही कुकुरः

जर्मन सेफर्ड
जर्मन नश्लको यो कुकुर ठूलो आकारको हुन्छ । यो मालिकप्रति असाध्यै बफादार हुन्छ । यो बलियो, तीक्ष्ण बुद्धिको र आज्ञापालकसमेत हुन्छ । यसलाई अपांग÷असहायहरूको सहयोगका लागि पनि प्रयोग गरिन्छ । त्यस्तै, प्रहरी, सेनाले खोजी तथा उद्धार कार्यमा समेत यसको प्रयोग गर्छन् । नेपालमा यसको मूल्य १५ देखि १८ हजार रुपैयाँसम्म छ ।
ल्याब्राडोर रिट्रिभर
हेर्दा ठूलो देखिने यो बेलायी प्रजातिको कुकुर हो । यो पनि मालिकप्रति असाध्यै बफादार हुन्छ । यसलाई अपांग÷असहायको हेरचाहमा प्रयोग गरिन्छ । यसलाई दृष्टिविहीनलाई सघाउने तालिमसमेत  दिन थालिएको छ । त्यस्तै, खोज तथा अनुसन्धान काममा पनि यो धेरै प्रयोग हुन्छ । नेपाली बजारमा यसको मूल्य १२ देखि १८ हजार रुपैयाँसम्म छ ।
जापानिज स्पिट्स
यो हेर्दा सानो र मायालु हुन्छ । जापानमा उत्पत्ति भएको यो कुकर भुवादार हुन्छ । यसका आनीबानी पनि राम्रा भएकाले यसको लोकप्रियता बढ्दो छ । प्रायः नेपाली कुकुरका सोखिनहरूको रोजाइमा यो पर्ने गरेको छ । नेपाली बजारमा यसको मूल्य पाँचदेखि छ हजार रुपैयाँसम्म पर्छ ।
पग
शाही परिवार तथा सेलिब्रिटीमाझ निकै लोकिप्रय पगको उत्पत्ति चीनमा भएको हो । यसको छोटो मुख र कर्ली पुच्छर हुन्छ । सेतो, कालोसहित यो विविध रङमा पाइन्छ । सामाजिक र भद्र स्वभावका कारण कुकुरका सोखिनबीच यो निकै लोकिप्रय हुँदै गइरहेको छ । नेपाली बजारमा यो १८ देखि २० हजार रुपैयाँमा पाइन्छ ।
गोल्डेन रिट्रिभर
यो ठूलो खालको प्रजाति हो । स्कटल्यान्डमा उत्पत्ति भएको यसको रौँ सुनौलो रङको हुन्छ । यस प्रकारका कुकर पानीमा धेरै भिज्न रुचाउने र धेरै घुम्ने खालका हुन्छन् । यसको रौँ पानी प्रतिरोधीसमेत हुन्छ । धेरै हिँड्डुल गर्ने भएकाले यस्तो कुकुरलाई राख्न बार चाहिन्छ । त्यस्तै, अभ्यास पनि प्रशस्तै गराउनुपर्छ । यो सहयोगी कामको लागि धेरै चर्चित छ । यसले दृष्टिविहीनलाई बाटो देखाउने र बहिरो मानिसलाई सुन्नसमेत मद्दत गर्छ । नेपाली बजारमा यसको मूल्य २० देखि २५ हजार रुपैयाँसम्म छ ।
ककर स्पानियल
बेलायतमा उत्पत्ति भएको यो मध्यम आकारको कुकुर हो । यसको रौँ लामो–लामो हुन्छ । सुरुवाती चरणमा शिकारका लागि यसको खूब प्रयोग गरिए पनि अहिले यो ‘फेमिली पेट’को रूपमा परिचित छ । नेपाली बजारमा यसको मूल्य १० देखि १५ हजार रुपैयाँ रहेको छ ।
बक्सर
यो रौँ छोटो भएको मध्यम आकारको कुकुर हो । यसको उत्पत्ति जर्मनीमा भएको हो । यसको रङ मृगजस्तै हुन्छ भने टाउको छोटो र चौडा खालको हुन्छ । यो मालिकप्रति निकै बफादार र उत्सुक खालको हुन्छ । नचिनेका मान्छेसँग भने यो आक्रामक हुन्छ । यो बलियो हुनुका साथै बुद्धिमान पनि हुन्छ । घरायसी प्रयोजनका लागि पछिल्लो समय यसको लोकप्रियता बढ्दो छ । नेपाली बजारमा यसको मूल्य १५ देखि २० हजार रुपैयाँसम्म पर्छ ।
डोबरम्यान
यो मध्यम आकारको कुकुर हो । जर्मनीमा उत्पत्ति भएको यो कुकुर बुद्धिमान र सधैँ होसियार रहने भएकाले लोकप्रिय छ । नेपाली बजारमामा यसको मूल्य ४०  देखि ४५ हजार रुपैयाँसम्म पर्छ ।
टिबेटन मस्टिफ
नेपाली बजारमा सबैभन्दा महँगो कुकुर हो यो । यसको मूल्य ८० हजारदेखि एक करोड रुपैयाँसम्म पर्छ । तिब्बतमा उत्पत्ति भएको यसलाई नेपालमा ‘भोटे कुकुर’ पनि भनिन्छ । यसलाई सुरक्षाका लागि प्रयोग गरिन्छ । यसलाई भेडा–ब्राखाको बथान, टेन्ट र गाउँको सुरक्षाका लागि समेत निकै प्रयोग  गरिन्छ ।
ग्रेट डेन
यो ठूलो आकारको कुकुर हो । जर्मनीमा उत्पत्ति भएको यो निकै अग्लो हुन्छ । कुकर प्रजातिमा सबैभन्दा अग्लो भनेर ‘रेकर्ड’समेत यसकै नाममा छ । पहिले यो बँदेल र भालुको शिकार गर्न धेरै प्रयोग गरिन्थ्यो । यो रातभर मालिकको सुत्ने कोठामा रहन रुचाउँछ । नेपाली बजारमा यसको मूल्य ४० देखि ४५ हजार रुपैयाँसम्म पर्छ ।

‘संयुक्त परिवार टुक्रिएर एकल बन्दै गएका कारण कुकुरको माग बढ्दै गएको बताए । फुर्सद भएका बेला घरमा बोल्ने मान्छे कोही हुँदैन । जति तनावमा भए पनि कुकुरसँग पाँच÷सात मिनेट खेल्दा मुड फ्रेस हुन्छ ।’ –सुरेश शाह, सञ्चालक, माउन्ट एभरेस्ट केनल क्लब


रोटविलर
यो मध्यम आकारको घरपालुवा कुकुर हो । जर्मनीमा उत्पत्ति भएको यसलाई दृष्टिविहीनका लागि बाटो देखाउने काममा प्रयोग गरिन्छ । त्यस्तै, सेना र प्रहरीले खोज तथा उद्धारको काममा समेत यसलाई प्रयोग गर्छन् । नेपाली बजारमा यसको मूल्य ४० देखि ४५ हजार रुपैयाँसम्म छ ।
सेन्ट बर्नार्ड
यो निकै ठूलो आकारको कामदार कुकुर हो । यसको उत्पत्ति फ्रान्स, स्विट्जरल्यान्ड र इटालीमा भएको हो । यसको उचाइ पनि धेरै (३५ इन्च सम्म) हुन्छ । यसको रौँ चिल्लो वा खस्रो खालकोे हुन्छ । यसको पुच्छर लामो हुन्छ । नेपालमा यसको मूल्य ४० देखि ४५ हजार रुपैयाँ पर्छ ।
लासा अप्सो
यसको उत्पत्ति तिब्बतको राजधानी लासामा भएको हो । सुरुमा तिब्बती बौद्ध भिक्षुले गुम्बामा आफूलाई बिउँझाउन यसलाई प्रयोग गर्थे । पछिल्लो समय विभिन्न प्रजातिमा प्रजनन गरेर यसलाई घरपालुवा बनाइएको छ । यो सेतो, रातो, सुनौलोसहित विभिन्न रङमा पाइन्छ । यो बुद्धिमान र बफादार हुन्छ । तालिम दिइएको छैन भने नचिनेका मान्छेप्रति निकै आक्रामक हुन्छ । नेपाली बजारमा यो १० देखि १२ हजार रुपैयाँमा पाइन्छ ।

‘कुकुरलाई गुलियो खुवाउनु हुँदैन’

डा. सञ्जीव पण्डित
भेटेरिनरी सर्जन

कुकुरलाई गर्मीको समयमा विशेष गरी छालाको समस्या हुन्छ । त्यस्तै, कुकुरलाई हुने अर्को समस्या भनेको अपच हो । यो वैशाख, जेठ महिनामा बढी देखिन्छ । यसले गर्दा कुकुरले खाना थोरै खान्छ । खाए पनि छाद्ने गर्छ ।
कुकुरलाई पार्भो भाइरसको संक्रमण पनि धेरै  हुन्छ । यसले कुकुरको आन्द्रमा बसेर आन्द्रा नै खाइदिन्छ । यसको रोकथामका लागि खोप दिनुपर्छ । यसका लागि ‘डीएचपीपीआईएल’  खोप दिनुपर्छ । जन्मेको छदेखि आठ हप्तामा पहिलो चरणको दिनुपर्छ भने  १० देखि १२ हप्ताको बीचमा फेरि त्यही खोप लगाउनुपर्छ र त्यसलाई प्रत्येक वर्ष दोहोर्याउनुपर्छ । ‘डिसटेम्पर’ भाइरस पनि कुकरमा संक्रमति भइरहने भाइरस हो । यसले कुकुरको नसामा आक्रमण गर्छ  र कुकुर ‘प्यारालाइज्ड’ हुन्छ । त्यस्तै, कोरेना भाइरसको संक्रमणले कुकुरको ढाड बांगिने, मुखबाट रगत आउने हुन्छ । यो समस्या काठमाडौँका कुकुरमा बढी देखिन्छ ।
कुकुरलाई गुलियो खानेकुरा दिनु हुँदैन । घिउमा तारेको  खानेकुरा दिनु हुँदैन । कुकुरलाई हप्तामा दुईचार पटक मासु पनि खुवाउनुपर्छ तर त्यो धेरै हुनु हुँदैन । कुकुरलाई प्रोटिनयुक्त खानेकुरा भने बढी दिनुपर्छ । असोज, कात्तिक, मंसिर गरी तीन महिना कुकुरको ‘ब्रिडिङ’ सिजन हो ।  त्यो बेलमा कुकुरहरू ‘मेटिङ’का लागि टाढासम्म जाने गर्छन् । भुस्याहा कुकुरसँग सम्पर्क भए संक्रमण पनि सर्छ । त्यसलै घरपालुवा कुकुरलाई सकभर भुस्याहा कुकुरको सम्पर्कमा जान दिनु हुँदैन । कुकुरको स्वास्थ्य अवस्था नियमित जाँच गराउनुपर्छ । बिरामी परे भेटेरिनरी चाँज गर्नुपर्छ । र, डाक्टरको सिफारिसविना एन्टिबायोटिक जथाभावी खुवाउनु हुँदैन ।

 

 

प्रकाशित: २४ असार २०७४ ०७:५० शनिबार

नागरिक परिवार