अन्य

नेपाल—चीन संयन्त्र बैठक काठमाडौंमा, रेल र सडक सञ्जालबारे छलफल

नेपाल—चीन संयन्त्र बैठकमा सहभागी परराष्ट्र सचिव शंकरदास बैरागी तथा उनका चिनियाँ समकक्षी कोङ झ्या। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— चार वर्षदेखि स्थगित हुँदै आएको नेपाल—चीन परामर्श संयन्त्रको बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ। बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्रसचिव शंकरदास बैरागीले गरेका छन्। चिनियाँ पक्षको नेतृत्व कोङ झ्याउले गरेका छन्। 

संयन्त्र बैठकमा २०७२ चैतमा चीनसँग भएको पारवहन र यातायातलगायत सम्झौताको प्रोटोकललगायत सबै पक्षको समीक्षा हुनेछ। 

नेपाल र चीनबीच पटक–पटक प्रस्तावित भएर पनि संयन्त्रको बैठक स्थगित हुँदै आएको थियो। संयन्त्र बैठकबारे नेपालले आग्रह गरे पनि चीनले पछि सार्दै आएको थियो। नेपालको उच्च राजनीतिक तहबाट भने चीनसँगको बैठकबारे चासो देखाइएको थिएन। गत वर्ष भएका सम्झौतालाई अघि बढाउने विषयमा चीन विश्वसस्त हुन नकस्दा बैठकको माहोल तयार हुन सकेको थिएन।

चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबर) मा नेपालले हस्ताक्षर गरिसकेको सन्दर्भमा संयन्त्र बैठक हुन लागेको हो। काठमाडौंबारे चासो राख्ने चिनियाँ थिङ्क ट्याङ्कहरुले नेपालले चीनसँगका सम्झौता अघि बढाउन तत्परता नदेखाएको आरोप लगाउँदै आएका छन्। नेपालको राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको गतिविधि र अन्तर्राष्ट्रिय सम्बन्धलाई चीनले आफ्ना ‘थिंक ट्यांक’ मार्फत नियाल्ने गरेको छ।

नेपालले गत वर्ष भएको सम्झौता कार्यान्वयनमा खासै काम नगरेको चिनियाँ थिंक ट्यांकहरूको आरोप छ। नेपाल सरकारले यस्तो आरोपको खण्डन गरेको छैन।

संयन्त्र बैठकमा २०७२ चैतमा चीनसँग भएको पारवहन र यातायातलगायत सम्झौताको प्रोटोकललगायत सबै पक्षको समीक्षा हुनेछ। 

 

प्रकाशित: ६ असार २०७४ ०५:३४ मंगलबार